बीबीसीले लेख्यो : सन् २१०० मा नेपालको जनसङ्ख्या आधा हुनसक्छ, पर्नेछ यस्तो गम्भीर प्रभाव ?

 

काठमाडौं । ब्रिटेनको एउटा प्रतिष्ठित जर्नल ल्यान्सेटमा विश्वव्यापी अध्ययन गरेर प्रकाशित एक लेखमा विज्ञहरूले अधिकांश देशहरूमा यो शताब्दीको अन्त्यसम्ममा जनसङ्ख्या निकै घट्ने प्रक्षेपण गरिएको छ।

नेपालको हकमा हाल तीन करोड रहेको जनसङ्ख्या सन् २०४३ मा तीन करोड पैँतालीस लाख पुग्ने र त्यसपछि घट्दै गएर सन् २१०० मा पुग्दा त्यसको लगभग आधामा झर्ने प्रक्षेपण गरिएको छ।

खासगरि विश्वभरि शिक्षामा भएको प्रगति अनि महिलाहरूको सशक्तिकरणजस्ता विभिन्न कारणले कुल प्रजनन दर अर्थात् एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाको सङ्ख्या निरन्तर घटिरहेकोले यस्तो अवस्था आइपर्न लागेको सो प्रतिवेदनमा उल्लेख छ।

हाल नेपालमा कुल प्रजनन दर २.२४ प्रतिशत रहेकोमा त्यो अब घट्दै जाने र सन् २१०० सम्म पुग्दा १.२० प्रतिशत पुग्ने प्रक्षेपणमा उल्लेख छ।

नेपालको औसत उमेर बढ्दो

हालसम्म नेपाललाई एउटा युवा देशको रूपमा मानिन्छ। यहाँका अधिकांश मानिसहरू युवा उमेरका रहेको हुँदा त्यसले श्रम तथा रोजगारीमा सकारात्मक असर परिरहेको ठानिन्छ।

राष्ट्रिय तथ्याङ्क विभागको आँकडा अनुसार नेपालमा अहिले औसत उमेर लगभग २५ वर्षको हाराहारीमा छ।

अहिले नेपालमा ६५ वर्षभन्दा धेरै उमेरका मानिस कुल जनसङ्ख्याको पाँच प्रतिशत हाराहारीमा मात्र छन्। हाल विश्वव्यापी फैलिएको कोरोनाभाइरसको महामारीको सन्दर्भमा पनि धेरै मानिस युवा उमेरका भएकाले त्यसको असर यहाँ कम परिरहेको कतिपयको बुझाइ छ।

योजनाविद्हरू यस्तै मौकामा देशले विकासमा फड्को मारिहाल्नुपर्ने ठान्छन्। तर यो मौका लामो समय नरहने देखिँदैछ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेल भन्छन्, “आयोगले केही वर्ष अगाडि गरेको अध्ययनमा के पाइयो भने अबको छ वर्षपछि नै हामीकहाँ ६५ वर्षभन्दा माथिका मानिसहरूको सङ्ख्या ७ प्रतिशत पुग्छ – त्यो भनेको बुढ्यौलीतर्फ लाग्दै गरेको मुलुक हो।” “अनि अबको ३३ वर्षपछि त्यो प्रतिशत १४ पुग्छ र हामी बुढ्यौली लागेको वा वृद्ध मुलुक हुनेछौँ,” उनले भने।

त्यसको असर के?

जनसङ्ख्याविद् प्राध्यापक डा. मृगेन्द्रलाल सिंह यस्तो परिवर्तनको व्यापक नीतिगत असर पर्ने हुनाले बेलैमा सचेत हुनुपर्ने बताउँछन्। “जनसङ्ख्या यसरी घट्नु राम्रो कुरा होइन।

राम्ररी सोचविचार गरेर नीति बनाउनुपर्छ,” उनले भने। डा पोखरेल पनि त्यसमा सहमत छन्। उनी थप्छन्, “हामी त विकास देख्न नपाइकनै वृद्ध हुने मुलुक बन्ने पो खतरा छ।” उनले उदाहरण दिँदै भने, “सन् २०१५ मा औसतमा ११ जनाले काम गरेर एकजना वृद्धलाई पाल्नुपरेको थियो। सन् २०५० पुग्दा साढे पाँच जनाले काम गरेर एकजनालाई पाल्नुपर्नेछ।”

राष्ट्रिय योजना आयोगका अर्का पूर्वउपाध्यक्ष डा. शङ्कर शर्मा पनि जनसङ्ख्याको बदलिँदो स्वरूपबारे अहिले देखि नै जानकार भएर सचेत ढङ्गले योजना बनाउनुपर्ने आवश्यकता ठान्छन्। “जनसङ्ख्याबाट हुने फाइदा अर्थात् धेरै युवा जनसङ्ख्या हुनेको फाइदा लिन अब हामीलाई २०-२५ वर्ष मात्र बाँकी छ।

त्यसपछि हामीले समयानुकुल हुने गरेर थोरै मानिसबाट धेरै उत्पादन हुनसक्ने क्षेत्रमा ध्यान दिनुपर्छ।”

उनले सिङ्गापुरको उदाहरण दिँदै कसरी उक्त देशले जनसङ्ख्या कम हुने आकलन गर्दै उच्च प्रविधि तथा उच्च मूल्यका उद्योगव्यापारमा ध्यान केन्द्रित गर्‍यो भन्नेबाट नेपालले सिक्नुपर्ने बताए। अर्थात् आगामी वर्षहरूमा नेपालले पनि उत्पादकत्व बढाउने, उच्च प्रविधि अँगाल्ने तथा स्रोतसाधनको उच्चतम प्रयोगको विधि र तरिका पछ्याउने विकल्प रोज्नुपर्ने योजनाविद्हरूले बताएका छन्। बीबीसी

प्रकाशित भएको : July 16th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु