कोरोना जोखिम बढ्न लागेपछि भरतपुर महानगरले गर्याे यस्ताे निर्णय

 

चितवन,

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगरपालिका क्षेत्रभित्र शनिबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

शुक्रबार भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवनसहित जिल्लाका सरोकारवाला निकायबीच भएको छलफलबाट भरतपुर महानगरपालिका क्षेत्रभित्र शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने गरी निशेधाज्ञा जारी गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

संक्रमणको जोखिमलाई हेरेर एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय भएको उहाँले बताउनुभयो । निषेधाज्ञा जारी भएपछि शनिबारदेखि निषेधाज्ञा खुला नभएसम्म भरतपुर महानगरपालिकाभित्र चल्ने सबै सार्वजनिक यातायातका साधन पुनः बन्द हुनेछन् ।

उद्योग तथा कलकारखाना सञ्चालनमा पनि भित्र बाहिर गर्न नपाइने गरी चलाउन पाइने छलफलले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।

‘कलकारखाना चलाउनेहरूले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर भित्रै बस्ने गरेर मात्रै चलाउन पाइनेछ,’ उहाँले भन्नुभयो, ‘अन्यथा बन्द गर्नुपर्ने अवस्था पनि आउन सक्छ ।’ निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने उहाँको भनाइ छ ।

प्रकाशित भएको : August 14th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु