प्रचण्ड, नेपाल र झलनाथलाई ओलीको एउटै काफि हतियार “अध्यादेश”

 

बिहीबार स्थायी समिति बैठक जारी रहेकै बेला जब संसद अधिवेशन अन्त्यको खबर आयो, बैठकको माहोल एकाएक फेरियो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकबाट प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीलाई भेट्न गए। त्यसपछि पार्टीका केही सचिवालय सदस्यहरूसँग छलफल गरेर उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगे।

संसद अधिवेशन अन्त्यपछि अब फेरि अध्यादेश प्रकरण दोहोरिनसक्ने सम्भावना देखेर उनी राष्ट्रपति भेट्न गएका थिए।

स्रोतका अनुसार, प्रचण्डले ‘अध्यादेश आए केही दिन छलफलका लागि रोक्न’ राष्ट्रपतिसँग आग्रह गरेका छन्।

‘पार्टी फुटको दिशामा जान लागेको छ। अझै केही भन्न सकिने अवस्था छैन,’ एक स्थायी समिति सदस्यले भने, ‘भोलि एकदिन बाटो हेर्नुपर्छ।

त्यसपछि जे पनि हुनसक्छ। प्रधानमन्त्री सच्चिनुभएन भने दुर्घटना हुनसक्छ।’

Prime Minister KP Sharma Oli taking part in a video conference of SAARC leaders to contain the spread of the coronavirus, in Kathmandu, on Sunday. The conference was conducted at the initiative of the Indian PM. Photo: RSS

प्रधानमन्त्री ओलीनिकट नेताहरूले सहमति गरेर अगाडि बढ्ने भने पनि कुनै प्रस्ताव नल्याएको प्रचण्डनिकट एक नेताले बताए।

‘उहाँहरू मिलेर जाऔं भन्नुहुन्छ, तर मिल्ने कसरी भन्नुहुन्न,’ उनले भने, ‘हामीले यसो गर्नुपर्यो भन्यौं भने प्रधानमन्त्री मान्नुहुन्न।’

स्थायी समिति सदस्य तथा कृषिमन्त्री घनश्याभ भुसालले पार्टीभित्रको अतिवादीका कारण समस्या बढ्दै गएको बताए।

‘राजनीतिक हिसाबले सोच्ने र आफ्नो राजनीतिक व्यक्तित्व आफैं बनाएका नेताहरू चिन्तित छन्, तर अतिवादीहरूले बिगारेका छन्,’ उनले भने, ‘पार्टीमा छलफल गरेर एउटा निर्णय गर्ने र त्यसलाई सबैले मानेर जानुपर्छ।’

अर्का स्थायी समिति सदस्य छविलाल विश्वकर्माले दबाब र भेलाले भन्दा विश्वासले पार्टी चल्ने बताए।

‘दबाब र भेलाले काम बन्दैन। अहिले संख्या र शक्तिको कुरा होइन, समझदारीको कुरा गर्ने हो,’ उनले भने, ‘दुई अध्यक्षले पार्टी एकता गरेको हो।त्यही विश्वासका आधारमा उहाँहरूले पार्टीलाई अगाडि बढाउनुपर्छ।’

दुई अध्यक्षले आफूसँग नजिक रहेका नेताहरूका मात्र कुरा नसुनी इतर पक्षका नेताहरूको पनि विचार सुन्नुपर्ने उनले बताए।

‘अहिले आफ्ना नजिक रहेकाको दबाबमा निर्णय गर्ने होइन। कोही पनि दबाब, उत्तेजना र आवेशमा आउनु हुँदैन,’ उनले भने, ‘एकअर्काको नजिक रहेकाभन्दा अलि बाहिर पनि सोच्नुपर्छ। एकप्रकारको अन्तरघुलन हुनुपर्छ।’

उनले संसद अधिवेशन अन्त्यलाई अध्यादेश ल्याउने तयारीमा बुझ्नु आशंका मात्र रहेको बताए। पार्टीभित्र बहुमत र अल्पमतको खेल गरिए कोही पनि अगाडि बढ्न नसक्ने उनको तर्क छ।

‘म प्रस्टसँग भन्छु, यो संख्या सामान्य अवस्थामा हुन्छ। हामी पार्टी एकतापछि एउटा असामान्य अवस्थामा छौं। हाम्रो पार्टी विधानले दुई जना अध्यक्षको समझदारीमा मात्र निर्णय हुन्छ भनेको छ,’ उनले भने, ‘शक्ति र संख्याको कुरा होइन, समझदारी र विश्वासले मात्र हुन्छ। रातो घेरामा देखाएर संख्या पुगेको ठानेमा दुर्भाग्यपूर्ण हुनेछ। त्यस्तो गल्ती गर्नु हुँदैन।’

अर्का स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताका लागि अधिकतम प्रयास गरिने बताए।

‘पार्टीको अत्यधिक बहुमत हुँदाहुँदै निर्णय रोकिएको छ। कमसेकम प्रधानमन्त्री आउनुहोस्, छलफल गरेर सहमतिमा निर्णय गरौं भनेर हामीले भनेको हो,’ उनले भने, ‘उहाँ बैठकमा आइरहनुभएको छैन। आज पनि आउनुस् भनियो, तर उहाँ आउनुभएन।’

पार्टीका एक जना अध्यक्षको आग्रह बेवास्ता गरेर संसद अधिवेशन समाप्त गरिएको उनले बताए।

‘अध्यादेश ल्याएर फुटाउन लागेको चर्चा छ। यद्यपि त्यस्तो होइन भनिएको छ,’ उनले भने, ‘भोलि दिनभरि एकताको अन्तिम तयारी गरौं भनेर प्रचण्ड, झलनाथ खनाल र माधव नेपालले भन्नुभएको हो।’

स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद मिलाउन एकपटक अन्तिम प्रयास गरिने बताए।

‘अबको बाटो भोलि एकदिन हेर्ने हो। आज त प्रधानमन्त्री आउनुभएन, तर अन्तिम प्रयत्न गरौं भन्ने हाम्रो विचार हो,’ उनले भने, ‘आज त उहाँले दिनभरि हाम्रा कुरा सुन्नै चाहनुभएन। प्रचण्डले बोलाउनुभएको थियो। दिनभरि आफ्ना गतिविधि गर्नुभयो, तर पार्टी बैठकमा आउनुभएन।’

पार्टीभित्र आफ्ना समकक्षी नेताहरूसमेत भएकाले प्रधानमन्त्री बैठकमा आउनुपर्ने उनको भनाइ छ। पार्टीका कुरा नुसनेर कोही अगाडि बढ्न नसक्ने उनले बताए।

प्रकाशित भएको : July 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु