तराईबाट छिरेको सलह एकैदिनमा पहाड उक्लियो

 

शनिबार बिहान बाराको निजगढ-१३ रतनपुर क्षेत्रमा हुलका हुल फट्यांग्राहरु देखिए । स्थानीयले त्यसबारे सोधखोज हुन थाल्यो । स्थानीय कृषि प्राविधिकहरु आइपुग्दा धेरै फट्यांग्रा बोट विरुवा बस्न थालिसकेको थिए । प्राविधिक आएर हेरेपछि भनिदिए,‘नेपालमा पनि सलह भित्रिएछ ।’

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकालले अनलाइनखबरसँग भने, ‘अहिले खेतीपातीको समय भएकाले हाम्रो कृषि प्राविधिकहरु फिल्डमै हुनुहुन्थ्यो । उहाँहरुले विहानै देख्नु भएपछि हामीलाई खबर गर्नुभयो ।

गतै जिल्ला कृषि ज्ञान केन्द्र, बारामा खबर पुग्यो । लगतै खटिएको टोलीले नेपालमा सलह भित्रिएको पुष्टि गरेको केन्द्रका प्रमुख जितेन्द्र यादव बताउँछन् । ‘हाम्रो टोलीले हेर्दा पानी परिरहेको थियो र किराहरुको सानो झुण्ड रुखमा बसिरहेको थियो । पानी रोकिएपछि सलहले तरकारी बाली खान थाल्यो ।’

फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट खाने गर्छ ।

छिमेकी पाकिस्तान र भारतमा किसानलाई दुःख दिएको सलह नेपालमा नआउने कृषि मन्त्रालयको अध्ययन टोलीले दाबी गरेको थियो । तर मनसुन सुरु भएलगतै नेपालमा प्रवेश मात्र गरेन, एकै दिनमा बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा सलहको झुण्ड भेटिएको छ । सलहको हुलले एक दिनमा १३०देखि १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।

सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय परिसरमा विहानै सलह भेटिएको थियो । सलहको विशाल झुण्ड त्यहाँका बोट विरुवामा झुम्मिएका थिए । कार्यक्रम प्रमुख वीपी यादवका अनुसार शुक्रबार साँझ ८ बजेसम्म किरा देखिएको थिएन । बिहान सवा ६ बजेतिर किरा देखिन थाल्यो ।

अहिले हजारौंको संख्यामा जम्मा भएका छन् । ‘चना, धानका बोटहरु खाँदै छ, हामीलेे प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गरायौं,’ उनी भन्छन् ।

उनकाअनुसार सलहले गर्ने क्षति कम गर्न स्थानीय र कृषि प्राविधिकहरुले विषादी छर्किनुका साथै थाल ठटाएका छन् । चर्को ध्वनीले सलह किरा भाग्छ ।

पर्साको पर्सागढी नगरपालिका-३ बढि्नहारस्थित चैते धानबालीमा शनिबार बिहानै सलहको बथान देखा परेको थियो । खेतमा काम गरिररहेका बेला हजारौंको संख्यामा सलहको बथान आफ्नो १९ कठ्ठाको धानबालीमा आएर बसेको किसान अर्जुन नेपालले बताए । ‘बिहान म खेतमा आली लगाउन आएको थिए, अचानक फट्यांग्राको झुण्ड मेरै चैते धानबालीमा आएर बस्यो,’ उनी भन्छन्, ‘धानको डाँठ पनि खान थाल्यो, त्यसपछि बुबा, म र दाइ मिलेर धानबालीमा पसेर बोट हल्लायौं, फटयांग्राको बथान नजिकको जंगल तिर उडेर गयो ।’

सलह किरा रौतहटका विभिन्न स्थानीय तहमा पनि पलिकामा देखिएको छ । चन्द्रपुर र गुजरा नगरक्षेत्रमा सलहको हुल भेटिएको स्थानीयले बताएका छन् ।

भित्री मधेस हुँदै पहाड उक्लियो

तराईबाट नेपाल प्रवेश गरेको सलह किरा शनिबार नै भित्री मधेस र पहाडी जिल्लामा समेत पुगेको छ ।

शनिबार दिउँसो रुपन्देहीको बुटवलमा देखियो । संघीय सरकारको कृषि मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यकाअनुसार बुटवलका स्थानीय बजार र त्यहाँका रुख विरुवा र बालीनाली तथा आकाशमा सलहको झुण्ड देखिएको छ ।

बुटवलको सुख्खानगर, रामनगर, कालिकानगर, गोलपार्क, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कतिक नगरपालिका लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले खबर गरेका थिए । त्यस क्षेत्रमा दिउँसैबाट कृषि प्राविधिक खटिए । रुपन्देहीमा देखिएका सलह किरा पाल्पा र गुल्मीतर्फ लागेका प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यस्तै मध्यानहपछि मकवानपुरको तीन वटा गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको छ । बकैया, मकवानुरगढी र वागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा सलह देखिएको, तर क्षतिको जानकारी आएनसकेको बकैया गाउँपालिकाका कृषि प्रमुख शिवराज पौडेलले जानकारी दिए ।

बकैया-१ धियालका कृषक बिरबहादुर स्याङतानले बारी र आकाशमा धेरै संख्यामा सलह देखिएको जानकारी गाउँपालिकालाई दिएका थिए । बकैयाको १, २, ४ र ५ नम्बर वडाबाट किरा देखिएको छ । बकैयाका केहि वडामा देखिएका सलह बागमती गाउपालिकातर्फ गएको स्थानियले जानकारी दिएका छन् । मकवानपुरगढी गाउँपालिकाको पालुङटार र सुकौरामा पनि सलह देखिएको छ । त्यहाँका स्थानीयले सलह भगाउन सुख्खा माटोले छर्किने र आगो बालेर धुँवाउने काम गरेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिए ।

सिन्धुलीको कमलामाई नगरपालिकाको भिमान माइस्थान, करकरे, मुडेखर्क, खुर्सानी डाँडा, चियाबारी, सिमबारी, लामिस्वारा क्षेत्रमा सलहको झुण्ड देखिएका छन् । धानको ब्याडदेखि मकैको बोट र जंगलका रुख विरुवामा सलह भेटिएका छन् ।

स्थानीय राजवीर विकका अनुसार मध्यान्हपछि एकाएक सलहको हुल देखिन थालेको थियो । स्थानीयले सलह भगाउन थाल र विभिन्न ठूला आवाज निस्कने भाँडाकुडा ठटाएका थिए । काभ्रेको डाँडापारी खानिखोला गाउँपालिकामा पनि सलह किरा देखा परेको छ । यसले शनिबार विहान तराईमा देखिएको सलह भित्री मधेस हुँदै पहाडी जिल्लाहरुमा पुगेको प्रष्ट भएको छ ।

सलह किरा दिनभर उड्छ र रातभर बास बस्छ । सलहको ठूलो झुण्डले बास बसेको ठाउँमा एकैरातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

प्रकाशित भएको : June 27th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु