ओली-प्रचण्ड झन्डै तीन घन्टा वार्ता सकारात्मक यि विषयमा भए छलफल

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार झन्डै तीन घन्टा वार्ता भएको छ।

उक्त वार्तामा निकै खुलस्त कुराकानी भएको नेकपा महासचिव बिष्णु पौडेलले जानकारी दिए।

‘उहाँहरूबीच आज निकै खुलस्त कुराकानी गर्नुभयो। दुबै अध्यक्षले आफूलाई लागेका कुराहरू राख्नुभयो,’ पौडेलले भने।

बालुवाटार वार्तामा ओली-प्रचण्डसँगै महासचिव पौडेल स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि उपस्थित थिए।


बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षले भोलि बिहान स्थायी समिति बैठक बस्नुअघि फेरि वार्ता गर्ने गरी आजको छलफल सकेका छन्।

पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए।

जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए।

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ। अहिलेसम्म बोलेका अधिकाशं सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।

शुक्रबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरूसँगै बसेर पार्टी एकतालाई जोगाउनु पर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नु पर्नेमा छलफल गरेका थिए।

कृषि मन्त्री घनश्याम भुसालको निवासमा भएको छलफलमा प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल पक्षमा नेताहरू सहभागी थिए।

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो।

उक्त सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र प्रचण्डका तर्फबाट शर्माले हस्ताक्षर गरेका थिए।

प्रकाशित भएको : July 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु