स्याङ्जामा एसपीसहित ३८ जना प्रहरी कोरोना संक्रमित, डिएसपी भन्छन्- समुदायबाटै फैलिएको हुनुपर्छ

 

बाल विवाहको आरोपमा १२ दिनअघि स्याङ्जाका चार जना पक्राउ परे। पक्राउ परेकामध्ये बेहुलालाई मंगलबार कोरोना पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका अन्य तीन जनाको भने रिपोर्ट नेगेटिभ आएको स्याङ्जा प्रहरीका निमित्त प्रमुख डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बनेको छ। कार्यालय प्रमुख एसपीसहित हालसम्म ३८ जना प्रहरी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

पोखरास्थित क्षयरोग केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार एक महिलासहित १६ जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको डिएसपी अधिकारीले जानकारी दिए।

त्यस्तै, एक प्रहरी कर्मचारीको २८ महिनाको बच्चामा समेत कोरोना पोजेटिभ देखिएको छ।

प्रहरी कर्मचारी, बच्चा र थुनुवासहित मंगलबार मात्र स्याङ्जा प्रहरी कार्यालयमा १८ जना कोरोना संक्रमित थपिएको डिएसपी अधिकारीले बताए।

यसअघि साउन ६ गते जिल्ला प्रहरी कार्यालयका तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण भेटिएको थियो। उनीहरूलाई सामान्य ज्वरो आएपछि पिसिआर परीक्षण गर्न स्वाब पोखरा पठाइएपछि रिपोर्ट पोजेटिभ आएको थियो।

त्यसपछि जिल्ला प्रहरी कार्यालय सिल गरेर सबै प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पोखरा पठाइएको थियो। जसमा सोमबार मात्र स्याङ्जा प्रहरी प्रमुख एसपीसहित १८ जनामा संक्रमण भेटिएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ ७ बजे विज्ञप्ती जारी गरी स्याङ्जा प्रहरीका २० जनासहित ३१ जना नया संक्रमित भेटिएको पुष्टि गरेको छ। त्यसअनुसार स्याङ्जाकै वालिङ नगरपालिकामा १ जना, अर्जुनचौपारीमा ४ जना, बाग्लुङको निसीलामा ५ जना र बरेङमा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरूलाई नजिकको आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए।

सबभन्दा धेरै संक्रमित भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जामा अझै संक्रमित संख्या बढ्न सक्ने अनुमान गरिएको छ। जिल्ला कार्यालयमा कार्यरत ९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पठाएको र केहीको अझै परीक्षण रिपोर्ट आउन बाँकी रहेको स्याङ्जा प्रहरीले जनाएको छ।

संक्रमित प्रहरी कर्मचारीलाई स्याङ्जाकै हेलुस्थित कालिका सामुदायिक अस्पतालको क्वारेन्टिनमा १६ जना, पुतलीबजार नगरपालिका-११ को करेन्डाडास्थित स्वास्थ्य चौकीको आइसोलेसनमा ४ जना र एसपीलाई जिल्ला प्रहरी कार्यालयकै क्वारेन्टिनमा राखिएको डिएसपी अधिकारीले बताए। मंगलबार साँझ भेटिएका संक्रमितलाई पनि आइसोलेसनमा लैजाने तयारी भएको उनले जानकारी दिए।

जिल्ला कार्यालयमै कार्यरत प्रहरी कर्मचारीमा कोरोना भाइरस फैलिएपछि मंगलबारदेखि स्याङ्जामा लकडाउन कडा पारिएको छ। मंगलबारदेखि अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन र पसलहरू बन्द गराएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।

जिल्ला प्रहरी कार्यालय नै लामो समयदेखि सिल गर्नुपर्दा जिल्लाको शान्ति सुरक्षामा असर परेको उनले बताए। प्रहरीका साथै नेपाली सेना र शशस्त्र प्रहरी बललाई पनि जिल्लामा परिचालन गरेको उनको भनाइ छ।

‘बाढी, पहिरो पन्छाउन सेना र सशस्त्र प्रहरीलाई खटाएका छौं,’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालय सिल भए पनि नेपाल प्रहरीका अन्य युनिटलाई जिम्मेवारी थपेर परिचालन गरेका छौं।’

स्याङ्जामा जिल्ला प्रहरी कार्यालयबाहेक ३१ वटा नेपाल प्रहरीका युनिट छन्। सिडिओ क्षेत्रीले स्थानीय सरकार, सरकारी कर्मचारी र अन्य कार्यालयलाई पनि जिम्मेवारी दिएको बताए।

स्याङ्जा प्रहरीमा कोरोना संक्रमण समुदाय वा सेवाग्राहीबाटै फैलिएको हुनुपर्ने डिएसपी अधिकारीले बताएका छन्। कार्यालयमा प्रवेश गर्दा मास्क अनिवार्य, साबुनपानीले हात धुन लगाए पनि हावाबाट वा ड्युटीमा खटिएका प्रहरी कर्मचारीबाट फैलिएको हुन सक्ने उनको भनाइ छ।

‘बाहिरबाटै प्रहरीमा कोरोना सरेको हुनुपर्छ,’ उनले भने, ‘प्रहरीको काम नै बाहिर जनतासँग हुन्छ।’

क्वारेन्टिन र आइसोलेसनमा खटिएका प्रहरी कर्मचारीको पिसिआर परीक्षण गरेर मात्र मातहतको कार्यालयमा जान दिएको उनले बताए।

क्वारेन्टिनमा रहेका एसपीले कोरोना भाइरसका बाबजुद जिल्लाको शान्ति सुरक्षा र बाढी पहिरोको उद्धारमा कमी हुन नदिएको बताएका छन्।

‘कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा प्रहरी कर्मचारीमा पनि फैलिन्छ भनेर मानसिक रूपमा तयार नै थियौं,’ उनले सेतोपाटीसँग भने, ‘यति ठूलो संख्यामा फैलिएला भनेर सोचेका पनि थिएनौं।’

ठूलो संख्यामा प्रहरी कर्मचारी संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै आत्तिनुपर्ने अवस्था भने नरहेको उनले बताए।

शान्ति सुरक्षा कायम राख्न इमेलमार्फत् वा मातहतका अन्य प्रहरी कार्यालयमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको पनि उनले जानकारी दिए।

पक्राउ गर्नुपर्ने अवस्थामा पनि अन्य प्रहरी कार्यालयमै पक्राउ गरेर राख्ने व्यवस्था मिलाएको उनले बताए।

सिद्धार्थ राजमार्गको सुरक्षाका लागि वालिङ, गल्याङ, फेदीखोला र सेतीदोभान प्रहरी कार्यालयलाई जिम्मेवारी दिएको छ। अन्य स्थानका लागि नजिकका प्रहरी कार्यालयले नै समस्या समाधान गर्ने गरी परिचालन गरेको उनले बताए।

जिल्ला प्रहरी कार्यालय सिल गरेर त्यहाँ कार्यरत ९८ जना प्रहरी आइसोलेसन र क्वारेन्टिनमा रहे पनि बाहिरबाट थप सुरक्षा मगाउन नपरेको एसपीले बताए।

‘ठूलै घटना भयो भने तत्काल मगाउन प्रदेश प्रहरी कार्यालय पोखरामा टोली ‘स्ट्यान्ड बाइ’ छ,’ उनले भने, ‘अहिले मातहतकै युनिटबाट शान्ति सुव्यवस्था मिलाएका छौं।’

प्रकाशित भएको : July 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु