
सरकारले सशस्त्र प्रहरी बलको अस्पताललाई कोरोना भाइरस विशेष अस्पताल बनाउने भएको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चन्द्रगिरि नगरपालिकास्थित सशस्त्र प्रहरी अस्पताललाई कोरोना भाइरस विशेष अस्पताल बनाउने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले अब कसैमा कोरोना भाइरस संक्रमण देखियो भने सशस्त्र प्रहरी अस्पतालमा उपचार गरिने बताए।
‘अस्पतालमा सेना, प्रहरी लगायत चिकित्सकहरू परिचालन गर्छौं र आवश्यक परे तत्काल कार्यान्वयनमा ल्याउँछौ,’ मन्त्री खतिवडाले भने।
सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाउने भनेको छ। त्यसैअनुसार अस्पतालमा आइसियू, आइसोलेसन र भेन्टिलेटर राख्ने काम भइरहेको छ।
अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार अन्य बिरामीलाई त्यहाँबाट वीर र टिचिङ अस्पताल सारिएको छ। बैठककले एक साताका लागि भारत र चीनसँगका सबै नाका पनि बन्द गर्ने निर्णय पनि गरेको छ।
सरकारले भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय पनि गरेको छ। सोमबार बिहान १० बजेबाट नाका बन्द गर्न गृह मन्त्रालयले नाका भएका जिल्लाहरूमा परिपत्र गर्ने तयारी गरेको छ।
मन्त्रिपरिषद बैठकले कोरोना भाइरससँग लड्नलाई विभिन्न उपाय अपनाउन ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय पनि गरेको छ। सबै मन्त्रीले आफ्नो एक-एक महिनाको तलब उक्त कोषमा राख्ने निर्णय गरिएको छ।
Setopati
प्रतिकृया दिनुहोस्