सिता गुफा भारतमा पार्ने भारतको रणनीती नेपालले बिफल पार्यो ,३५ नम्बर पिलर पुनः गाडियाे

 

पर्साको ठोरी गाउँपालिका–२ ठोरी भन्सारस्थित सुमेरु पर्वतमाथि नेपाल–भारत सीमा क्षेत्रमा ढालिएको अवस्थामा फेला परेको ३५ नम्बर पिलर पुनः गाडिएको छ ।

शनिबार दिउँसोको समयमा ढालिएको उक्त पिलर गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठ, सशस्त्र प्रहरी निरीक्षक दीपक दहाल, नेपाल प्रहरी निरीक्षक अशोक साह तथा भारतीय एसएसबी अधिकारीसहितको टोलीले पुनः त्यही स्थानमा पिलर गाडेको सशस्त्र प्रहरी निरीक्षक दीपक दाहालले बताउनुभयो ।

सीमा पिलर ढालिएको घटना सार्वजनिक हुनेवित्तिकै तत्काल घटनास्थल पुगेको गाउँपालिका अध्यक्षसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा भारतीय एसएसबीको टोलीबीच तीनदेखि चार घण्टा छलफल भएको थियो ।

करिब चार घण्टनाको छलफलपछि राति ९ बजेको समयमा नै त्यही स्थानमा सीमा पिलर पुनः गाड्ने निर्णय भएपछि सोही स्थानमा सीमा पिलर पुनः गाडिएको हो ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको तैनाथ गस्ती रहेतापनि कुन बेला कसले पिल्लर ढाल्यो भन्ने विषय हालसम्म पता लाग्न सकेको छैन ।

केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि भारतको अयोध्यामा नभई पर्साको पश्चिमी ठोरीस्थित रहेको भनेपछि सुमेरु पर्वतको बीच भागमा रहेको सीता गुफा अहिले चर्चामा रहँदै आएको छ ।

चट्टानै चट्टानयुक्त बनेको सुमेरु पर्वको बीच भागमा रहेको सीता गुफाको माथिल्लो टुप्पामा रहेको नेपाल–भारत सीमा ३५ नम्बर पिलर शनिबार दिउँसो सीमा रहेको स्थानभन्दा ५ मिटर मुनि ढालेर झारिएको अवस्थामा फेला परेको थियो ।

उक्त स्थानमा भगवान राम तथा सीतासँग जोडिएका शिवलिंग, कुण्ड, घडा लगायत विभिन्न प्राचीन सामानहरु सुरक्षित रहेको समाचारहरु बाहिर आएपछि शनिबार दिउँसोको समयमा पिलर ढालिएको अवस्थामा फेला परेको थियो ।

प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई स्वागत गर्दै ठोरीबासीले शनिबार धुमधामका साथ पुजाआजा गर्ने कार्यक्रम रहेकोमा विहानसम्म पिलर त्यही स्थानमा रहेको तर साँझ हेर्दा पिलर ढालिएको अवस्थामा फेला परेपछि घटना सार्वजनिक भएको थियो ।

पूजाआजाको क्रममा सर्वसाधारणहरु सीता गुफाभन्दा मुनि झरेको मौका छोपेर पिलर ढालिएको स्थानीय रामसरण लामिछानेले बताए । उनीहरुका अनुसार भारतीय पक्षले गुफालाई आफ्नो सीमामा पार्ने षडयन्त्र गर्नका लागि भारतीय एसएसबीको कुनै प्रतिनिधिले ढालेको हुन सक्ने बताए ।

प्रकाशित भएको : July 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु