प्रधानमन्त्रीले भने- मलाई अपमान गरियो, याेगेश र घनश्यामले यसाे भने

 

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूलाई अपमान गरिएको बताएका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट दर्जन बढी स्थायी समिति सदस्य र मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यसरी अपमान गर्ने कुराले गलत परम्पराको विकास हुने बताए।

‘साथीहरूले मेरो राजीनामा माग्नुभएको छ। मैले राजीनामा दिएर के हुन्छ? पार्टी र सरकार कसरी अगाडि बढ्छ,’ उनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने,’मलाई अपमानित गर्ने काम भयो। यसले गलत परम्पराको विकास हुन्छ।’

छलफलमा प्रधानमन्त्री ओलीले पार्टीभित्र विश्वासको संकटसमेत बढ्दै गएको बताएका थिए।

‘प्रधानमन्त्रीले १५-१६ जना स्थायी समिति सदस्यहरुलाई बोलाउनुभएको थियो। उहाँले अरूसँग पनि छलफल गर्छु भन्नुभएको छ।

प्रधानमन्त्रीले अहिले पार्टीमा गम्भीर विवाद रहेको र पार्टी पनि गम्भीर संकटमा रहेको बताउनुभयो,’ बैठकमा सहभागी अर्का एक नेताले भने,’पार्टीमा विश्वासको संकट बढ्दै गएको छ।

यो अवस्थामा तपाईंहरूको पनि भूमिका हुनुपर्यो। तपाईंहरूको सल्लाह सुझाव के छ भनेर भन्नुभएको थियो।’

बैठकमा बोल्ने अधिकांश नेताहरुले प्रधानमन्त्रीलाई फराकिलो भएर सोच्न सुझाव दिएका थिए।

उनीहरूले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा भएको व्यक्ति अझै जिम्मेवार बन्नुपर्ने बताएका थिए।

बैठकमा स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी कमिटीको निर्णय मान्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।

‘कमिटीको निर्णय मान्नेको साथमा हुन्छौं तर अन्यथा गर्नेलाई सहयोग गर्न सकिन्न,’ भुसालले प्रधानमन्त्रीलाई भने।

मृ’त्यु जितेर आएका नेताहरूले फराकिलो मन बनाउनु पर्ने सुझाव आफूले प्रधानमन्त्रीलाई दिएको स्थायी समिति सदस्य एवम् पर्यटनमन्त्री योगेश भट्टराईले बताए।

‘तपाईं पनि गोलघरबाट मृ’त्यु’लाई जितेर आउनुभएको हो। प्रचण्डले पनि गोलाबारूद जितेर आउनुभएको हो। धेरै नेता मृ’त्यु जितेर आएका छन् त्यसैले फराकिलो भएर सोच्नुपर्छ,’ भट्टराईले भने,’पार्टी एकता बलियो हुँदा सबै बलियो हुने हो अन्यथा सबै कमजोर भइन्छ।’

अर्का स्थायी समिति सदस्य सत्यानारण मण्डलले सबैका धारणा सुन्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।

प्रधानमन्त्रीले आफूनिकट स्थायी समिति सदस्यहरूसँग छलफल गरेपछि अहिले नेकपा स्थायी समिति बैठक बालुवाटारमा बसिरहेको छ।

मंगलबारको बैठकमा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १७ जना स्थायी समिति सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

गत आइतबार प्रधानमन्त्री ओलीले कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको आरोप लगाएका थिए।

प्रकाशित भएको : July 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु