ओलीको भूमिका प्रगतिशील, प्रचण्डको नाजायज : मणि थापा

 

काठमाडौं । नेकपा एकीकरण हुँदा गठित ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेका २६ र तत्कालीन माओवादीका १९ सदस्य समेटिएका थिए । तीमध्ये एमालेमा प्रष्ट दुई गुट भएकाले केपी ओली पक्षमा १२ र माधव नेपाल पक्षमा १२ सदस्य प्रष्ट देखिए । बामदेव गौतम भने अस्थिर नै रहँदा उनी जता लाग्यो, त्यसको पक्षमा १३ सदस्य हुने भए ।

पूर्वएमालेभित्रको प्रष्ट विभाजनले स्थायी कमिटीमा प्रचण्डको पक्षमा सबैभन्दा बढी १९ सदस्य रहने भए । पछिल्लो समय अग्नि सापकोटा सभामुख भएपछि प्रचण्डको पक्षमा १८ सदस्य हुनुपर्ने हो । तर, सचिवालय सदस्य रामबहादुर थापा बादल पनि बामदेवजस्तै देखिए ।

बादलमात्र होइन, पूर्वमाओवादीका लेखराज भट्टले प्रचण्डलाई खुलेरै साथ छाडिसक्दा प्रचण्ड पक्षधर स्थायी कमिटी सदस्यको संख्या १६ मा झरेको थियो । तर, नेकपाभित्र उत्पन्न पछिल्लो संकट र ओलीविरुद्ध प्रचण्ड माधव गठबन्धनको निर्णायक लडाइमा भने प्रचण्डले अरु पूर्वमाओवादी नेताहरुको समेत साथ गुमाउन थालेका छन् ।

ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगन गरेपछि मंगलवार प्रचण्डको अध्यक्षतामा बसेको बहुमत स्थायी कमिटी सदस्यको बैठकमा पूर्वमाओवादीका चारजना स्थायी कमिटी सदस्य उपस्थित भएनन् । तीमध्ये एक हुन् मणि थापा ।

मणि थापा एक समय प्रचण्डभन्दा क्रान्तिकारी बनेर रविन्द्र श्रेष्ठसँगै माओवादी परित्याग गरेका नेता हुन् । पछि उनी प्रचण्ड समूहकै कोटाबाट नेकपाको स्थायी कमिटी सदस्य बने । तर, अहिले उनले आफ्नो पूर्वसमूहका नेता प्रचण्डलाई भन्दा केपी ओलीलाई प्रगतिशील देख्न थालेका छन् । प्रचण्डले माधव नेपाल समूहसँग नभई ओलीसँगै मिल्नुपर्ने थापाको अडान छ ।

पछिल्लो समय टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, चन्द्रप्रसाद खनाल र मणि थापा लगायतका नेता दुई अध्यक्षकै समझदारीमा महाधिवेशनसम्म पार्टी सञ्चालन हुनुपर्ने पक्षमा उभिएपछि उनीहरु खुमलटारबाट टाढिएको स्पष्ट हुन्छ ।

बुधवार कुराकानी गर्ने क्रममा स्थायी कमिटी सदस्य थापाले पूर्वएमालेभित्रको गुटमा खेलेर समीकरण नबनाउन सुझाव दिँदा आफूहरुलाई प्रचण्डले सल्लाह र छलफलमा बोलाउन छाडेको बताए । प्रचण्डले पुराना र सिनियर नेताहरुलाई उपेक्षा गरेका कारण आफूहरु टाढिएको उनको गुनासो छ ।

पूर्वमाओवादीभित्र अरु पनि नेताहरुले ओली र प्रचण्डबीचको समझदारीमै जोड दिएको, तर आफूहरुको सुझाव नमान्दा प्रचण्ड संकटमा फस्दै गएको थापाको विश्लेषण छ । पार्टी एकता टुंग्याउने सन्दर्भमा प्रचण्डको भूमिका सकारात्मक नदेखिएको थापाले सुनाए ।

पूर्वमाओवादी नेता थापाले भने, कमरेड प्रचण्डले जुन स्टेप चाल्नुभयो, यो पार्टी एकताको सन्दर्भमा र पछिल्लो चरणमा दुईटा अध्यक्षको बीचको द्वन्द्व व्यवथापनको सन्दर्भमा उहाँका स्टेपहरु एकतावादी भएनन् । उहाँका स्टेप समीकरण बनाएर शक्ति हत्याउन केन्द्रित भए ।

थापाले नेकपा स्थायी कमिटीमा अल्पमत र बहुमतका आधारमा निर्णय गर्ने परिस्थिति बन्यो भने त्यसको विपक्षमा अर्थात दुवै पक्षमा नलाग्नेको तटस्थहरुको संख्या बहुमतमा पुग्ने दाबीसमेत गरेका छन् ।

प्रस्तुत छ, पछिल्लो समय प्रचण्डसँग टाढिएका स्थायी कमिटी सदस्य थापासँग गरेको कुराकानी–

नेकपा स्थायी कमिटी बैठक एउटा अध्यक्षले स्थगित गर्नुभयो, अर्को अध्यक्षले बहुमत सदस्यको बैठक राख्नुभयो । स्थगन आधिकारिक हो कि बैठकचाहिँ आधिकारिक ?

ती दुवै आधिकारिक होइनन् । हाम्रो मुख्य भनाइ के हो भने दुईटै अध्यक्षले सहमतिमा बैठक बोलाउनुपर्छ र सहमतिमै स्थगन वा अन्त गर्नुपर्छ । त्यहाँ दुवैमा सहमतिमा भन्दा पनि दुईटै अध्यक्षको बीचको अन्तरविरोध देखापर्‍यो । अब त्यहाँ भेला भएपछि बैठक भन्ने कुरा त एउटा होला, तर मंगलवार जुन दृश्य देखियो, त्यो भनेको अध्यक्षबीचको अन्तरविरोधको ‘क्लाइमेक्स’ हो ।

अब यो क्लाइमेक्सले पार्टीलाई कुन दिशामा लैजान्छ ? विभाजन कि एकता ?

यसले बैठक स्थगित गर्ने कुरालाई पनि मान्यता दियो र बैठक सञ्चालन गर्ने पनि बेठिक भयो भनेन । त्यो बैठक वा भेलाले पनि दुईटा अध्यक्षबीचको सहकार्य नै पार्टीको मूल स्पिरिट हो भन्ने स्वीकार गर्‍यो । दोस्रो कुरा, त्यो बैठकले नयाँ कोर्सका बारेमा छलफल गर्‍यो ।

बामदेव कमरेडले त्यहाँ नयाँ प्रस्ताव (६ बुँदे) प्रस्तुत गर्नुभयो । त्यसले सचिवालय र स्थायी कमिटीको शक्ति सन्तुलनमा अलिकति फरक पार्‍यो भन्ने मलाई लागेको छ ।

त्यो भनेको कस्तो हो ?

नेकपाभित्र एउटा विचार, हाम्रो पार्टी एकताको मुख्य प्रिन्सिपल अनुसार सहमतिबाट नै सबैखालको निर्णय गरिनुपर्छ र अबको एकता महाधिवेशनसम्म सहमतिमा केन्द्रित हुनुपर्छ भन्ने हो । त्यो सहमति भनेको दुईटा अध्यक्षहरुको सहमति हो । अब पनि त्यही प्रिन्सिपलअनुसार जानुपर्छ भन्ने मत हो त्यो ।

अर्को मतचाहिँ अब बहुमतका आधारमा जानुपर्छ भन्ने आयो । सचिवालयमा हाम्रो बहुमत छ, स्थायी समितिमा हाम्रो बहुमत छ, केन्द्रीय समितिमा हाम्रो बहुमत छ भने बहुमतका आधारमा पार्टीभित्रको शक्ति सन्तुलनमा परिवर्तन गर्नुपर्छ भन्ने मत हो त्यो ।

तर, मंगलबारको उहाँहरु (प्रचण्ड माधव पक्ष) को बैठकले पनि सहमतिमा जानुपर्छ भन्यो । अर्को कुरा बामदेवको नयाँ प्रस्तावले सचिवालयको शक्ति सन्तुलनमा फेरबदल आयो । स्थायी कमिटीका केही कमरेडहरुले पनि सहमतिबाटै जानुपर्छ र हिजो पार्टी एकता हुनेबेला दुईटा अध्यक्षको जुन कार्यविभाजन भएको थियो, त्यही नै अहिले पार्टी एकताको आधार हो भन्नुभएको छ । मूल रुपमा हिजोको बैठकले यही कुरा स्थापित गरेको हुनाले मलाई लाग्छ, नकारात्मकबाट फेरि पनि सकारात्मक दिशामा गयो अब चीज ।

मंगलबारदेखि सचिवालयको शक्ति सन्तुलन फेरि केपी ओलीको पक्षमा गयो भन्न खोज्नुभएको हो ?

निश्चितरुपले त्यहाँ जेखालको प्रस्ताव वामदेव कमरेडबाट आयो, त्यो प्रस्ताव धेरै स्थायी समिति र केन्द्रीय समितिका सदस्यहरुको पनि भावनाअनुसार आएको छ । जनता र कार्यकर्ताको पनि दुईटा अध्यक्षको बीचको सहकार्य होस् भन्ने नै हो ।

गुटबन्दी गर्ने र विचारका आधारमा होइन, गुटबन्दीका आधारमा पावर शेयरिङ गर्ने कुरा गलत हो

हिजो त्यो कुराचाहिँ सचिवालयका एकजना जिम्मेवार नेताले प्रस्तुत गरिरहँदा त्यसले शक्ति सन्तुलनमा परिवर्तन ल्यायो र अब सहमतिकै आधारमा जानुपर्छ भन्ने कुरा स्थापित भएको छ । यसले स्थायी समिति र केन्द्रीय समितिलाई पनि प्रभावित पार्छ र यही बाटोमै जानुपर्छ भन्ने कुरा स्थापित हुन्छ ।

सचिवालयको शक्ति सन्तुलन त फेरबदल भयो होला, तर समग्रमा बहुमतलाई अल्पमतले बन्धक बनायो भन्न त सकिन्छ नि होइन ?

बहुमतको मान्यता हुँदैन भन्ने कुरा त होइन । तर, अहिले हाम्रो पार्टी एकताले पूर्णता प्राप्त गरिनसकेको परिस्थितिमा सहमतिबाट जानुपर्छ भन्ने मान्यता नै मूल कुरा हो । ‘बहुमत शो’ गर्ने साथीहरुले सहमतिबाट जानुपर्छ भन्ने कुरा भुलेर आफूलाई ‘ओभर इस्टिमेट’ गर्नुभयो । त्यो कुराले नै पार्टी एकतामा खतरा उत्पन्न भयो । तर, हिजोको उहाँहरुको बैठकबाट फेरि सहमतिकै लिकमा ल्याएको छ । यो मूल रुपमा ठीक छ ।

तपाईं मंगलबारको बहुमत स्थायी कमिटीको बैठकमा किन जानुभएन ? तपाईंलगायत पूर्वमाओवादी खेमाका चार/पाँचजना नेताको अनुपस्थिति संयोगमात्रै हो कि जानी–जानी नजानुभएको हो ?

हामी सल्लाह गरेर नगएको होइन । तर, एउटाले स्थगित गरेर अर्काले बैठक बोलाएपछि त्यहाँ अन्यौल भयो । केही अन्तरविरोध पनि भयो । त्यसकारण त्यहाँको उपस्थितिले व्यक्तिगतरुपमा त्यति धेरै मूल्य राख्दैन र यसो गरिनुहुँदैन भन्ने हामीलाई लाग्यो । अर्कोचाहिँ हामी पार्टी एकताको पक्षधर भएको हुनाले कुनै गुटमा नलागेर पार्टी एकताकै पक्षमा उभियौं । त्यहाँ केही प्राविधिक त्रुटीहरु पनि रहे ।

प्राविधिक त्रुटीहरु भन्नाले के ?

एउटाले बैठक स्थगित गर्ने, अर्कोले बोलाउने कुरा भयो । कुन चाहिँलाई हामीले सत्य मान्ने ? त्यसै दौडिने कुरा भएन ।

तर, यसले पूर्वमाओवादीका सबै सदस्यहरु प्रचण्डसँग रहेनन् भन्ने सन्देश त गयो नि ?

होइन, हामी अहिले प्रचण्डकै साथमा रहनुपर्छ भन्ने रहेन । हामी त नेकपाको साथमा रहने हो । हामी पूर्वसमूहकै आधारमा प्रचण्डकै साथमा, ओलीकै साथमा वा माधव नेपालकै साथमा बस्ने हो भने यसले नयाँ कम्युनिस्ट पार्टीको आधार बनाउन सक्दैन । त्यसरी पूर्वसमूह र पूर्वगुट समातेर बस्दा गलत हुन्छ भन्ने हाम्रो निष्कर्ष हो ।

प्रचण्डसँग तपाईं लामो सहकार्यमा रहनुभयो, उहाँले यसपटक चालेको स्टेपमा किन साथ दिनुभएन ? उहाँको पछिल्लो स्टेपप्रति तपाईंहरुको असन्तुष्टि हो ?

कमरेड प्रचण्डले जुन स्टेप चाल्नुभयो, यो पार्टी एकताको सन्दर्भमा र पछिल्लो चरणमा दुईटा अध्यक्षको बीचको द्वन्द्व व्यवस्थापनको सन्दर्भमा उहाँका स्टेपहरु एकतावादी भएनन् । उहाँका स्टेप एकताको पक्षधर र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने खालका भएनन् ।

कमरेड प्रचण्डको स्टेप पावर शेयरिङ गर्नेतर्फ मात्र भयो । उहाँले हामीले भनेको पनि धेरै सल्लाह मान्नुभएन । उहाँलाई हामीले भनेका थियौं– तपाईं समीकरणमा नजानुस् । तपाईंको झगडा परे पनि, एकता भए पनि कमरेड केपी ओलीसँगै हो ।

हामीले प्रचण्डलाई भनेका हौं– तपाईं दुईटा प्राधिकार नेता हो र हाम्रो प्रिन्सिपलले पनि दुईटै नेताको सहमति र सहकार्यलाई नै पार्टी एकताको सिद्धान्त मानेको छ । अभ्यास पनि त्यही भएकाले केपी ओलीसँगै मिल्नुस् भनेर हामीले भनेको हो ।

तर, उहाँको बढी जोड के रह्यो भने एउटा समीकरण बनाएर पावरमा पुग्ने खालको बढी अभ्यास भयो भन्ने हाम्रो विश्लेषण हो । त्यसकारण प्रचण्डसँग हाम्रो नमिलेको भनेको पार्टी एकता कसरी सम्पन्न गर्ने भन्नेमा उहाँ र हाम्रोबीच बिचार मिलेन ।

पार्टी एकताको सन्दर्भमा उहाँको भूमिका के भयो र ?

त्यहाँ अलिकति ग्याप भयो । पार्टी एकतालाई सम्पन्न गर्नुपर्छ भन्नेमा ओली कमरेडको भूमिका अलिकति प्रगतिशीलजस्तो हामीलाई लाग्यो । दुईटा अध्यक्षकै बीचको सहमति उहाँले भन्नुभयो । अब कमरेड प्रचण्डको कुरा बढी के भयो भने ओलीसँग नै मेरो संघर्ष हो । मुख्य संघर्ष ओलीसँग भएकाले यसलाई टुंगो लगाउन अरुसँग समीकरण गर्नु मेरो गल्ती होइन, जायज हो भन्नुभयो । तर, उहाँको त्यो कुरा हामीलाई जायज लागेन ।

अरुसँग समीकरण भन्नाले पूर्वएमालेभित्रको समीकरण हो ?

त्यो त प्रष्टै देखियो नि । प्रचण्ड र माधव नेपाल गुट नै बन्यो । उहाँहरुका सयौं मिटिङहरु भए । ती सयौं मिटिङहरु त्यति धेरै जायज थिएनन् । पार्टीलाई निर्माण गर्न र रुपान्तरण गर्न नेताहरुबीच बैठक हुनुपर्छ । तर, ओली कमरेडलाई हटाउने वा शक्ति आफ्नो हातमा पार्नेखालको पुरानो रुढीवादी कम्युनिस्ट खालको संघर्ष भयो यो ।

गुटबन्दी गर्ने र विचारका आधारमा होइन, गुटबन्दीका आधारमा पावर शेयरिङ गर्ने कुरा गलत हो । यो कुरामा हाम्रो उहाँसँग कुरा नमिलेकै हो । त्यो फरक मत अहिले बाहिर पनि देखिएकै छ ।

प्रचण्डले पूर्वएमालेको गुटभित्र पस्नु हुँदैन थियो । उहाँले सबै हिसाब–किताब कमरेड केपी ओलीसँगै गर्नुपर्‍थ्यो । पूर्वएमालेको जो छ, त्यसलाई केपी ओलीले व्यवस्थापन गर्नुपर्छ । पूर्वमाओवादीको प्रचण्डले नै गर्नुपर्छ । यो कहिलेसम्म भन्दा, एकता महाधिवेशनसम्म ।

अहिलेको तपाईंहरुको प्रचण्डसँगको फरकमत स्थायी कमिटीमा मतदानको चरणसम्म पुग्यो भने के हुन्छ ? प्रचण्डलाईनै साथ दिनुहुन्छ कि,अर्कै हुन्छ ?

मतदानमा त जानुहुँदैन भन्ने छ हाम्रो । हामी महाधिवेशनसम्म जाँदा दुवै अध्यक्षको अस्तित्व र मूल्यलाई कायम राख्न मेहनत गर्छौं । बहुमत र अल्पमतमा पुगियो भने त दुर्घटना भइहाल्छ । हिजो देखिहाल्नुभयो नि, उहाँहरु बहुमत र अल्पमतमा पुग्न सक्नुभएन ।

हिजो उहाँहरुको निर्णय के थियो भने स्थायी कमिटीको भेला वा बैठक जुन भयो, त्यहाँ त कमरेड केपी ओलीलाई स्थायी समितिको बहुमत देखाएर एउटा पदबाट राजीनामा दिने निर्णय गर्ने भन्ने थियो । तर, त्यो त काम लागेन । त्यो त कसैले स्वीकार गरेन र निर्णय गर्न सक्नुभएन । बरु उहाँहरुले निर्णय के गर्नुभयो भने सहमतिकै आधारमा जाने ।

अल्पमत–बहुमतमा जानुहुँदैन भन्ने संख्या स्थायी कमिटीमा निर्णायक हुन सक्छ ?

होइन होइन, बहुमतमा यो मत हुन्छ । स्थायी समितिमा हामीले मतदानको आधारमा निर्णय गर्नु हुँदैन भनेका छौं र यो संख्या बहुमतमा छ । बहुमत संख्या पार्टी एकताको पक्षमा हुन्छ । पार्टी एकता भनेको के त भन्दा दुईटा अध्यक्षकै बीचको एकता हो । दुईटा अध्यक्षकै बीचको पावर शेयरिङ हो । त्यो कसरी मिलाउनुहुन्छ, उहाँहरुको कुरा हो । हामीले सहयोग गर्नुपर्छ ।

तपाईंहरु झम्सीखेलको अँगेनोदेखि खुमलटारसम्मका भेलामा सहभागी हुनुहुन्थ्यो । तर, पछिल्लो समय प्रचण्ड निवासमा जान छाड्नुभएको कि नबोलाइएको हो ?

होइन, खुमलटारमा पछिल्लोपटक जुन भेला भयो र त्यसले १३ गतेको स्थायी समिति बैठक बस्ने या नबस्ने र बस्यो भने त्यसले के निर्णय गर्ने भन्ने कुरा निर्धारण गर्‍यो, त्यो भेलामा पूर्वमाओवादीतर्फका सिनियर नेताहरुलाई बोलाइएन । जस्तो हरिबोल गजुरेललाई बोलाइएन । टोपबहादुर रायमाझीलाई बोलाइएन । हामी त सिनियरमा पर्दैनौं, हाम्रोचाहिँ त्यति हिसाब–किताब छैन ।

तर, उहाँहरु सिनियर नेता र प्रचण्डलाई लामो समयसम्म सहयोग गरिरहेकालाई नबोलाइसकेपछि नयाँ ढंगको प्रश्न पूर्वमाओवादीभित्र उठेकै हो । यसको हल नहुँदासम्म उठ्छ ।

आशंका त यस्तो पनि छ कि पूर्वमाओवादीका नेतालाई प्रधानन्त्री ओलीले मन्त्री बनाउने लगायतका आश्वासन र प्रलोभनहरु दिनुभयो रे नि ?

त्यस्तो त होइन । हामीले आफ्नै प्रधानमन्त्रीलाई शंका गर्नुभएन । भाँडिए कि ? किनिए कि ? यस्ता कुराले राजनीतिकरुपमा ‘डेभिएसन’ हुन्छ । उहाँहरुले त्यसरी शंका गर्नुभयो भने त्यो डेभिएसन हुन्छ । हामीले एजेण्डामा समर्थन र बिरोध गर्ने हो ।

प्रचण्डले पूर्वमसालको धारासँगको सम्बन्ध विस्तारै कमजोर बनाउँदै गएको भन्ने पनि चर्चा छ नि ? तपाईं पनि पूर्वमसालको नेता होइन ?

पछिल्लो चरणमा त्यस्तोखालको भयो भन्ने छ । साथीहरुको त्यो शंका पनि होला । पुराना साथीहरुलाई भुल्ने, नयाँ साथीहरुलाई अलिकति सम्झिने भएको हो कि ? जनयुद्धबाट आएको हुनाले जनयुद्ध भएको क्षेत्रमा अलिकति उहाँको लगाव हुनु स्वभाविक छ ।

तर, उहाँले स्थितिको सही मूल्यांकन गर्नुपर्छ । नेकपा बनिसकेपछि अब सबैको इतिहासको नयाँ मूल्यांकन हुनुपर्छ । अब जनयुद्धको मूल्यांकनले मात्र पुग्दैन । जनआन्दोलनको मूल्यांकनले मात्र पनि पुग्दैन ।

प्रचण्ड अस्ति साउन ३ गते जसरी मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा सहमत हुनुभयो भनियो, एकल अध्यक्ष बन्ने कुरा पनि भयो भनियो, राष्ट्रपतिलाई भेटेपछि परिबन्दमा परेँ पनि भन्नुभयो । यस्तो किन भयो होला ?

दुईटा अध्यक्षबीचको पछिल्लो द्वन्द्वचाहिँ त्यही हो भन्ने मलाई लाग्छ । प्रचण्ड कमरेड मंसिरमा महाधिवेशन गर्ने सहमतिबाट ब्याक जसरी हुनुभयो, जुनसुकै लजिक उहाँले दिए पनि त्यो उहाँको सुविधाजनक परिस्थिति थियो । त्यहाँबाट ब्याक हुन हुन्थेन र त्यसमा कुनै दुविधा थिए भने छलफल गर्नुपर्‍थ्यो ।

उहाँहरुले त्यसलाई पूर्णता दिएर प्रस्तावकैरुपमा स्थायी कमिटीमा ल्याउने र केन्द्रीय समितिमा ल्याएर गर्ने ल्याकतबाट आउनुपर्‍थ्यो । तर, उहाँ पछि हट्नुभयो । जुनसुकै तर्कले पछि हटे पनि त्यो तर्कसम्मत भएन ।

अहिले तपाईंहरुले पार्टीमा देखाउने भूमिका र नेतृत्वलाई दिने सुझावचाहिँ के हो त ?

समग्र समाधान त चैतमा महाधिवेशन भनिएको छ, त्यो महाधिवेशन नै समग्र समाधान हो । त्योभन्दा अगाडि पार्टी एकता पूर्ण भएको छैन, त्यसलाई पूर्णता दिनुपर्‍यो । त्योबेलासम्म पार्टी एकता गर्ने बेलाको जुन सिद्धान्त बनेको थियो, दुई अध्यक्षको कार्य विभाजनको बेसलाइनमा टेकेर महाधिवेशनबाट नयाँ लिडरशीप, नयाँ पार्टी र नयाँ विचारको निर्माण गर्नुपर्छ ।

याे समाचार हामिले अनलाइन खबरबाट साभार गरेका हाैं  ।

प्रकाशित भएको : July 30th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु