नेकपा एमाले दर्ता प्रक्रिया अन्तिम चरणमा, निर्वाचन आयोगमा सदस्यहरुको प्रमाणित कार्य सम्पन्न

 

काठमाडौं, ३० साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) भित्रको विवाद चरमोत्कर्षमा पुगिरहेको समयमा नेकपा एमाले नामको दलले भने निर्वाचनमा आयोगमा दर्ता प्रक्रिया कार्य पूरा गरेको छ ।

गत असार १४ गते दल दर्ताका लागि निवेदन दिएको नेकपा एमालेले आज दलमा रहेका सबै सदस्यहरुको निर्वाचन आयोगमा प्रमाणित गर्ने कार्य सम्पन्न गरेको छ ।

‘अब दल दर्ताको प्रमाणपत्र मात्र लिन बाँकी रहयो , बाँकी सबै काम पूरा भएको छ , प्रस्तावित दल एमालेका महासचिव मनिष कुमार उपाध्ययले बताउनुभयो ‘ दर्ता प्रमाणपत्र लिए पछि संगठनको काममा लाग्छौं ।’

मदन भण्डारी स्मृति दिवसको दिन पारेर असार १४ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि सत्तारुढ नेकपा भित्र नेकपा एमाले कस्को संकेतमा दर्ता हुन लागेको भन्दै चर्को वहस भएका थियो ।

प्रधानमन्त्री निवास वालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बसिरहेको वखत एमाले निर्वाचन आयोग पुगेपछि धेरैको औला प्रधानमन्त्री केपी शर्मा ओली तर्फ ठडिएको थियो ।

‘हामीले कसैको उक्साहटमा लागेर दर्ता गरेका होइनौ’ महासचिव उपाध्ययले भन्नुभयो ‘ मदन भण्डारीको विचारबाट प्रभावितहरुको उपस्थिति हाम्रो दलमा छ तर हामीलाई कसैको आर्शीवाद आवश्यक छैन । ’

नवगठित एमालेको अध्यक्षमा सन्ध्या तिवारी रहनु भएको छ भने सातै प्रदेशका कमिटी पनि गठन गरिएका छन् ।

निर्वाचनमा आयोगमा आज दलका सबै सदस्यहरु पुगेर उपस्थिति प्रमाणित गर्ने कार्य गरेका छन् ।

यस्तै प्रदेश कमिटीको माइन्यूट पनि आज निर्वाचन आयोगमा पेश गरिएको महासचिव उपाध्ययले जानकारी दिनुभयो ।

प्रकाशित भएको : August 14th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु