अदालतले गुमाएको जनविश्वास अदालतले नै सच्याउनुपर्छ: गगन थापा

 

नेपाली कांग्रेसका सांसद गगन थापाले अदालतले गुमाएको जनविश्वास अदालतले नै सच्याउनुपर्ने बताएका छन्।

श्रीमती हत्यामा जेल परेका पूर्वडिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले कैद सजाय कम गरिदिएपछि सर्वोच्चको आलोचना भइरहेका बेला थापाले अदालतले नै त्रुटि सच्याउनुपर्ने बताएका हुन्। उक्त मुद्दामा सर्वोच्चमा पुनरावलोकन हुँदैछ।

‘पुनरावलोकनको प्रक्रियामा अब अदालतका प्रत्येक कदम नागरिकको निगरानीमा रहनेछ,’ थापाले भनेका छन्, ‘सजाय घटाउने फैसलालगायतका पछिल्ला निर्णयका कारण अदालत स्वयंले गुमाएको जनविश्वासलाई अदालतले नै त्रुटि सच्याएर पुनर्स्थापित गर्नुपर्दछ।’

उनले प्रधानन्यायाधीश संलग्न भएर कर्तव्य ज्यान मुद्दामा सजाय घटाउने गरी भएको सर्वोच्चको फैसलाले आमजनतालाई आक्रोसित बनाएको पनि बताएका छन्। ‘न्यायपालिका प्रतिको विश्वास डगमगाएको छ,’ उनले भने।

सर्वोच्चले ‘उक्त घटना सामान्य र भवितव्य मान्न मिल्ने नदेखिएको र सर्वोच्च अदालतकै नजिरहरू विपरित फैसला भएको’, भन्दै पुनरावलोकनका लागि अनुमति दिएको छ। फैसला सच्याउन सरकारले गरेको पहल र पुनरावलोकनका लागि अनुमति दिने निर्णय सकारात्मक भएको थापाको भनाइ छ।

‘नागरिकको न्यायलयप्रतिको विश्वासलाई स्थापित गर्ने अभिभारा न्यायलयकै हो। न्यायसम्पादनमा हुने त्रुटि सच्याउन र न्यायलयबाटै न्याय मर्न नपाओस् भनेर नै संविधानमा पुनरावलोकनको प्रावधान राखिएको हो,’ थापाले भनेका छन्। अदालतले शक्तिको दुरूपयोग गर्न नहुने उनले बताए।

‘अदालतले गरेका निर्णय हामीलाई व्यक्तिगत रुपमा प्रिय वा अप्रिय लाग्न सक्छन्। न्यायपालिकले ‘न्याय’ का लागि कतिपय अवस्थामा अप्रिय निर्णय गर्ने हैसियत र ताकत दुवै राख्छ,’ उनले भनेका छन्, ‘तर त्यस्तो ताकतको दुरुपयोग गरिनु हुन्न। साथै ‘न्याय’ को सवालमा न्यायपालिका स्वयं पनि आम-नगारिकप्रति उत्तरदायी र जवाफदेही हुनुपर्छ।’

अदालतको मान कानुनको व्याख्यामा मात्र नभएर जनविश्वाससँग पनि जोडिने उनले बताए।

‘जब निर्णयमा न्याय मर्यो भन्ने लाग्छ, न्यायलयप्रति जनविश्वास गुम्छ त्यतिवेला न्यायलयप्रतिको मान डगमगाउने मात्रै होइन लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि पनि प्रहार हुन्छ। यसलाई न्याय सम्पादन गर्नेहरूले गम्भीरताका साथ लिनुपर्दछ,’ सांसद थापाको भनाइ छ।

न्यायलयले जनआस्था वढ्ने र स्वतन्त्र न्यायपालिकाको सम्मान तथा गरिमा रहने गरी काम गर्नुपर्ने पनि थापाले बताएका छन्।

प्रकाशित भएको : July 27th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु