आरएसडिसीको खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

 

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ।

सो अवधिसम्ममा लघुवित्तले ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा पनि बढेको हो।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको मसान्तमा १० रुपैयाँ १३ पैसा रहेको यस्तो आम्दानी गत आर्थिक वर्षमा बढेर ११ रुपैयाँ ७५ पैसा कायम भएको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ८४ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात ४६.१४ गुणा कायम भएको छ।

असार मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ६७ करोड १५ लाख रुपैयाँ रहेको छ। लघुवित्तको जगेडा कोषमा १४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्ष लघुवित्तको जगेडा कोषमा १६ करोड ९२ लाख रुपैयाँ रहेको थियो।

सो अवधिसम्ममा लघुवित्तले २ अर्ब ६० करोड ६९ लाख रुपैयाँ सापटीबाट २ अर्ब ८५ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यस बापत लघुवित्तले १४ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तले अघिल्लो आर्थिक वर्ष १ अर्ब ८० करोड सापटीबाट २ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरी १२ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

असार मसान्तसम्ममा लघुवित्तले १० करोड ५१ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ जुन गत अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६ लाख २१ हजार रुपैयाँ बढी हो। लघुवित्तको निष्क्रिय कर्जा ०.२५ प्रतिशतबाट बढेर ०.२९ प्रतिशत पुगेको छ। लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा २ करोड ६० लाख रुपैयाँ छुट्याएको छ भने १ करोड ३६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

प्रकाशित भएको : August 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु