कोरोनाबीच पनि यति धेरै प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र

 

कोरोनाभाइरसको महामारीले संसारभरिका अधकांश अर्थतन्त्र खुम्चिरहेका बेला चीनमा भने पछिल्लो तीन महिनामा अर्थतन्त्र ३.२ प्रतिशतले बढेको छ।

बिहीबार चीनको नेशनल ब्युरो अफ स्टाटिक्सले दिएको सार्वजनिक गरेको डाटाअनुसार बाँकी विश्व लकडाउनमा रहेको अप्रिल, मे र जुनमा चिनियाँ अर्थतन्त्र उकासिएको हो।

यो वर्षको पहिलो तीन महिनामा भने चीनको अर्थतन्त्र ६.८ प्रतिशतले खुम्चिएको थियो।

चिनियाँ अर्थतन्त्रमा आएको सुधारले लकडाउनका कडा नियम लागू गरेका कारण आर्थिक मन्दीतर्फ अग्रसर कैयौं मुलुकलाई अनुकरणीय हुने देखिएको छ।

तर अर्थतन्त्रको पूर्ण पुनरुत्थानका लागि भने केही समय लाग्नेछ । चिनियाँ खुद्रा बिक्रीमा भने पूर्वानुमानको तुलनामा केही घटेको छ।

अघिल्लो वर्ष जुन महिनाको तुलनामा यस वर्ष खुद्रा बिक्रीमा १.८ प्रतिशतले कमी आएको छ।

यसको अर्थ चीनमा कोरोनाभाइरस नियन्त्रणमा आएको देखिए पनि मानिस बजारमा गएर सामान किन्न अझै हिच्किचाइरहेका छन्।

ब्यूरोले नयाँ विवरण सार्वजनिक गरे पनि एसियाली शेयर बजारमा खुसी ल्याउन भने सकेन। सांघाई र हङकङको शेयर बजार बिहीबार मध्याह्नसम्ममा झन्डै १ प्रतिशतले घटेको छ।

एक्सिकर्पका रणनीतिकार स्टिफेन इन्सले मानिसमा आत्मविश्वास र उत्साह नआउँदासम्म उनीहरू बजारमा गएर सामान किन्छन् भन्न नसकिने बताए।

चीनको अर्थतन्त्रमा खुद्रा क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको छ। चिनियाँ नेताहरूले पनि अर्थतन्त्रलाई गति दिन व्यापार र लगानीभन्दा खुद्रा क्षेत्रका परिसूचकलाई नियाल्ने गरेका छन्।

चिनियाँ सामानको विदेशमा माग कमजोर रहेको अवस्थामा घरेलु उपभोगलाई तीव्रता दिने प्रचलन रहिआएको छ। तर इन्सका अनुसार माग भन्दा आपूर्तिलाई सामान्यीकरण गर्न सजिलो हुन्छ।

अक्सफोर्ड इकोनोमिक्सका लुइज कुइजले घरयासी उपभोगको परिसूचक सर्वाधिक कमजोर रहेको बताए। उनले चीनको आर्थिक स्थितिमा सन् २०२० को मध्यपछि निकै सुधार हुने विश्वास व्यक्त गरे।

चीनको तथ्यांक ब्यूरोले शहरी बेरोजगारी जुनमा ५.७ प्रतिशतले बढेको जनाएको छ। अघिल्लो महिना यो ५.९ प्रतिशत थियो।

औद्योगिक उत्पादन जुन महिनामा ४.८ प्रतिशतले वृद्धि भएको छ। मे महिनामा यस्तो उत्पादन ४.४ प्रतिशतले वृद्धि भएको थियो।

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले चीनको अर्थतन्त्र निरन्तर सुधारोन्मुख रहेको बताए।

तर चीनका मुख्य व्यापारिक साझेदार मुलुकहरूमा कोरोना महामारीले चुनौती सिर्जना गरिरहेकाले चीनको राष्ट्रिय पुनरूत्थानमा अझै पनि दबाब छ।

विश्वमै विशाल अर्थतन्त्र भएका मुलुकमध्ये चीनले मात्र सन् २०२० मा आर्थिक वृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित भएको : July 16th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु