प्रधानमन्त्री ओली र देउवाबीचको भेटले ल्याएको तरंग

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको विषयले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र तरंग ल्याएको छ।

संसद अधिवेशन अन्त्य गरिनु एक दिनअघि (असार १७ गते) प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर देउवासँग भेटेको खुलेपछि अनेक आशंका गरिएका छन्।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरूले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीलाई राजीनामा दिन स्थायी समिति बैठकमै आग्रह गरेपछि नेकपाभित्र विवाद छ।

नेकपाभित्रको विवाद चुलिएका बेला देउवालाई भेटेर प्रधानमन्त्री ओलीले नेकपा पार्टी फुट्यो कांग्रेससँग मिलेर संयुक्त सरकार बनाउने प्रस्ताव गरेको चर्चा नेकपा नेताहरूबीच नै भइरहेको छ।

प्रधानमन्त्रीले संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न सभापतिलाई बालुवाटार बोलाएको कांग्रेसले जनाएको छ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच नेकपाभित्रको आन्तरिक द्वन्द्वबारे कुराकानी नभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

‘यतिसम्म कि भोलिपल्ट संसद अधिवेशन अन्त्य गर्दैछु भन्ने पनि प्रधानमन्त्रीले सभापतीजीलाई सूचना दिनुभएको थिएन,’ शर्माले सेतोपाटीसँग भने, ‘नेकपाभित्र आन्तरिक द्वन्द्व भएका बेला प्रधानमन्त्री र सभापतीजीबीच भएको भेटलाई लिएर बजारमा अनेक आशंका त भएका छन् तर संवैधानिक नियुक्तिबारे मात्रै त्यस दिन छलफल भएको हो।’

नेकपाभित्रको आन्तरिक झगडामा कांग्रेसको कुनै सरोकार नभएको पनि शर्माले बताए।

‘यो भेटलाई नेकपाको आन्तरिक द्वन्द्वसँग जोडेर नेकपाका साथीहरूले र हाम्रो पार्टीले हेर्नुपर्ने छैन,’ उनले भने, ‘संसदसँगै जोडिएका विषयमा छलफल भएको थियो, जस्तो एमसिसी र निजामती कर्मचारी विधेयकलगायतमा कुरा भए।’

प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले संविधानका मर्मविपरीत विधेयकहरू आएको भन्दै ध्यानाकर्षण गराएको उनको भनाइ छ।

‘भोलिपल्ट संसद अधिवेशन अन्त्य गर्दैछु भन्ने प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतालाई उक्त भेटमा सुइँकोसमेत दिनुभएको थिएन,’ उनले भने, ‘त्यो भेट सत्ताको द्वन्द्वसँग सरोकारको थिएन।’

सभापति देउवानिकटका नेता, कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले संवैधानिक नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री र सभापतिजीबीच छलफल भएको बताए। ‘संवैधानिक नियुक्तिका विषयमा छलफल भएको भन्ने जानकारीमा छ,’ उनले सेतोपाटीसँग भने।

प्रधानमन्त्रीले सभापति देउवासँग आगामी दिनमा सहकार्य गरी जान सहयोग मागेका हुन्? भन्ने प्रश्नमा सहमहामन्त्री महतले भने, ‘यसबारे सभापतिजीले केही भन्नुभएको छैन। सम्भवत: यो विषयमा उहाँहरूबीच कुराकानी भएको थिएन। केही भएको रहेछ भने आज फेरि सभापतिजीसँग बुझौंला।’

आज कांग्रेसले केन्द्रीय समिति बैठक राखेको छ। पार्टीको १४ औं महाधिवेशन फागुन ७ देखि १० सम्म गर्ने निर्णय भए पनि प्रदेशलगायत तल्ला संरचना अधिवेशन कहिले गर्ने भन्ने कार्यतालिका ल्याउनेबारे बैठकमा छलफल हुने प्रवक्ता शर्माले जानकारी दिए।

प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरेको विषय पनि केन्द्रीय समितिमा छलफल हुनेछ। केही केन्द्रीय समिति सदस्यले प्रधानमन्त्रीसँग सभापतिजीको के कुराकानी भयो भन्ने कुरा पनि जिज्ञासा राख्ने आँकलन गरिएको छ।

प्रकाशित भएको : July 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु