धादिङको पृथ्वी राजमार्गमा एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका गाडीमात्रै चल्ने

 

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमित बढेपछि उपत्यका भित्रिने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा कडाइ गरिएको छ।

धादिङको सुरक्षा समिति बैठकले एम्बुलेन्स र अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई मात्रै पृथ्वी राजमार्गमा चल्न दिने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लले अर्को व्यवस्था नभएसम्म पृथ्वी राजमार्गमा कडाइ गरिएको जानकारी दिए।

‘एम्बुलेन्स र खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई मात्रै आवतजावत गर्न दिने निर्णय भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘चितवन र धादिङको सीमा मौवाखोलादेखि धादिङ र काठमाडौंको सीमा पिपलामोडसम्म (पृथ्वी राजमार्गमा) चल्न नदिने निर्णय भएको हो।’

काठमाडौंमा कोरोना संक्रमित बढेकोले यस्तो निर्णय गर्नुपरेको उनले जानकारी दिए।

सुरक्षा समितिको बैठक बुधबार बसेको उनले बताए।

आज बिहानदेखि अर्को आदेश नभए सम्मका लागि पिपला मोडदेखि मौवाखोलासम्म निषेधाज्ञा जारी गर्दै मालवाहक सवारी साधन र एम्बुलेन्स बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको उनले बताए।

प्रकाशित भएको : August 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु