सहमतिको लागि प्रधानमन्त्रीलाई प्रचण्डको दुई प्रस्ताव

 

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ २ गतेको सहमति अनुसार अगाडि बढ्न प्रधानमन्त्री केपी ओलीलाई प्रस्ताव गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन्।

‘प्रचण्डले जेठ २ को सहमतिलाई कार्यान्वयन गर्न भन्नुभएको छ। यदि त्यसका लागि तयार नभए नयाँ ढंगले सहमति गर्न समेत भन्नुभएको छ,’स्रोतले भन्यो,’जवाफमा प्रधानमन्त्री ओलीले यसबारेमा थप छलफलका लागि आफू तयार रहेको बताउनुभएको छ।’

२०७५ जेठ २ गते तत्कालीन एमाले र नेकपा मओवादी केन्द्रबीच ५ बुँदे सहमति भएको थियो। सहमतिको चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको थियो।

२०७५ जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपाको गठन भएको थियो।

तर २०७६ मंसिर ४ गते प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने र बाँकी कार्यकाल ओली प्रधानमन्त्री बन्ने सहमति भएको थियो। मंसिर ४ को सहमति कार्यान्वयन नभएको भन्दै प्रचण्डले नयाँ सहमति हुनुपर्ने प्रस्ताव गरेका हुन्।

उनले प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री या अध्यक्षमध्ये एक पद छोड्न समेत सुझाएका थिए।

नेकपाको जारी स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री ओलीको राजीनामाको माग भएको छ।

 

ओली-प्रचण्ड झन्डै तीन घन्टा वार्ता सकारात्मक यि विषयमा भए छलफल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार झन्डै तीन घन्टा वार्ता भएको छ। उक्त वार्तामा निकै खुलस्त कुराकानी भएको नेकपा महासचिव बिष्णु पौडेलले जानकारी दिए। ‘उहाँहरूबीच आज निकै खुलस्त कुराकानी गर्नुभयो। दुबै अध्यक्षले आफूलाई लागेका कुराहरू राख्नुभयो,’ पौडेलले भने। बालुवाटार वार्तामा ओली-प्रचण्डसँगै महासचिव पौडेल स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि उपस्थित थिए।

बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षले भोलि बिहान स्थायी समिति बैठक बस्नुअघि फेरि वार्ता गर्ने गरी आजको छलफल सकेका छन्। पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए।

जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए। जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको छ। अहिलेसम्म बोलेका अधिकाशं सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन्।

शुक्रबार बिहान नेकपाका दोस्रो पुस्ताका नेताहरूसँगै बसेर पार्टी एकतालाई जोगाउनु पर्ने र दुई पार्टी एक हुँदाको सहमतिलाई आधार मानेर अघि बढ्नु पर्नेमा छलफल गरेका थिए। कृषि मन्त्री घनश्याम भुसालको निवासमा भएको छलफलमा प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल पक्षमा नेताहरू सहभागी थिए।

२०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा हुनुअघि पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुबै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख थियो। उक्त सहमतिको साक्षीका रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट पौडेल र प्रचण्डका तर्फबाट शर्माले हस्ताक्षर गरेका थिए।

प्रकाशित भएको : July 3rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु