के राजु सदाको परिवारले न्याय पाउला ? ‘डेढ धुर’ जमिनमा झुपडीमै परिवारको बिचल्ली !

 

अस्पतालकै लापरवाहीको कारण एक किशोरले ज्यान गुमाए ! डाक्टरले समयमा ध्यान दिएको भए बच्न सक्थे उनी ! प्रादेशिक अस्पतालले जीवनजलसम्म नदिएपछि घरबाट नै जीवनजल पठाउने गरिन्थ्याे… !

अब के होला ? राजूले न्याय पाउछ त ! यी यावत सवालहरु अहिले मधेशको चिया र पान पसलमा चर्को रुपमा चलेको छ ।

लापरवाहीका कारण उपचार नपाएर अस्पतालमै अन्तिम सास लिएका धनुषाका राजु सदाको परिवारमा पीड़ा थपिएको छ । भएको डेढ़ धुर जग्गमा एउटा फुसको झुपड़ी छ र पाँचजना परिवार त्यसै झुपड़ीमा बसेर दिन काट्ने गर्छन् अहिले ।

सदा परिवारको आर्थिक अवस्था दयनीय रहेकोले प्लाष्टिक प्रयोग गरेर झुपड़ी अगाडि सुत्ने ठाउँ बनाइएको छ । आर्थिक रुपमा अति विपन्न राजु सदाको बुवा अशेश्वर सदासहित उनको परिवार अहिले बिचल्लीमा परेको छ । वर्षातको बेला प्लास्टिकको झुपडीमा गुजारा गर्न बाध्य सदा परिवारमा पीड़ामाथि झनै बज्रपात भएकाे छ ।

अस्पतालमा तड्पी-तड्पी मृत्युवरण भएको राजु घरको जेठाे सन्तान थिए । घरको जेठो छोराको मृत्यु भएपछि घर-परिवार अपाङ्गजस्तै भएको राजुका हजुरबुबा वयोवृद्ध सुकना सदाले न्यूज २४ लाई बताउनुभयो ।

घर बनाउन र परिवारलाई सहयोग गर्न नै भारतमा मजदूरी गर्न राजु आफ्नै गाउँका काका पर्नेसँग गएको सुकना सदाले बताउनुभयाे । मृतक राजुको घरमा आमाबुबा, तीन बहिनी र हजुरबुबा गरी कुल ५ जना सदस्यहरु छन् ।

स-सना छोरीहरुलाई फुसको घरमा र आफूहरु बाहिर प्लास्टिकको सहयोगले बनेको मचानमै रात बिताएर गुजारा गर्दै आएका सदा परिवारलाई हेरिदिने कोही छैन ।

राजुको ऊपचारमै अहिलेसम्म १० हजारभन्दा बढ़ी खर्च भइसकेको आमा नीलम सदाले न्यूज २४ लाई बताउनुभयो, ‘हामीलाई हेरिदिने कोही छैन कसरी किरिया कर्म गर्ने ?’ सदा परिवार हंसहपुर ७ परसाहीको सरकारी ऐलानी जग्गामा डेढ़ धुर जति घडेरी फुसको झुपडी घरमा गुजारा गर्दै आएका छन् ।

घर सानो झुपडी भएकोले सुत्न बस्न र खाना बनाउनसमेत ठाउँ पुग्दैन । घरको आँगनमा प्लाष्टिकको झुपडी र एउटा मचान (खाट) बनाएर सुत्ने गरिएको छ ।

जेठ १४ गते भारतबाट नेपाल आएका राजु सदा आउनेबित्तिकै गाउकै क्वारेन्टाइनमा पुगेका थिए । क्वारेन्टाइनमा छोरो बिरामी भएको थाहा पाएपछि आमा नीलमले गाउँका सबै नेताहरुसँग गुहार मागिन् तर कसैले पनि सुनुवाइ नगरेको पीडा राजुकी आमासँग छ ।

आमा नीलम सदाका अनुसार कोरोनाको आशंकामा उनी छटपटिरहँदा पनि कसैले सहयोग गर्न मानेनन् । कोरोनाकै आशंकामा समयमा उचित उपचार नपाएर छोरा राजुको मृत्यु भएको उहाँको दुखेसो छ ।

नीलमले गहभरी आंसू झर्दै भन्नुभयो, ‘क्वारेन्टाइनमा बस्दा घरबाट नै छोरालाई खाना खुवाएँ । अस्पताल लग्दा आफ्नै घरबाट जीवनजलसम्म लगेको छु । खाेई त हामी गरीबको लागि सरकार ?’

राजु मृत्यु प्रकरणबारे बुझ्न भनेर दुइटा महत्वपूर्ण कमिटीहरु शनिबार मृतक राजुको परिवारलाई भेट्न परसाही पुगेका थिए । नेपाल मेडिकल काउन्सिसल (एनएमसी) को एउटा टोली डाक्टर खुशबू प्रिया मिश्रको संयोजकत्वमा पुगेको हो भन्ने डाक्टर अमृत पोखरेल नेतृत्वको स्वास्थ्य सेवा विभागकाे अर्काे टोली समेत राजुको घर पुगेको छ ।

छानबिन टोलीमा ७ जना अन्य सदस्यसहितले मृतक राजुको सम्पूर्ण परिवारजनसँग भेटघाट गरेर मृत्युबारे सोधखोज गरेका छन् । जांँचबुझ गरेर टोलीले एउटा प्रतिवेदन तयार गर्नेछन् ।

हंसपुर नगरपालिका वडा नं.७ परसाही निवासी अशेश्वर सदाका छोरा १६ वर्षीय राजु सदा १६ महिना भारतमा मजदूरी गरेर फर्केका थिए । प्रादेशिक अस्पताल जनकपुरअन्तर्गत कोरोना अस्पतालको आइसोलेसनमा २०७७ असार ९ गते बिहान ३ बजेतिर उनकाे मृत्यु भएको थियो ।

अस्पतालले असार ८ गते राजुको अवस्था बिग्रेपछि पीडित परिवारलाई खबर गरेका थिए । गम्भीर अवस्थामा इमरजेन्सीमा भर्ना गरे पनि राजुको ज्यान भने जोगिएन । शवको विनापोष्टमार्टम पीडित परिवारलाई जिम्मा लगाएर लैजा भनेपछि पीडित परिवार आफै शववाहन भाडामा लिएर शव लगेका थिए । शवको असार ९ गते नै अन्त्येष्टि गरेको पीडित परिवारजनले बताए ।

राजु १६ महिना पहिले रोजगारीको लागि भारतको अहमदावाद र मद्रास पुगेका थिए । त्यहाँ उनी होटलमा काम गर्थे । कोभिड–१९ का कारण भारत सरकारले लकडाउन गरेपछि होटलहरु बन्द भए । भारतबाट राजु सदासहित ९ जनाको समूहमा ०७७ जेठ १४ नेपाल फर्केकाे थियाे ।

उनीहरुलाई हंसपुर नगरपालिकाकै नौवाखोर अस्पतालमा क्वारेन्टाइनमा राखियाे । १४ दिनसम्म क्वारेन्टाइन बसाइपछि ७ जनालाई घर पठाइयो र २ जना राजु सदा र अरुण सदाको आरडीटी रिपोर्ट पोजिटिभ आएको भन्दै हंसपुरकै क्वारेन्टाइनले प्रादेशिक अस्पताल जनकपुर पठायो ।

उनीहरुको आइसोलेशनमा राखी उपचार गरिरहेको अस्पतालले बताए पनि ०७७ असार ९ गते बिहान राजुको दर्दना मृत्यु भयो ।

प्रकाशित भएको : June 28th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु