मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले यस्ताे भने, पार्टि फुट्ने सम्भावना

 


प्रधानमन्त्री केपी ओलीले राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि आफू दुवै पद त्याग्ने पक्षमा नरहेको बताएका छन् । नेकपाभित्रको शक्ति–संघर्षले पार्टीभित्र विभाजनसम्मको खतरा देखिएपछि शनिबार मन्त्री, राज्यमन्त्री र आफ्नो सल्लाहकार टिमसहितको विस्तारित बैठक राखेर पार्टीभित्रको संकटबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

‘अहिले हाम्रो काँधमा पार्टी एकता, राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आएको छ, त्यसमा मैले पनि दायाँ–बायाँ गर्दिनँ, तपाईंहरूले पनि गर्नुहुन्न,’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भनिन्, ‘उहाँले यदि राष्ट्रियता जोगिन्छ, कम्युनिस्ट आन्दोलन जोगिन्छ भने म दुवै पद छोड्न तयार छु, तर राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुवैमा खतरा उत्पन्न हुन्छ भने म दुवै पद छोडेर कमजोर हुन्नँ र त्याे हुन दिन्नँ भन्नुभएको छ ।’

ब्रिफिङअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए । बैठकमा महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मात्र केही भनाइ राखेका थिए । उनले केन्द्रीय सचिवालय र स्थायी कमिटी दुवै पार्टी एकता जोगाउन अक्षम हुँदै गएको भन्दै जुनसुकै मूल्य चुकाएर भए पनि केन्द्रीय कमिटीले पार्टी एकता जोगाउने धारणा राखेका थिए ।

नेकपा स्थायी समिति बैठक स्थगित, दिनभर बालुवाटार हलमा जम्मा भएका समिति सदस्यहरू फर्किए

पूर्वनिर्धारित समयमा सुरु नभई बिहानैदेखि अन्योलमा रहेको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक अन्ततः स्थगित गरिएको छ । बैठक दुई दिनका लागि स्थगित भएको एक नेताले जानकारी दिए । स्थगित गरिएको दुई दिनमा पार्टीभित्र उत्पन्न संकट समाधानका लागि प्रयास हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा शीर्ष नेताहरूले मागेपछि पार्टीभित्र संकट चुलिएको हो ।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा आफूलाई हटाउन भारतीय पक्ष लागिपरेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई स्पष्ट पार्नुपर्ने भन्दै नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा आफूहरूले मागेको भन्दै स्थायी कमिटी बैठकमा राजीनामाको विषयलाई चर्काएका थिए ।

त्यसयता बुधबार र बिहीबार बिहान नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले स्थायी कमिटी सदस्यहरूलाई बेग्लाबेग्लै भेटेका थिए । त्यसयता आज मात्र सरकारले संसद्को जारी अधिवेशन अन्त्यसमेत गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । सो सिफारिसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बजेट अधिवेशन अन्त्य गरेकी थिइन् । आज मात्र प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्षद्वय ओली र दाहालबीच दुईपटक छलफल भए पनि स्थायी कमिटी बैठक अघि बढाउनेबारे समझदारी हुन सकेको थिएन ।

प्रकाशित भएको : July 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु