कोरोनामा नयाँ प्रयोग: निको भइसकेका बिरामीको रगतमा ‘एन्टिबडी’ परीक्षण गर्न अनुमति दियो अमेरिकाले

 

कोरोना भाइरस उपचार गर्न अमेरिकाले निको भइसकेका बिरामीको शरीरमा विकास हुने ‘एन्टिबडी’ परीक्षण सुरू गरेको छ।

अमेरिकाको खाद्य तथा औषधि विभाग ‘फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन’ ले बिहीबार यस्तो परीक्षण गर्न अनुमति दिएको हो।

डाक्टरहरूका अनुसार, कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति (एन्टिबडी) विकास भइसकेको हुन्छ। अर्कोचोटि त्यही भाइरसले आक्रमण गर्यो भने उसको प्रतिरोधात्मक शक्तिले भाइरसलाई परास्त गर्न सक्छ।

डाक्टरहरूले त्यस्ता व्यक्तिको रगत संकलन गरी भाइरसको जीनसँग मिल्दोजुल्दो ‘एन्डिबडी’ परीक्षण गर्नेछन्। यसले ती व्यक्तिमा भाइरससँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता विकास भएको छ कि छैन थाहा हुनेछ।

यो परीक्षण विभिन्न कारणले महत्वपूर्ण छ।

पहिलो, अहिलेसम्म हामीलाई कोरोना भाइरस कुन हदसम्म फैलिएको छ भन्ने यकिन जानकारी छैन। जो व्यक्ति गम्भीर बिरामी भएर अस्पताल आए वा जसको औपचारिक परीक्षण भयो, उनीहरू मात्र संक्रमितको गणनामा परे।

कतिलाई संक्रमण भए पनि लक्षण नदेखाउन सक्छ। वा, केही समय सामान्य बिरामी परेर आफैं निको हुन सक्छन्। त्यस्ता व्यक्ति गणनामा पर्दैनन्।

‘एन्टिबडी परीक्षणबाट भाइरस संक्रमण कुन हदसम्म फैलिएको रहेछ भनेर आकलन गर्न सकिन्छ,’ सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका सरुवारोग विशेषज्ञ डा. कार्ल बर्गस्ट्रोमले भने, ‘यसले संक्रमण र मृत्युदरको वास्तविक तथ्यांक आउँछ।’

दोस्रो, कुनै लक्षण नदेखाई संक्रमित भइसकेका व्यक्ति पनि भाइरससँग डराएर बसेका हुन सक्छन्। त्यस्ता व्यक्तिलाई फेरि यस्तै खालको भाइरसले आक्रमण गर्न सक्ने जोखिम कम हुन्छ। संक्रमण भइहाले पनि त्यति गम्भीर असर नदेखिन सक्छ।

यो परीक्षणबाट जुन व्यक्तिमा एन्डिबडी फेला पर्यो, उनीहरू भविष्यमा सुरक्षित ढंगले आफ्नो घरबाट निस्केर कामकाजमा जान सक्छन्।

चीन, सिंगापुर लगायत देशमा यस्तो परीक्षण हुँदै आएको छ। चीनको अनुभव हेर्ने हो भने, भाइरस संक्रमणबाट निको भइसकेका अधिकांश व्यक्तिमा एन्टिबडीको मात्रा उच्च पाइएको छ। निको भएका धेरै बिरामीको रगतमा एक महिनाभित्र राम्रो एन्डिबडी विकास हुने चिनियाँ अध्ययनले देखाएको छ।

यो अनुसन्धानमा खासगरी दुईवटा एन्टिबडी परीक्षण गरिन्छ। पहिलो, ‘इम्युनोग्लोबुलिन एम’, जुन हाम्रो शरीरले संक्रमण भएको केही दिनपछि विकास गर्छ। अर्को, ‘इम्युनोग्लोबुलिन जी’, जसले भाइरस आक्रमणसँग लड्न मद्दत गर्छ।

यो परीक्षणले १५ मिनेटमै नतिजा देखाउँछ। तर, एन्टिबडी छ भन्दैमा कोरोनासँग लड्ने प्रतिरोधात्मक क्षमता विकास भइसक्यो भनी ग्यारेन्टी नहुने वैज्ञानिक बताउँछन्।

न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका भाइरल विशेषज्ञ डा. एन्जेला रसमुसिनका अनुसार यस्तो परीक्षणबाट एन्टिबडी विकास भए-नभएको खुट्टिए पनि त्यसले भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता देखाउँछ कि देखाउँदैन यकिन हुन्न।

कतिपय संक्रमित व्यक्तिमा बलियो प्रतिरोधात्मक क्षमता विकास भएको हुन्छ भने कतिपयमा हुँदैन। प्रतिरोधात्मक क्षमताले कति समय काम गर्छ भन्ने पनि वैज्ञानिकहरूलाई अहिलेसम्म थाहा छैन।

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले निको भइसकेका व्यक्तिको एन्टिबडीलाई कोरोनासँग जुधिरहेका बिरामीको रगतमा हालेर उपचार गर्न सकिन्छ कि सकिन्न भनेर परीक्षण गर्न यसअघि नै अनुमति दिइसकेको छ।

न्यूयोर्कको म्यानहटनस्थित माउन्ट सिनाई अस्पतालले यो परीक्षण गर्दैछ। उक्त अस्पतालले मध्यम खालको लक्षण देखिएका र सास फेर्न अप्ठ्यारो बिरामीमा परीक्षण गर्न लागेको त्यहाँका अध्यक्ष तथा प्रमुख कार्यकारी डा. डेभिड एल रिचले बताएका छन्। भर्खर लक्षण देखिएको वा जटिल अवस्थामा पुगिसकेका बिरामीलाई परीक्षणमा सामेल गराइने छैन।

न्यूयोर्कका अस्पतालहरूले निको भएर गइसकेका व्यक्तिलाई अनुसन्धानमा सरिक हुन आह्वान गरेका छन्। यसमा दुई हजारभन्दा बढीको प्रतिक्रिया आइसकेको छ।

यसको निम्ति पाँचवटा मापदण्ड तोकिएका छन्। पहिलो, ती व्यक्तिहरू बिरामी हुँदा कोरोना भाइरस ‘पोजिटिभ’ हुनुपर्छ। दोस्रो, उनीहरू भाइरस संक्रमणबाट निको भइसकेको हुनुपर्छ। तेस्रो, १४ दिन कुनै कसिमको लक्षण देखिएको हुनुहुँदैन। चौथो, अहिले गरिने कोरोना परीक्षणमा ‘नेगेटिभ’ नतिजा आएको हुनुपर्छ। र, पाँचौं, उनीहरूको रगतमा भाइरससँग लड्ने ‘एन्टिबडी’ को मात्रा उच्च हुनुपर्छ।

अनुसन्धानमा छनौट हुने व्यक्तिलाई ‘प्लाज्मा’ दान गर्न रगत केन्द्रमा पठाइनेछ। यो विधि रक्तदानसँग मिल्दोजुल्दो छ। एउटै मात्र फरक भनेको, यसमा बिरामीको शरीरबाट निकालिने रगतलाई एउटा मेसिनमा पठाइन्छ, जहाँ त्यो रगतबाट ‘प्लाज्मा’ निकाल्ने काम हुन्छ। ‘प्लाज्मा’ निकालेपछि रगतको रातो र सेतो कोषिकालाई फेरि दाताकै शरीरमा फिर्ता हालिन्छ।

यसका लागि दाताको दुवै हातमा सुई रोपिन्छ। एउटा हातबाट रगत बाहिर तानिन्छ। त्यो रगत ‘प्लाज्मा’ संकलन गर्ने मेसिन हुँदै अर्को हातको सुईबाट बिरामीकै शरीरमा छिर्छ। सामान्यतया ६० देखि ९० मिनेटमा यो प्रक्रिया पूरा हुन्छ। एक व्यक्तिबाट संकलन गरिने ‘प्लाज्मा’ तीन जना बिरामीको उपचारलाई पर्याप्त हुनेछ।

यसरी निको भइसकेका बिरामीको रगतबाट ‘एन्टिबडी’ निकाल्दा उसको प्रतिरोधात्मक क्षमतामा असर पर्छ कि पर्दैन?

जवाफमा न्यूयोर्क ब्लड सेन्टरका प्रमुख कार्यकारी डा. ब्रुस साचाइसले भने, ‘कुनै पनि व्यक्ति एकचोटि भाइरस संक्रमणबाट निको भइसकेपछि उसको शरीरमा पर्याप्त एन्टिबडी विकास भएको हुन्छ। त्यसमध्ये केही एन्टिबडी झिक्दैमा उसको प्रतिरोधात्मक क्षमता तलमाथि हुँदैन। उसको भाइरससँग लड्ने क्षमता कायम रहन्छ।’

उनले यो पनि भने, ‘हाम्रो यो प्रक्रियाबाट उसको २० प्रतिशत एन्टिबडी कम हुनसक्छ। तर, केही दिनमै फेरि उही स्तरमा फर्किहाल्छ।’

सबै परीक्षण पार गरेपछि त्यो ‘प्लाज्मा’ तुरुन्तै बिरामीलाई दिन सकिन्छ वा जमाएर राख्न पनि सकिन्छ। प्रत्येक बिरामीलाई एक युनिट ‘प्लाज्मा’ दिइनेछ, जुन एक कप बराबर हुन्छ। त्यसलाई बिरामीको शरीरमा रगतजस्तो थोपा–थोपा गरी दिइन्छ। जसरी रगत दिँदा दिने र लिने दुवैको समूह एउटै हुनुपर्छ, ‘प्लाज्मा’ दिँदा पनि दुवैको समूह मिल्नुपर्छ।

प्रकाशित भएको : April 4th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु