पहिरोमा पुरिएर मृत्यु भएका प्रतिपरिवारलाई डेढ/डेढ लाख

 

पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई रु एक लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गत असार ३० गते बिहान आएको पहिरोमा पुरिएर मृत्यु भएका चारजनाको परिवारलाई केन्द्रीय सरकारको एक लाख र प्रदेश सरकारको ५० हजार गरी प्रतिपरिवार एक लाख ५० हजारका दरले छ लाख र गल्याङ नगरपालिका–९ साङ्लियाका एक परिवारलाई ५० हजार राहत मङ्गलबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मृतकको घरघरमै पुगेर राहत रकम उपलब्ध गराउनुभयाे ।

गल्याङ–९ साङ्लियाको पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई यसअघि नै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले एक लाख उपलब्ध गराउनुभएकाे थियाे । मङ्गलबार नै मन्त्री चुमानले कालीगण्डकी गाउँपालिकामा चार जनाको ज्यान जाने गरी आएको पहिरोको स्थालगत अवलोकन तथा निरीक्षणसमेत गर्नुभयाे ।

गत असार ३० गते कालीगण्डकी गाउँपालिका–४ खहरेमा आएको पहिरोमा पुरिएका तीन जनाको शव फेला परेसँगै सामूहिक अन्त्येष्टि गरिएको थियो भने एक जनाको एक हप्ता बित्दा पनि अझै शव फेला परेको छैन ।

पहिरोमा पुरिएको शव फेला पार्न नसकेपछि सोमबार कुशको शव बनाएर कालीगण्डकीमा अन्त्येष्टि गरिएको कालीगण्डकी गाउँपालिका–४ का वडाध्यक्ष चक्रप्रसाद पाण्डेले बताउनुभयाे ।

पहिरोमा पुरिएर कालीगण्डकी गाउँपालिका–४ साविक बिर्घागाउँ विकास समितिका अध्यक्ष इमानसिंह राना, स्थानीय जिमानसिंह थापा, टीकाबहादुर थापाको मृत्यु भएको थियो भने स्थानीय प्रेमचन्द्र पाण्डेको शव अझै फेला पर्न सकिएको छैन ।

असार १३ गते घरमाथिबाट झरेको पहिरोले घर भत्किँदा गल्याङ नगरपालिका–९ साङ्लियाका यमबहादुर विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रकाशित भएको : July 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु