
काठमाडौं । बालुवाटारमा जोडतोडले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिँदै गर्दा सञ्चार माध्यममा ‘ब्रेकिङ न्यूज’ आयो– ‘नेकपा एमाले’ नाममा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता ।
यदि वर्तमान सरकार ढलेमा ओलीले पार्टी फुटाउन सक्ने आँकलनकै बीचमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन गएपछि त्यसले तरंग ल्याउने नै भयो ।
नेकपाको स्थायी कमिटी वैठकमा केही नेताहरूले प्रधानमन्त्री ओलीले नै पार्टी फुटाउनका लागि यो चालबाजी रचेको आरोप लगाए ।
उपाध्यक्ष वामदेव गौतमले दल दर्तामा प्रधानमन्त्री संलग्न भएको आफूसँग प्रमाण नै रहेको दावी गरे । अर्कोतर्फ ओली गुटका नेता–कार्यकर्ता चाहिँ ओलीलाई आरोपित गर्न प्रचण्ड समूहले नै यो जाल बुनेको हल्ला गरिरहेका छन् ।
नेकपा एमाले नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा मनिषकुमार उपाध्यायको नामबाट गत १२ असारमा निवेदन दिइएको थियो । निर्वाचन आयोगले निवेदन दर्ता गरे पनि दल दर्ताको प्रक्रिया बाँकी छ ।
निर्वाचन आयोगमा दर्ता गरिएको पत्र अनलाइनखबरलाई प्राप्त भएको छ, जसअनुसार अध्यक्ष र उपाध्यक्षमा महिला छन् ।
अध्यक्षमा प्रस्तावि सन्ध्या तिवारी विराटनगरकी हुन् भने उपाध्यक्षमा प्रस्तावित भगवती खड्का रामेछापकी । यसैगरी महासचिव मनिष जनकपुरका हुन् । केन्द्रीय समितिमा ५ जना काठमाडौंका छन् ।
प्रस्तावित २१ सदस्यीय केन्द्रीय समितिमा १० जना महिला छन् । उनीहरु मध्ये एक केन्द्रीय सदस्य ७५ वर्षका छन् बाँकी सबै ५० वर्षमुनिका छन् । अधिकांश ३० देखि ४० वर्षसम्मका युवा छन् । अध्यक्ष तिवारी भने ४७ वर्षकी हुन् ।
तिवारीको पृष्ठभूमि खुलेको छैन । उनी सार्वजनिक हुन पनि चाहेकी छैनन् । उपाध्यक्ष भगवती खड्काको नाम भने परिचित नै हो, खासगरी खेलकुद क्षेत्रका व्यक्तिहरूका लागि ।
खड्का चर्चित महिला रेसलर हुन् । उनले केही टेलिश्रृंखलामा अभिनयसमेत गरेकी छन् । राजनीतिमा चाहिँ उनी सक्रिय थिइनन् ।
प्रस्तावित एमालेको नेतृत्व पंक्ति पहिचान गर्ने क्रममा हामीले महासचिवका रुपमा प्रस्तावित महासचिव मनिषकुमार उपाध्यायलाई भेट्टायौं ।
फोन संवादमा उनी राम्रोसँग खुल्न नचाहे पनि केही कुरा शेयर गरे ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कुनै पनि नेताहरूसँग आफूहरूको सम्वन्ध नभएको र कसैबाट परिचालित पनि नभएको मनिषले दावी गरे ।
आफूहरू सबैजना मदन भण्डारीको अनुयायी भएको कारणले नेकपा एमालेको नाममा दल बनाउन चाहेको उनको भनाइ छ ।
‘हामी सबै फरक–फरक पेशा व्यवसायमा आवद्ध युवा हौं । कोही कपडा व्यवसायी, कोही मसला व्यवसायी, कोही, खेलाडी, कोही समाजसेवी छौं ।
केही महिनादेखि विभिन्न ढंगले संगठित भएर राजनीतिमा आउने गृहकार्य गरिरहेका थियौं ।
३–४ महिनाको तयारीपछि मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर पार्टी दर्ताको लागि निवेदन दिएका हौं,’ उनले सुनाए ।
उनले आफूहरूलाई ‘पूर्व एमाले’ पनि भन्न नमिल्ने बताए । ‘मदन भण्डारीको विचारबाट प्रभावित मात्र हौं ।
म पहिले एमालेको सामान्य शुभचिन्तक थिएँ, तर पार्टीको सदस्यता लिएको होइन । अहिले नेकपामा पनि हामी छैनौं,’ उपाध्यायले भने ।
आफूहरू देशका लागि केही गरौं भन्ने भावनाबाट राजनीतिमा आउन चाहेको उनको भनाइ छ । ‘हामी सबैको एउटै हुटहुटी यही थियो कि देश सही दिशामा जान सकेन ।
अब हामीले नै केही गर्नुपर्छ । त्यसका लागि राजनीतिमा आउनुको विकल्प देखेनौं ।
राजनीतिमा आउनका लागि मदन भण्डारीको विचारलाई हामीले पथप्रदर्शकका रुपमा अपनाउने निर्णय ग¥यौं । एमाले नाम चाहिँ ब्राण्डिङ गर्न सजिलो हुन्छ भनेर छनोट गरेका हौं । हाम्रो अरु कुनै अन्तरनिहित स्वार्थ छैन ।’
अहिले नेकपामा उत्पन्न भएको विवादसँग आफूहरूको कुनै सरोकार र साइनो नरहेको उनले दावी गरे ।
‘नेकपामा विवाद उत्पन्न हुनु र हामीले पार्टी दर्ता गराउनु सँगसँगै जस्तो भयो । स्याल कराउनु र कुखुरा हराउनु एकैचोटि भएको जस्तो मात्रै हो,’ उनले भने ।
उपाध्यायसँगको थप संवाद :
‘प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर तपाईंहरुलाई भेटेको हल्ला पनि सुनिन्छ नि ?’
त्यो वाहियात हल्ला हो । हामीले अहिलेसम्म बालुवाटारमा टेकेका पनि छैनौं ।
भोलि नेकपा फुट्ने अवस्था आयो र ओलीले नेकपा एमाले ब्यूँताउन चाहनुभयो भने तपाईंहरु के गर्नुहुन्छ ?
त्यो उहाँहरुको कुरा हो । हामीले के गर्न सक्छौं र ?
मेरो मतलव उहाँले नेकपा एमाले नाम तपाईंहरुसँग माग्नुभयो भने दिन तयार हुनुहुन्छ कि हुनुहुन्न ?
हामीले दर्ता गरेको नाम अरुलाई किन दिने ? दिने प्रश्नै उठ्दैन । बरु उहाँहरु यदि हाम्रो पार्टीमा प्रवेश गर्न चाहनुभयो भने स्वागत गर्न सकिन्छ ।
ओली नै तपाईंहरुको पार्टीमा प्रवेश गर्ने आशा पनि गर्नुभएको छ ?
त्यस्तो हुन सक्छ । ओली मात्र किन माधव नेपाल, वामदेव गौतम लगायत सबै नेताहरुलाई हाम्रो विचार मन परेर आउनुभयो भने स्वागत नै गर्नेछौं ।
तपाईंहरुको संगठन चाहिँ कत्रो छ अहिले ?
२१ जनाको केन्द्रीय समिति प्रस्ताव गरेका छौं । सदस्य चाहिँ ५ सय ७२ जना हुनुहुन्छ । यसलाई बढाउँदै लैजाने छौं ।
अर्को चुनाव लड्नुहुन्छ होला, के लक्ष्य लिनुभएको छ ?
पार्टी खोलेपछि चुनाव त लड्ने नै हो । परिणामको विषयमा अहिले नै सोचेका छैनौं । हामी असल राजनीतिक संस्कार विकास गर्न चाहन्छौं ।
तपाईंहरु संगठित हुनुभएको चाहिँ कसरी हो ?
सकारात्मक सोच लिएपछि आपसमा जोडिन समय लाग्दैन । हामी यही माध्यमबाट संगठित भएको भन्ने छैनौं । साथीभाईबीच सल्लाह गर्दै अगाडि बढेका हौं ।
निर्वाचन आयोगले तपाईंहरुको पार्टी दर्ता गर्ला त ?
किन नगर्नु ? प्रक्रिया अगाडि बढिसकेको छ । केही दिनमा नै हामीले प्रमाणपत्र पाउनेछौं । त्यसपछि मिडियामा आउछौं ।
तपाईंको अध्यक्षसँग सम्पर्क गराउन सक्नुहुन्छ ?
अध्यक्षजी अहिले कहीँ पनि बोल्न चाहिरहनुभएको छैन । नम्बर पनि कसैलाई नदिने भन्ने छ । यसमा केही कारण छन् । हामी प्रमाणपत्र पाएपछि मात्रै तपाईंहरुमाझ आउने छौं ।
अध्यक्षको पृष्ठभूमि चाहिँ के हो ?
उहाँ समाजसेवामा आवद्ध हुनुहुन्छ । अरु बताउन मिल्दैन ।
फेसबुकमा फेला पार्न सकिएला नि ?
अहँ फेसबुक सेसबुक केही छैन । अहिले हामी सबै गोप्य नै छौं ।
(फोन काटिन्छ)
याे समाचार हामिले अनलाइन खबरबाट साभार गरेका हाैं ।
प्रतिकृया दिनुहोस्