बैठक नै नबस्ने गरी पार्टी विर्सजनको दिशा तिर धकेलिएको नेकपा अध्यक्ष दाहालको ठहर

 

काठमाडौं,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय मान्दिन भन्दा पनि टुलुटुलु हेर्नुपर्ने विचित्रको अवस्था आएको बताउनुभएको छ ।

बुधबार ओलीइतर समूहद्वारा आयोजित अनौपचारिक पत्रकार भेटघाटमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्दिनँ भन्दा पनि हेरेर बस्नुपर्ने विचित्रको स्थिति पैदा भएको बताउनुभएको हो ।

त्यस्तै, उहाँले पार्टी बैठक नै नबस्ने विसर्जनको दिशातिर गएको र बल्लबल्ल सचिवालय बसेर गरेका निर्णयसमेत अर्का अध्यक्षले ‘म मान्दिन’ भनिदिएपछि ठूलो संकटतिर पार्टी भएको बताउनुभयो ।

यसका साथै पार्टीसँग सल्लाह–बहस नै नगरी प्रधानमन्त्री आलीले निर्णय गर्न थालेको पनि बताउनुभयो ।

आफूले गरेको निर्णयलाई सरप्राइजली हटाइदिने, कोही मानिस (अफिसर, ब्युरोक्र्याट्स, नोकरशाह) त्यसलाई डिमोसनलगायतका आफूसँग बदला लिन थालिएको पनि उहाँले बताउनुभयो ।

त्यस्तै, बरिष्ठ नेता झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीमा सैद्धान्तिक अधःपतन देखिएको आरोप लगाउनुभएको छ ।

उहाँले तीनवटा बजेट, नीति कार्यक्रमले नै ओलीले सैद्धान्तिक अधःपतनको दिशा समातेका बताउनुभएको हो ।

यस सरकारले विकास, निर्माण गर्न सकेको खण्डमा समयमै नेतृत्व लिन सक्ने र अढाइ वर्षमै जति पनि काम गर्न सकिने उहाँको भनाइ छ ।

ओली नेतृत्वको सरकार गलत बाटोमा हिँडेकाले त्यसको विरुद्ध सचिवालयका सदस्यहरू एकजुट भएको र छलफलको माग गरेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

त्यस्तै, उहाँले कम्युनिस्ट पार्टीको सचेत प्रयत्न नभई समाजवादमा जान नसकिने तथा राजनीतिक रूपले दिशाहीन र सैद्धान्तिक रूपले पनि अधःपतन नै देखिने पनि बताउनुभयो ।

प्रकाशित भएको : August 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु