नेकपा नेताहरु बुधबार पनि छलफलमा, ओलीलाई प्रधानमन्त्रीबाट हटाउन कठिन भएपछि बिकल्पमा नयाँ सहमति खोज्दै

 


प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा सत्ता नछाड्ने अडान लिएपछि उनका विरोधी समुह गल्दै गएका छन् । ओलीले पार्टी विभाजनसम्मको निर्णय लिनसक्ने देखेर त्रसित बनेको विरोधी समुहले अब केही पाइला पछि सारेर भएपनि सहमतिको प्रयास गर्न थालेका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पटक पटक ‘वन टु वन’ बसेर कुराकानी गरेपनि सहमति निस्किएन ।लगातारको भेटपछि पनि सहमति ननिस्कँदा नेताहरुले पुरानै सहमतिलाई केही परिमार्जन गरी जाने विषयमा छलफल बढाएका छन् । सर्प पनि मर्ने लठ्ठी पनि नभाँच्चिने विकल्प तयार गर्ने सुत्रबारे छलफल शुरु भएको हो । जसमा एक व्यक्ति एक पदको व्यवहारिक कार्यान्वयन हुनसक्छ । ओली प्रधानमन्त्री कायमै रहने तर पार्टी सञ्चालन प्रचण्डले गर्ने विषयमा छलफल बढेको विश्वस्त स्रोतले जानकारी दिएको छ । कार्यकारी अधिकार मंसिर ४ मै प्रचण्डलाई दिइएको हो । तर, अब सहमति गर्दा पार्टी कमाण्डको पुरै अधिकार उनमा रहने गरी सहमतिको प्रयास गर्न खोजिएको हो ।

उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल नियमित जसो बैठक बसेर सहमतिको विकल्प खोज्न सक्रिय भएको बुझिएको छ । दुवै नेता कुनै हालतमा पार्टी फुट्न दिन नहुने पक्षमा छन् । ओलीलाई तत्काल प्रधानमन्त्रीबाट हटाउन कानुनी जटिलताहरु पनि छन् । उनले राजीनामा दिनेबाहेक हटाउन मुश्किल छ । अविश्वासको प्रस्तावले मात्र ओली हट्न सक्छन् । त्यस्तो अवस्थामा नेकपाभित्र दुर्घटना हुनसक्छ । त्यसैले विरोधी पक्ष दुर्घटना हुन नदिन लागिपरेको छ ।

ओलीले भने पार्टी फुटाउन अध्यादेश ल्याएर भएपनि अगाडि बढ्ने संकेत गरिसकेका छन् । अध्यादेश बाहेकको अवस्थामा नेकपा फुट्ने मार्ग खोलिदैन । यसमा संवैधानिक र कानुनी जटिलता छ । प्रचण्ड या अन्य कुनै नेताले चाहेर पनि नेकपा फुटाउन सक्दैनन् किनभने राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी एकीकरणको पाँच वर्ष पुरा नभई फुटाउन नपाइने उल्लेख छ । नेकपा एकीकरण भएको दुई वर्ष मात्र पुरा भएको छ ।

कुनै हालतमा सत्ता नछाड्ने ओलीको अडानले विरोधी समुह गलेको हुन् कि भन्ने देखिएको छ । त्यसमाथि नेकपाभित्र विशेष प्रभाव बढाएको चीनले सक्रियता देखाएको छ । चिनियाँ राजदुन होउ यान्छीले शिर्ष नेताहरुलाई भेटिसकेकी छिन् । उनले पार्टी फुट्न नदिन जोड दिएको बुझिएको छ ।

नेकपाभित्र अब सहमतिको बढी सम्भावना बढ्दै गएको छ । सहमति नबन्दा यसरी नै यता न उताको अवस्था कायम रहन सक्छ । एक व्यक्ति एक पदको जस्तै अवस्था सृजना गर्ने गरी सहमति निकाल्न खोज्दा पनि कुरा नमिले दुर्घटना नटर्ने उत्तिकै सम्भावना छ ।

स्थायी समिति बैठकपछिका घटनाक्रम

-असार १० गते बैठक सुरु भएको दिन २ अध्यक्षले धारण

-११ गते बैठक बसेन

-१२ गते र १३ गते बैठक बस्यो । १२ गतेको बैठकमा प्रधानमन्त्री ओली उस्थित नै भएनन् भने १३ गते एक्कैछिन मात्रै सहभागी भएर बारिरिएका थिए । यस दिन सीमाको विषयमा मात्रै छलफल भयो ।

-१४ गते मदन जयन्ती र १५ गते धान दिवस भनेर बैठक स्थगित गरिएको थियो ।

-स्थायी समिति बैठक सञ्चालन गरिएकै हालमा १४ गते मदन जयन्तीको कार्यक्रम आयोजना गरियो । नयाँ नक्सा सार्वजनिक गरेको भनी भारत आफूसँग रिसाएको, आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारत लागि परेको र आफ्ना पार्टीका नेताहरु त्यसको मतियार बनेको आरोप ओलीले लगाए ।

-१६ गते बसेको बैठकमा प्रधानमन्त्री उस्थित थिए । त्यसदिन बैठक पार्टीको एजेण्डमा केन्द्रित हुनुको सट्टा प्रधानमन्त्रीले मदन जयन्तीको कार्याक्रममा दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ताका लागि परेको निवेदन विषयमा कुरा उठ्यो । सो दिन बैठकमा प्रधानमन्त्री ओली, पार्टीका अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता, सचिवालय सदस्य, स्थायी समित सदस्य गरी १८ जना बोले । जसमा अन्य १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरे ।

-१७ गते एक्कैछिन बसेर बैठक स्थगित भयो । त्यसदिन बोल्ने पनि सबैजसोले ओलीको राजीनामा मागे।

-१८ गते पनि स्थायी समिति बैठक बस्यो तर त्यसदिन ओली बैठकमा उपस्थित भएनन् । मन्त्रिपरिषद् बैठक बसी वजारी संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरियो । नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको कदमबाट पार्टीमा गम्भीर खतरा आएको टिप्पणी गरेका थिए ।

-पार्टी फुटतर्फ उन्मुख भएको र प्रधानमन्त्रीसँग छलफल गर्नका लागि भन्दै १९ गतेको बैठक रोकेर २० गतेका लागि तय गरिएको थियो ।

-२० गते बैठक नै नबसी २२ गतेका लागि ताकियो ।

-२२ गते पनि बैठक अगावै २४ गते(आज) का लागि सारियो ।

-२४ लागि तोकिएको बैठक पुनः २६ गतेसम्मका लागि स्थगित गरिएको छ।

पार्टीमा देखिएको विवाद समाधान गर्न दिनहुँ नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता भइरहेको छ। ठोस उपलब्धि भने त्यसले दिनसकेको छैन । यसबीचमा ओली र प्रचण्ड चार पटक छलफलमा बसेका छन् । एक पटक एक–एक जना सहयोगीसहित भेटवार्ता गरेका ओली–प्रचण्ड अर्काे पटक दुई–दुई जना सहगोगीका साथ छलफलमा बसेका थिए । दुई पटक भने एक्ला–एक्लै छलफलमा बसेका छन् ।

बुधबार पनि छलफलमा ओली र प्रचण्ड बस्ने तयारीमा छन् ।

प्रकाशित भएको : July 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु