लुक्लामा गाउँपालिकाले नि:शुल्क दियो अलपत्र परेका १३७ विदेशी पर्यटकलाई खाना र बास

 

सगरमाथा र गोक्यो ताल पुगेर फर्केका विदेशी पर्यटक काठमाडौं आउन नपाएर रोकिएका छन्।

कोरोनाभाइरस नफैलियोस् भनेर सरकारले मंगलबारदेखि साताव्यापी लक डाउन गरेको छ। जसले गर्दा सवारी साधन चलेका छैनन्, होटल पनि बन्द छन्।

साथमा पैसा भए पनि यस्तो बेला पर्यटकले खान-बस्न नपाएपछि सोलुखुम्बुस्थित खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर-२ ले पर्यटकलाई खाना र बसोबासको व्यवस्था मिलाइदिएको छ।

वडाध्यक्ष आङफुर्वा शेर्पाले बिहीबार सेतोपाटीसँग कुराकानी गर्दै पर्यटकहरू अलपत्र नपरून् भनेर गाउँपालिका र होटल एसोसिएन मिलेर खानेबस्ने व्यवस्था मिलाएको जानकारी दिए।

गाउँका ४१ होटलमा एक सय ३७ जना विदेशी पर्यटक बाँडेर राखिएको शेर्पाले बताए।

‘फ्रान्स, अमेरिका, जर्मनी, चीन, हङकङ, ताइवानलगायत देशका पर्यटक यहाँ छन्,’ उनले सेतोपाटीसँग भने, ‘उनीहरू भोकभोकै नपरून् भनेर आज बिहानदेखि खाना र बसोबासको व्यवस्था मिलाएका हौं।’

पर्यटकलाई खाना र बासको व्यवस्था नि:शुल्क गरिदिएको उनले बताए।

‘खानाको पैसा गाउँपालिकाले ब्यहोर्छ,’ उनले भने, ‘होटलमा बसेको कोठा भाडा र नि:शुल्क इन्टरनेटको व्यवस्थापन होटल एसोसिएसनले गर्ने गरी व्यवस्थापन मिलाइएको छ।’

पर्यटकहरू काठमाडौं फर्कने निधो नहुञ्जेलसम्म खाना र बसोबासको व्यवस्थापन गरिएको उनले जानकारी दिए। पर्यटकलाई काठमाडौं फिर्ता गर्न हेलिकप्टर र जहाज चार्टरका लागि प्रयास गरे पनि अहिलेसम्म सफल हुन नसकेको उनले बताए।

‘हेलिकप्टर वा जहाज नै चार्टर गर्न विभिन्न ठाउँमा पहल गरिरहेको छु तर मिलेको छैन,’ उनले भने, ‘सगरमाथा र गोक्यो घुमेर आएका पर्यटक दुई दिनदेखि यहीँ छन्।’

अन्तिम पटक अपडेट गरिएको : April 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु