नेविसंघले त्रिवि उपकुलपति, रजिष्ट्रार र रेक्टर कार्यालयमा लगायो ताला

 

नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार र रेक्टर कार्यालयमा ताला लगाएको छ।

त्रिविले हालै गरेका नियुक्तिहरू मापदण्डविपरीत रहेको भन्दै नेविसंघ त्रिवि समितिले ताला लगाएको सचिव योगेन्द्र रावलले जानकारी दिए।

विश्वविद्यालयमा भएका नियुक्तिमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताहरू भर्ति गरेको आरोप नेविसंघको छ।

‘विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि अमुक पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्ने गरी हालै नियुक्ति गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुख, डिनहरूको नियुक्ति खारेज गरी विश्वविद्यालय मापदण्ड अनुसार नियुक्त नगरेसम्म अनिश्चितकालीन तालाबन्दी गरिएको जानकारी गर्दछौं,’ आइतबार तालाबन्दीपछि नेविसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेविसंघसँग त्रिवि पदाधिकारीले वार्ता नगरेको भन्दै बाध्य भएर ताला लगाउनुपरेको रावलले बताए। उनले विश्वविद्यालय मापदण्डअनुसार निष्पक्षताका आधारमा रिक्त पदपूर्ति गर्न पनि माग गरे।

नेविसंघले आफ्ना माग यसअघि उपकुलपतिलाई ज्ञापन पत्रमार्फत् बुझाए पनि वेवास्ता गरेको आरोप लगाएको छ।

‘विश्वविद्यालयलाई नेकपाको भर्ति केन्द्र बनाई शैक्षिक क्षेत्रलाई कम्युनिष्टिकरण गर्ने नियतका साथ’ नियुक्तिहरू गरिएको आरोप नेविसंघको छ।

प्रकाशित भएको : July 20th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु