निर्वाचन आयुक्त प्रति पोखराका मेयरको आक्रोशले देशैभरी तरंग

 

प्रमुख निर्वाचन आयुक्त थपलियाप्रति पोखराका नवनिर्वाचित मेयर आचार्यको आक्रोश

सुदर्शन खबर

जेठ ११

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य। तस्विर : रासस

काठमाडौँ –

पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको बताएका छन्।

नेकपा (एकीकृत समाजवादी)बाट मेयर निर्वाचित आचार्यले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशतभन्दा बढी मत बदर हुन गएको भन्दै चर्को आलोचना गरेका हुन्।

पोखरामा बुधबार आयोजित विजय सभामा बोल्दै उनले भने, ‘दिनेशकुमार थपलियाको यहीखालको रवैया, यहीखालको गतिविधि र भाइबन्दी गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैन। थपलियाले आफैले आफैलाई नैतिक अधिकार के हो? भनी सोध्न जरुरी छ। तपाईं संवैधानिक निकायको मर्यादामा बसिदिनोस्।

निर्वाचन आयोग यति धेरै बद्नियत हुनुपर्ने थिएन। तराईका जिल्लामा ५० प्रतिशत बढी मत बदर भएको छ। तपाईंको कार्यक्षमतामाथि प्रश्न निर्वाचन आयोगमाथि उठेको छ। तपाईंले जवाफ दिनु जरुरी छ। यो खालको बद्नियत गर्न मिल्दैन।’

उनले निर्वाचन आयोगको रवैया नभएको भए आफूले २७ हजार बढी मतान्तरले चुनाव जित्ने र गठबन्धनतर्फबाट उपमेयरको पनि १६ हजार बढी मतका साथ विजयी हुने दाबीसमेत गरे।

उनले अबदेखि महानगरमा भाषणभन्दा पनि समृद्ध पोखरा बनाउने गरी काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे। अब कसरी काम अघि बढाउने भन्नेबारे क्लोज क्याम्प गर्ने योजना पनि मेयर आचार्यले सार्वजनिक गरे।

३ दिन २ रातको सो क्लोज क्याम्पमा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, मेयर, उपमेयर, महानगरका प्रमुख प्रशासकीय अधिकृत, महानगरका विभिन्न विभागीय प्रमुखको मात्र उपस्थिति हुने र पोखरा बनाउन घनिभूत छलफल गर्ने उनको भनाइ थियो।

प्रकाशित भएको : May 25th, 2022

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु