प्रचण्डसँगको छलफलपछि रातारात शीतलनिवास किन पुगे प्रधानमन्त्री ओली

 

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । त्यस क्रममा प्रधानमन्त्री र राष्ट्रपतिबीच एक घण्टा भेटवार्ता भएको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली राष्टपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

बुधबार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा झण्डै २ घण्टा वार्ता भएको थियो ।

बुधबारको ओली प्रचण्ड वार्ता यसअघिका वार्ताकै निरन्तरता भएको बताइएपनि यसबारे नेताहरुले मुख खोलेका छैनन् । आइतबार यता दैनिक भएका भेटवार्ता अघिल्ला दिनकै निरन्तरता भएको दुवै नेता निकट स्रोतहरुले बताएका छन् ।

आइतबारको भेटमा ओली प्रचण्ड आरोप प्रत्यारोपमा उत्रिएपनि सोमबार ओलीको धारणा प्रचण्डले सुनेका थिए भने मंगलबारको भेटमा प्रचण्डको धारणा ओलीले सुनेका थिए ।

बुधबारको भेटमा भने दुवैले आ–आफ्ना कुरा सुनाएका थिए । एक अर्काका कुरा सुनेपनि दुवै नेता यसअघि राखेका अडानबाट दायाँबायाँ भएका छैनन् ।

अध्यक्ष प्रचण्डले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन सुझाव दिइरहेका छन् भने ओेली कुनैपनि पद छोड्न तयार छैनन् ।

बुधबार ओलीससँगको भेटअघि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल प्रचण्ड निवास खुमलटारमा पुगेर ओलीसँगको वार्ता र प्रगतिबारे सोधखोज गरेका छन् ।

त्यस क्रममा प्रचण्डले ओली अझैपनि राजीनामा दिने पक्षमा नरहेको आफूले पाएको नेपाल र खनालसँग ब्रिफिङ गरेका थिए ।

प्रचण्डको ब्रिफिङ सुनेका नेपाल र खनालले ओलीले अटेर गरेरै जित्छु भन्ने ठानेको भन्दै अब बस्ने स्थायी समिति बैठकमा निर्णय नै गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

सोही सन्देश बोकेर प्रचण्ड बधबार ओली भेट्न बालुवाटार पुगेका थिए । तरपनि ओलीले आफ्नो राजीनामा समस्याको निकास हुन नसक्ने भन्ने पुरानै अडान दोहोर्याएका थिए ।

प्रकाशित भएको : July 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु