नेकपामा प्रधानमन्त्री ओलीको विकल्प कोही हुनै सक्दैनन : नेता थापा

 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कर्णबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्ने भन्ने कुरा नै असान्दर्भिक भएको टिप्पणी गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने,‘यो राष्ट्रका निम्ति, पार्टीका निम्ति र नेपाली जनताका निम्ति असान्दर्भिक छ ।

र, अहिले हामीले अवलम्बन गर्दै आएको लोकतान्त्रिक गणतन्त्र, र त्यो लोकतान्त्रिक गणतन्त्रलाई व्यवस्थित् गर्ने हाम्रो संवैधानिक व्यवस्था छ । यो कुनैपनि चिजसँग अहिलेको राजीनामा सान्दर्भिक छैन् ।’

थापाले आफूहरु विधिको शासनमा रहेको र संविधानको सर्वोच्चता मान्दै आएको सुनाए ।

२०१५ सालमा विपी कोइरालाको नेतृत्वमा दुई तिहाईको सरकार बनेको स्मरण गराउँदै उनले नेपाली जनताले अहिले केपी शर्मा ओलीको नेतृत्वलाई झण्डै दुई तिहाई बहुमत दिएको स्पष्ट पारे ।

उनले जुन दलले ऐतिहासिक बहुमत प्राप्त गर्छ त्यो दललाई अन्य दलभन्दापनि आफ्नै दलभित्रबाट सरकारलाई असहयोग हुने गरेको पनि ईतिहास सुनाए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्नेगरि अघि बढ्नुपर्नेमा उनको जोड छ । उनले अहिले एकले अर्कोलाई खुट्टा तान्ने काम गर्न नहुने जिकिर गरे ।

उनले नेकपाभित्रबाटै केपी ओलीको राजीनामा मागिनु असान्दर्भिक भएको स्पष्ट पारे ।

उनले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने नेकपा नेतृत्वलाई प्रश्न गरे,‘के राजीनामा भनेको यस्तै खेलवाड हो ? राजनीति भनेको प्रश्न खडा गर्नेमात्रै हो र ? कि समस्या समाधान गर्ने ढंगले सोच्ने हो ?’
थापाले ओलीको राजीनामा मागिनुलाई शतप्रतिशत गलतको संज्ञा दिँदै त्यो नेपाली जनमतमाथिको अपमान भएको पनि टिप्पणी गरे ।

पूर्वमन्त्री समेत रहेका नेता थापाले वर्तमान प्रधानमन्त्री ओलीको विकल्प अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल हुनैनसक्ने जिकिर गरे ।

उनले भने,‘पहिलो पुस्ताले जे जति गरे, अब केपी ओलीपछि मैले जे जति नाम अहिले उच्चारण गरें। अब यी नामले नेतृत्व गर्न सक्दैनन् ।

नेकपामा अब ४० देखि ६० वर्षको दोस्रो पुस्ता छ, अब यही पुस्ताले देश चलाउने नेतृत्व र क्षमता राख्छ । म आज सार्वजनिक रुपमा दोहोर्याएर भन्दैछु अब नेकपामा हाम्रो पुस्ताले हस्तक्षेप गर्छ ।’

उनले वर्तमान प्रधानमन्त्री ओली पार्टीको कुनै मोर्चामा अल्पमतमा नरहेको दाबी गरे ।

यसैगरी कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले नेकपाको सरकारलाई आफूहरुले संविधान संशोधन गर्ने शर्तमा सुरुमा समर्थन गरेको तर सहमति पालना नभएकोले समर्थन फिर्ता ल्याएको स्पष्ट पारे ।

आफूहरुसँग भएका र गरिएका सहमतिहरु आजसम्म पूरा नभएको उनले गुनासो पोखे ।

नेता कर्णले वर्तमान सरकारको बारेमा जनतालाई अनुभुति नभएको पनि गुनासो पोखे । उनले वर्तमान सरकार समग्र क्षेत्रमा असफल भएको दाबी गरे ।

उनले भारत र चीन दुवैसँग नेपालले सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले सुरुदेखि नै सन्तुलित सम्बन्ध बिगारेको आरोप लगाए ।

प्रकाशित भएको : July 1st, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु