आर्थिक अभावका कारण मिर्गौला पीडित रविको उपचारमा समस्या, परिवार विचल्लीमा

 

पाल्पाको रम्भा गाउँपालिका–३ पिपलडाँडाका २५ वर्षीय रवि विकको दुवै मिर्गौला फेल भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।

दुवै मिर्गौलामा समस्या देखा परेपछि अस्पताल धाउदा धाउदै ६/७ लाख रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ ।

परिवकारको आर्थिक अवस्था कमजोर भएकै कारण रविको उपचारमा समस्या भएको हो । उनको साथमा श्रीमती र एक ४ वर्षीय छोरा रहेका छन् । कमाउने मान्छे आफै थला परेपछि परिवारको विचल्ली भएको रविको गुनासो छ ।

आफन्त तथा गाउँलेहरुको सहयोगले अस्पताल जाने/आउने र सामान्य उपचार गर्दै आएका छन् ।

तर, पनि सामान्य डायलासिस गर्नको लागि अस्पताल जान र आउनसमेत खर्च जुटाउन गाह्रो भइरहेको अवस्थामा मिर्गौला प्रत्यारोपण सपना जस्तै बनेको छ ।

गाडी चलाउने काम गर्दै आएका रविको एक्कासि आँखा धमिलो हुदै गएपछि अस्पताल जाँदा आफ्नो दुवै मृगौला खराब भएको थाहा पाए । अस्पतालले डायलासिस गर्नुपर्छ, भन्ने सुझाव दिदा सुरुमा उनले पत्याउनै सकेनन् ।

त्यस्तै, घरमा गएर बसेको ३/४ दिनपछि हात खुट्टा कम चल्ने, पेट फुलिनेलगायतका लक्षण देखा पर्न थालेपछि गाउँले र आफन्तहरु सबैको सहयोगमा उपचारका लागि काठमाडौं लगिएको पीडित विककी आमाको भनाइ छ ।

“अब केही बाँकी छैन, भएभरको पैसा सकियो । अस्पताल जाने गाडीभाडा समेत छैन” उनले भने ।

सरकारले मिर्गौला पीडितलाई निशूल्क डायलासिस गर्ने भनेपनि विकले ३ पटकसम्म आफैले पैसा तिरेर डायलासिस गरेको बताए ।

“निशूल्क त भन्ने मात्र रहेछ । जता गएपनि पैसा नभए केही नहुँदो रहेछ” गाउँपालिकाले सिफारिस गरिदिएपछि एक पटक भने निशूल्क पाल्पामै डायलासिस गरेको विकले बताए ।

केही आर्थिक सहयोग जुटेमा उपचारमा सहज हुन्थ्यो कि भन्ने रविमा उनका परिवारको आशा छ ।

मिर्गौला पीडित रविका दाईका छोरालाई पनि मिर्गौलाको समस्या छ । उनका दाईका छोराले विगत ४ बर्षदेखि औषधि खाँदै आइरहेका छन् ।

प्रकाशित भएको : August 15th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु