कास्कीको रुपा गाउँपालिकामा किरिया बसेकी एक महिलालाई कोरोना संक्रमण पुष्टि

 

पोखरा

कास्कीको रुपा गाउँपालिकामा किरिया बसेकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

२३ वर्षीय ती महिला केही समयअघि विदेशबाट आएको र क्वारेन्टिन बसेकैबेला आमाको मृत्यु भएपछि काठमाडौंको अस्पताल पुगेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

‘संक्रमित महिला केही समयअघि विदेशबाट नेपाल आउनु भएको थियो । क्वारेन्टिन बसेकै बेला आमा बितेपछि आफैं किरिया बस्दै हुनुहुन्छ,’ ओझाले भने, ‘उहाँसँग गाडीमा आउने २ जना र परिवारका २ जनालाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।’

ओझाले महिलासँग सम्पर्कमा आएका व्यक्तिको पहिले नै कोरोना संक्रमण पुष्टि भएको उनको घर पहिलेदेखि नै सिल गरिएको जानकारी दिए ।

‘किरियापुत्री बसेको घर बाहिरका मान्छेको सम्पर्क धेरै नहोस् भनेर पहिलेदेखि नै सिल गरेका थियौं,’ उनले भने, ‘अहिले उहाँ आइसोलेसनमा गइसक्नुभएको छ ।’

रुपा गाउँपालिकामा ती महिलाहित ५ जनामा कारोना संक्रमण पुष्टि भएका छन् । जसमध्ये बाँकी संक्रमित ३ जना तराई र एक जना भारतबाट आएर क्वारेन्टिनमा बसिरहेको ओझाले जानकारी दिए ।

१५ सय पुग्यो संक्रमित संख्या

आइतबार प्रदेशभरि २० जना कोरोना संक्रमित थपिएकासँगै संक्रमितको संख्या १५ सय नाघेको छ ।

प्रदेशभरी १ हजार ५०५ कोरोना संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आइतबार कास्कीसहित गण्डकीका ५ जिल्लामा कोरोना संक्रमित पुष्टि भएका थिए ।

संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ८ जना, तनहुँका २ जना लमजुङका ३ जना र बागलुङका एकजना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कुल कोरोना संक्रमितमध्ये प्रदेशभरी हालसम्म निको हुनेको संख्या १ हजार २४५ जना छ । गण्डकीमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित भएको : August 2nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु