म माओवादीलाई समेत एउटै धारमा ल्याउने मान्छेले गुट चलाएको देख्नुभयो ? : प्रम ओली

 

सत्तासीन नेकपाभित्र चर्कंदो घर झगडाले एकताको २६ महिनामै कतै पार्टी नै विभाजन त हुँदैन भन्ने आशंका व्याप्त छ। प्रधानमन्त्री एवं अध्यक्ष केपीशर्मा ओलीले पार्टी विभाजन नहुने बताएका छन्।

गत असार १० देखि सुरु भएको पार्टी स्थायी समितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरूले प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको थियो।

साउन १३ मा स्थायी समिति बैठक नै एउटा पक्षले स्थगित गर्ने र अर्काे पक्षले बोलाउने दोहोरीका बीच विवाद समाधानको थप सूत्र फेला परेको छैन।

प्रधानमन्त्री ओलीले अन्नपूर्ण मिडिया गु्रपको एपीवान एचडी टेलिभिजनमा सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा शो’ कार्यक्रममार्फत वरिष्ठ पत्रकार भूषण दाहालले गरेको अन्तर्वार्तामा अबको पाँच दिनभित्रै नेकपाभित्रको सिनारियो नै नयाँ खालको देखापर्ने दाबी गरेका छन्। प्रस्तुत छ, उक्त अन्तर्वार्ताको सम्पादित अंश :

प्रधानमन्त्रीज्यू, वेलकम टु द ब्राभो डेल्टा सो।

थ्यांक यु।

अहिले अलि अप्ठ्यारो समय छ, म मास्क लगाएरै प्रश्न सोध्ने अनुमति चाहन्छु।

ठीक छ।

प्रधानमन्त्रीज्यू यसभन्दाअघि करिब आधा वर्षअघि यसरी नै एउटा अन्तरंग कुराकानी गर्ने मौका जुरेको थियो। त्यतिबेला प्रधानमन्त्रीज्यूको स्वास्थ्य बारेमा सबैभन्दा धेरै पब्लिक कन्सर्न थियो। मिर्गौलाको दोस्रो प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएर हुनुभयो। तपाईंलाई कतिपय नेपाली र नेपालबाहिर पनि ‘मेडिकल मिराकल’ हो भन्छन्, हुन त यो चिकित्सकीय चमत्कार नै हो। अहिले स्वास्थ्य अवस्था कस्तो छ ? इफ यु डन्ट माइन्ड।

स्वास्थ्य देखिराख्नु भएको छ। कुनै प्रकारको समस्या छैन। अहिलेको किड्नी ट्रान्सप्लान्ट भन्दा अघिल्लो पटक प्रत्यारोपण गरेको किड्नीले लगभग १३ वर्ष काम गरेको थियो। एक वर्षजति केही समस्या देखिएको थियो। मैले भनेको थिएँ, दोस्रो ट्रान्सप्लान्ट आजको जमानामा ठूलो कुरा होइन। त्यो सहज ढंगले हुन्छ।

मेडिकल मिराकल त त्योभन्दा अघिल्लो पटकको इन्फेक्सनको जुन अप्रेसन भएको थियो, त्यो मेरा लागि खतरनाक थियो, मेडिकल मिराकल जस्तो थियो। यो दोस्रो पटकको ट्रान्सप्लान्ट ठूलो कुरा होइन।

मानिसले भन्ने गरेका छन्, कहिले अमेरिका, कहिले कहाँ भने, म जुन उपचार यहाँ हुन्छ, त्यसकै लागि बाहिर जान्न। यहाँ उपचार नहुने रोगको लागि मात्रै म बाहिर जान्छु। नेपालमै सम्भव हुने भएकाले दोस्रो प्रत्यारोपण यहीं गराएँ, नेपालकै डाक्टरबाट, नेपालकै अस्पतालमा नेपालकै साधन प्रयोग गरेर।

तर मिराकल होइन भनिरहँदा पनि दोस्रो प्रत्यारोपणपछि पनि कोही पनि मान्छे १५ दिनअघि आफ्नो एक्टिभ काममा फर्कन सक्दैन भन्छन्।

अँ, सक्दैन।

तपाईं त फर्किदिनुभयो नि ? कतिपयले भन्छन्, प्रधानमन्त्रीको आत्मविश्वास चाहिँ मिराकल्स छ भन्छन् नि ?

त्यो पनि होला अलिकति। म अनुमान गर्न सक्छु। मैले स्वास्थ्य विज्ञानसम्बन्धी थोरबहुत जानकारी लिएको छु। त्यसको विविध पक्षको विश्लेषण गरेर निष्कर्ष निकाल्छु। त्यसकारण म अप्रेसनमा जानुअघि स्वस्थ भएर फर्कने सुदृढ आश्वासन जनसमक्ष गरेको थिएँ, विश्वास दिलाएको थिएँ। त्यो त्यत्तिकै थिएन।

आफूलाई बिरामी नै ठान्ने हो भने, चारपाँच महिनापछि बेडबाट उठ्छ। सिसाको फ्रेमभित्र बसेजसरी बस्छ। जसरी अहिले हामी कोभिड —१९ को सन्दर्भमा बसेका छौं। त्यसरी नै संक्रमणको खतरा बढी हुन्छ, हामीले अलि बढी ध्यान दिनुपर्छ। क्रमशः प्राकृतिक इम्युन सिस्टम आन्तरिक रूपमा विकास पनि गर्नुपर्छ।

अलिकति तातो लाग्न नहुने, अलिकति चिसो लाग्न नहुने खालको पनि हुनुहुँदैन। नियमित रूपमा औषधी सेवन गर्नुपर्छ। त्यति गरेपछि किड्नी रिजेक्सनको खतरा हुँदैन। रिजेक्सनको खतरा नभएपछि किड्नीले राम्रो काम गर्छ।

मुलुकले भोग्नुपरेको स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका बेला तपाईंको पार्टी आन्तरिक समस्याबाट गुज्रिरहेको छ नि ?

आन्तरिक समस्या डोकाले छोपेजस्तो छोप्न चाहन्न। यतिबेला देश बाढीपहिरो र कोरोना महामारीबाट ग्रसित छ। सबै यतातर्फ केन्द्रित हुुनुपर्छ। केही समस्या भए भोलिका दिनमा तिनीहरूको समाधान गर्न सकिन्छ।

नेकपाभित्र अहिले देखिएको विवाद अनुचित, असामयिक र असान्दर्भिक छ। त्यो कुराको तमासा हेर्दा जनता खुसी छैनन्। यस्ता कुराप्रति जनताको विरोध छ, आक्रोश छ। त्यसलाई व्यवहारबाट नै हटाउन सकिन्छ। जनताको सेवामा आफूलाई समर्पित गरेर हटाउन सकिन्छ।

राष्ट्रिय मूलमार्गमा तगारोको काम गरिरहेको छ, त्यो अब सकिसक्यो भन्ने आश्वस्तता हो ?

समस्या केही होइन, त्यसलाई बनाइएको हो। केही छन् भने पनि समाधान गर्न सकिन्छ नि।

अरूको पार्टी पनि फुटाउने अनि आफ्नो पार्टी पनि फुटाउन लागेको आरोप तपाईंमाथि लाग्यो नि ?

म संसदीय दलको नेता हुनुअघि हाम्रो पार्टी निर्णायक भूमिकामा थिएन। विभिन्न आलोचना भइरहेका थिए।

म दलको नेता भइसकेपछि सांगठानिक, वैचारिक र राजकीय रूपमा पनि देशलाई कसरी अगाडि बढाउने, विकास कसरी गर्ने भन्ने सन्दर्भमा, अग्रगमन, आर्थिक, सामाजिक, सांस्कृतिक र कूटनीतिका सन्दर्भमा हाम्रो भूमिका प्रभावकारी र सशक्त बनेको छ। सबै कुरा राम्रो मात्रै भएको छ भनेर म भन्दिन। म आलोचना पनि स्वीकार गर्छु।

सरकार, पार्टी जुटाउन फुटाउने काम बिचौलियाले गर्छन् रे। नीति निर्माणमा उनीहरूको हस्तक्षेप छ भन्ने सुनिन्छ। सबै काम बिचौलियाले गर्ने हो भने सरकार र प्रतिपक्षी दल किन चाहियो ?

राजनीतिमा बिचौलियासँग म आफू चलेको छैन, अर्काेले चलाएको छ भने ककसले सोच्छ मलाई थाहा छैन। तर म अरूद्वारा सञ्चालित र अरूका लागि काम गर्दिन्।

चाहे त्यो देशभित्रको होस् या बाहिरको कुरा। बिचौलिया हुन् कि मझौलिया म वास्ता गर्दिन। यी निराधार कुरा हुन्। मेरो जीवन खुला किताब जस्तै छ। म सत्यविरुद्ध लड्दिन तर शक्तिसँग झुक्दिन।

प्रधानमन्त्रीले खुल्ला किताब भन्नुभयो। त्यो किताबको एउटा पानाचाहिँ आफ्ना लागि दण्ड दिनुभन्दा दण्डहीनतामा लिप्त छ प्रधानमन्त्री भन्ने आरोप छ नि ?

एउटा उदाहरण देखाइदिनुस् न ? के कुरामा दण्ड दिनुपर्ने अनि के कुरामा दण्डबाट जोगायो ?

त्यसो भए त्यस्तो केही छैन ?

केही पनि छैन। दण्ड पाउनुपर्ने दण्डित भएकै छन्। नपाउनुपर्नेले पाएका छैनन्।

किन यस्तो आरोप तपाईंमाथि लाग्छ ?

कसैलाई मेरो अनुहार मन नपरेर होला। सबैलाई सबैको अनुहार मन नपर्न सक्छ। नत्र तथ्यका आधारमा कुरा गरौं। म तपाईंको मिडियामार्फत् तपाईंको मान्छे मेरो पछाडि लगाउन आग्रह गर्छु। समाचार सिर्जना नगर्नुस्। भएको मात्र छाप्नुस्।

गुट चलाउनु हुन्न प्रधानमन्त्रीज्यू ?

म माओवादीलाई समेत एउटै धारमा ल्याउने मान्छेले गुट चलाएको देख्नुभयो ? गएको चुनावमा एउटा गुट चलाएको देख्नुभयो कि मेचीकाली अभियान चलाएको देख्नुभयो ? मेचीकाली जनसागर उर्लेको देख्नुभयो ? देश ड्राइभ गर्न हिँडेको मान्छे सानो गुट चलाएको देख्नुभयो ? म संसदीय दलको नेता पनि निर्वाचन जितेर आएको हुँ। अध्यक्ष पनि लडेर भएको हुँ। म भन्दा अघि त लड्ने चलन थिएन नि। लोकप्रिय मान्छे अगाडि बढ्न दिने चलन थिएन।

प्रधानमन्त्रीले यसअघि गरेका सहमति कार्यान्वयन गर्नुभएन भन्ने आरोप किन लाग्यो ?

मलाई आफूले बोलेका शब्दबाट पछाडि हट्न आउँदैन। मेरो कठिनाइ त्यो छ। कहिलेकाहीं राजनीतिमा साथीभाइले मेरो आफ्नो सम्बन्धमा गरेका वचनबद्धताबाट पछाडि हट्दिन। नाफा—नोक्सान जेसुकै होउन्।

मेरो आफ्नो सम्बन्धमा कहिलेकाहीं फरक पार्छन्। मेरा इच्छा कहिलेकाहीं परिस्थितिले फरक पार्छन्। मैले ६५ वर्षको उमेरमा अवकाश लिन खोजेको थिएँ तर परिस्थितिले दिएन।

मेरा साथीहरूले त्यो इजाजत मलाई दिएनन्, मेरो इच्छा थियो। कसैको नैतिक बन्धन हुन्छ। कसैको इमानको बन्धन हुन्छ। बाचाको बन्धन हुन्छ। अनेक प्रकारका बन्धन हुन्छन्। मबाट कुनै बाचा बन्धन भत्किँदैनन्।

बन्धन तोडिएको अवस्था होइन, त्यसो भए पार्टीभित्र ?

बिल्कुल होइन। मबाट तोडिँदैन।

तपाईंले अहिलै व्यक्त गरिरहनुभएको पार्टीगत भावना जुन छन्, यसले तपाईंको पार्टीमा अहिले देखिएको विवाद मिलाउन/जोड्न मद्दत गरिरहेको छ कि फेरि फाटो ल्याउन मद्दत गरिरहेको छ ?

यसले जोड्न मद्दत नै गर्छ। किनभने हामी कुनै हाइपोथेसिसमा बाँचिरहेका छैनौं। म तपाईंलाई भनिरहेको छु– पार्टीभित्रको समस्या कुनै ठूलो समस्या होइन, यसलाई हामीले समाधान गर्न सक्छौं, गर्नुपर्छ। देशको आवश्यकता, जनताको आवश्यकता, भावनालाई हेर्नुपर्छ, त्यसलाई कदर गर्नुपर्छ र हामी अगाडि बढ्नुपर्छ। म कसैप्रति आरोप लगाइरहेको छैन। अस्ती पत्रकार सम्मेलन भयो, मैले कुनै जवाफ पनि दिइनँ।

तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनुभएको छ। म चुप लागेर बसेको छु। मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ। कतिपय साथीहरू फुटे फुट्छ, आदि/इत्यादि जस्ता अभिव्यक्ति पनि दिएर पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार होऊ भन्ने खाललै अभिव्यक्ति दिइरहनुभएको छ। मैले त्यसको कुनै जवाफ दिएको छैन। म के भन्न चाहन्छु भने पार्टी फुट्दैन। पार्टी फुटाउन कसैले सक्दा पनि सक्दैन।

तपाईं हामीलाई यस्तो बताइरहनुभएको छ, तर बाहिर केसम्म पनि हल्ला छ भने प्रधानमन्त्री केपी ओलीले कापीमा पार्टी फुटिसकेपछिको नयाँ चुनाव चिन्ह समेत बनाइसक्नुभएको छ ?

(हाँसो) कुनै पार्टी नयाँ पार्टीका रूपमा परिणत भयो भने, विघटन भयो भने वा अर्काे पार्टीमा विलय भयो भने त्यस पार्टीको नाममा एक वर्षसम्म अर्काे पार्टी कसैले खोल्न पाउँदैन। त्यो चिन्ह अर्काेले लिन पाउँदैन भन्ने छ कानुनी व्यवस्था। जुन पार्टीहरू मिल्दा चुनाव चिन्ह लिए, त्यो पार्टीहरू मिल्दा लिएको चिन्ह छँदैछ। हाम्रो सूर्य चिन्ह हो, छँदैछ।

तपाईंलाई म फेरि एकपटक सम्झाउन चाहान्छु– म बहुमतबाट निर्वाचित अध्यक्ष हो, हिजो नेकपा एमाले हुँदा। एमालेको अध्यक्षको हैसियतले म र माओवादी केन्द्रको अध्यक्षको हैसियतले पुष्पकमल दाहालजी दुटा अध्यक्ष रहने गरी व्यवस्था हामीले गरेको हो महाधिवशेनसम्मका लागि। यो महाधिवेशनसम्मका लागि गरिएको प्रबन्ध हो, सधैंका लागि होइन।

बीचमा कुनै कमिटमेन्ट थिएन आधाआधी प्रधानमन्त्री बन्ने ?

त्यस्तो कमिटमेन्ट थियो।

अब के ती सबै सकिए ?

हामीले बीचमा थप केही सम्झौता गर्‍यौं। सहमति थप गर्‍यौं, बनायौं। मेरो तर्फबाट कुनै डिमान्ड छैन। जो थप सहमति भए ती प्रचण्डजीले नै भन्नुभएकाले भएका सहमति हुन्। मेरो तर्फबाट प्रस्ताव गरिएको सहमति होइन। त्यो उहाँले (प्रचण्ड) पनि पटक– पटक भन्नुभएको छ। हामीले के भन्यौं भने पाँच वर्ष नै यो सरकार रहन जरुरी छ।

त्यसको नेतृत्व केपी शर्मा ओलीले नै गर्नुपर्छ ?

निरन्तरता र स्थायित्व चाहियो, जनताको आकांक्षा पनि त्यही छ। कहिल्यै पनि पाँच वर्ष सरकार टिकेन, टिक्न दिइएन। यो खालका प्रवृत्ति सफल हुन दिनु हुँदैन।

तपाईं आज कुराकानी गरिरहँदा अर्काे हप्ता, दश दिनमा अहिले देखा परिरहेको खिचातानीका बीच अगाडि बढिरहेको पार्टीभित्रको यहाँहरूको सम्बन्ध छ, त्यो गाँसिएको देखिरहनुभएको छ कि ?

कति दिन भन्नुभयो तपाईंले ?

हप्ता दश दिन ? त्यत्ति त दिन पर्ला ?

हप्ता दश दिन होइन, हप्ता भन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनेरियो। भोलिबाट एक भनेर काउन्टडाउन सुरु गर्नुहोला।

केपी शर्मा ओलीको आत्मविश्वासले हाँक्न सकेन भनेर क्रिटिसाइज गर्छन्, गाली पनि गर्छन् क्यारे, सुन्नुभएको छ नि ?

गाली त मैले अघिल्लोपल्ट प्रधानमन्त्री हुँदा पनि सुनेको हो। यो गाली मैले ०५१/५२ को अल्पमतको ९ महिने सरकारको पालामा पनि सुनेको हो। जो पछि असाधारण रूपले पपुलर ठानियो, मानियो। मेरो अघिल्लो कार्यकालको सरकार पनि बृहत आलोचनाभित्र मात्र होइन, आलोचना गर्दै त्यसलाई नढाली नहुने अवस्था बन्दै ढाल्ने स्थिति बनेको हो।

तर पछि त्यो सरकार लोकप्रिय सरकारकै रूपमा गनियो। जीवित मान्छेको आलोचना गर्ने र राम्रो मान्छेको प्रशंसा गर्न नसक्ने हाम्रो स्वभाव नै हो। हामी राम्रो कामलाई पनि प्रशंसा गर्न नसक्ने र कहाँ छिद्र भेटिन्छ, छिद्र भेटिएन भने पनि आलोचना गर्ने खालको हाम्रो स्वभावै बनेको छ। त्यो वेग्लै कुरा हो।

तपाईंसहित सहभागी भएको सरकारको स्मरण हामीलाई सम्झाउनुभयो — एकताकाको अल्पमतको ९ महिने सरकार, त्यसपछि यहाँको पछिल्लो कार्यकाल र अहिलेको कार्यकालको ‘डिस्टिङ’ फरक हामी पाउँछौं। अपेक्षा पनि त्यहीअनुसारकै छ। ठूलो भारी तपाईंको काँधमा छ। तपाईंले बताउनुभएका र जनआकांक्षाका काम थुपै्र थिए। त्यसलाई तराजुमा राखेर हेर्दा जनआकांक्षा गहुँ्रगो कामको महसुस हलुका गर्नुभएको छ नि ?

एक–दुईवटा प्रायोजित वा त्यस्तै खालका केही विरोध अथवा एक दर्जन मान्छेको विरोध भन्दा अलिक व्यापक रूपले केही छैन। जनतामा एउटा ‘परसेप्पसन’ दिन खोजिएको छ केही मान्छेहरूबाट। केही माध्यमबाट गलत ‘परसेप्सन’ दिन खोजिएको छ। गलत वातावरण बनाउन खोजिएको छ।

पहिले मानिसमा आशा थियो, विपक्षीमा आशा थियो कि हामी फर्केर आउँछौं भन्ने, किनकि बहुमत थिएन। यसपल्टको सरकार लोकप्रिय जनमतबाट स्थापित छ। त्यसकारण यो बहुतै खतरा भयो। यसलाई डिफल्ट नगर्ने हो भने अलोकप्रिय नबनाउने हो भने आफ्नो कुनै सम्भावना देखिएन।

यसलाई अलोकप्रिय बनाउनैपर्ने केही वैचारिक वाध्यता होला, केही आग्रह होला, केही दलगत आग्रह होला र केही व्यक्तिगत आग्रह होलान्। त्यस्ता आग्रहले एउटा सानो सर्कलका रूपमा पार्ने प्रभाव र फेरि आम जनताको अवधारणा त्यो पृथकपृथक कुरा हो।

तर प्रधानमन्त्रीज्यू, अहिले जस्तो अप्राकृतिक मेडिकल्ली च्यालेन्जको अवस्थामा हामी जसरी गुज्रिरहेका छौं, हाम्रोजस्तो सानो मुलुकमा जुन किसिमका कपिक्याट, काटुर्न पेस्ट काम हामीले गर्‍यौं। लकडाउन भनिदियो कसैले, हामीले पनि लकडाउन गर्‍यौं, तर आज हामीले त्यो लकडाउनको उपलब्धिका रूपमा थोरै मरे, थोरै संक्रमित भए भनेर भन्छौं। हामीले हचुवाको भरमा लकडाउनलाई फेरि खोलिदियौं भन्ने जनगुनासो छ। त्यसको प्रभाव अहिले परेकै देखिन्छ। दिनहुँ संक्रमित बढेका छन्, मृत्युदर पनि पहिलेको भन्दा बढेको छ। सरकारको कोभिड नियन्त्रणका क्रममा जुन किसिमको जनविरोधी जस्ता देखिएको भ्रष्टाचार यसमा गाँसियो भनियो। औषधि ल्याउँदा पनि आवश्यकता भन्दा बढी नाफा खाइयो भनियो ? मानिसहरू आरोपित भए तर प्रधानमन्त्रीले आफ्ना मान्छेलाई जोगाउन मात्र समय व्यतित गर्नुभयो, त्यसमा कुनै इन्क्वाइरी बसाल्नु भएन। कानुनी दायरामा ल्याउन वाधाका रूपमा प्रधानमन्त्री नै उभिनुभयो भन्ने आलोचना घर–घरमा सुनिन्छ नि ?

सबैभन्दा पहिले यो कोभिड–१९ बाट बच्नका निम्ति आम दाजुभाइ–दिदीबहिनी सबैलाई सतर्कता अपनाउन, दूरी अपनाउन, मास्क अनिवार्य लगाउन र सावुन पानीले हात धुन वा सरसफाइका उपाय अवलम्बन गर्न आग्रह गर्छु।

सबैभन्दा ठूलो कुरा मास्क लगाउनु नै सावधानी हो। सरकारले जारी गरेका नियम सरकारको फाइदाका लागि होइन। मैले बारम्बार भनेको छु। मेरा निम्ति र सरकारका निम्ति सबैभन्दा मूल्यवान कुरा जनताको जीवन हो। त्यसका निम्ति सरकार लागिरहेको छ। जनताको पर्याप्त साथ र सहयोग भएन भने त्यसलाई पराजित गर्न सक्दैनौं। जनतामा त्यो सजगताका कमी रहेको पाइयो। हामीले लामो समयसम्म रोकेर राख्यौं, मृत्यु रोकेर राख्यौं, संक्रमण रोकेर राख्यौं। बाहिरबाट आएका मनिसमा संक्रमण थियो, भित्रका मानिसमा थिएन। बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षण गरेर रोकेर राखेका थियौं। त्यसमा कतिपय आधारहीन आलोचना भए। सरकारले कोभिड ल्याएको हो कि भन्ने जस्ता आरोप पनि लागे। सीमा पनि कडाइ गर्न नहुने, बाहिर रहेका नेपाली ल्याउने विषयमा पनि कडाइ गर्न नहुने। कतिपय देशले भने होलान् डेमोक्रेसी ठूलो कुरा हो तर लाइफ बचाउने/बच्ने कुरा ठूलो कि स्वतन्त्र हुने कुरा ठूलो ?

तर सरकारले सहजीकरण गर्ने विषय होलान् नि। प्रधानमन्त्रीले पनि देख्नुभयो होला, विशेषगरी भारतमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी महामारीलाई घरमै गएर सामना गरौं भनेर फर्किए, उनीहरूलाई सहजीकरण गर्ने कुरा पनि सरकारले राम्ररी गरेन भनिन्छ त ?

एक महिनामा दुई लाख ४१ हजारभन्दा बढी मान्छे आउँछन् भने त्यति मान्छेलाई दूरी कायम गरी छुट्टाछुट्टै भान्सा, छुट्टाछुट्टै ट्वाइलेटको व्यवस्था गर्ने कि के गर्ने ? जनताले भनेजस्तै घरमै गएर सामना गर्छौैैं भनेर छोडेको भए देशमै कोरोनाको डडेलो लाग्थ्यो। घरमै जान सकिँदैनथ्यो, हामीले रोक्नैपथ्र्यो। हामीले रोक्ने, क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने चेस्टा गर्यौं। ठीक छ, राम्रो छ भनेपछि परिवारमा पठायौं। उनीहरूको पनि परिवारको रक्षा भयो। परिवारको र समुदायको स्वास्थ्यको रक्षा भयो। गर्नैपर्ने काम सरकारले गर्‍यो।

नेपाली प्रेसले पनि कभर गरे, सीमा क्षेत्रमा खासगरी भारतीय सीमापट्टि नेपाली अलपत्र परे, भारतीयको दुव्र्यवहार पनि उनीहरूले सहनुपर्‍यो, कोही बोर्डरमा लाम लागेर बसे, त्यो ज्ञान र अनुभवको कमीले होला। केही सांकेतिक रूपमा महाकाली नदीमा पौडिएर तरेका दृष्य पनि हामीले देख्यौं, संवेदनशीलताको उद्घोष केन्द्रबाट भयो। तर दूरदाराजका देशले त्यो संवेदनशीलता भोग्न पाएनन …।

यस्तो थियो, विभिन्न देशहरूसँग मैले आफैंले कुरा गरेको छु। भारतका प्रधानमन्त्रीज्यूसँग मैले कुरा गरेको छु। त्यस्तै हाम्रो परराष्ट्रमन्त्रीले कुरा गर्नु भएको छ। सरकार प्रमुख वा राष्ट्र प्रमुखहरूसँग साधारणतया मैले कुरा गरेको छु भने परराष्ट्रमन्त्रीकोे तहमा परराष्ट्रमन्त्रीले। साझा प्रयास भएकै हुन्। आआफ्ना ठाउँमा रोक्ने भन्ने कुरा गरेका छौं। हाम्रो सहमतिअनुसार नै प्रवेश गर्न नदिने, बोर्डर सिल गर्ने भनेका हौं।

हामीले पनि उता जान दिएनौं। उताबाट पनि आउन नदिने हाम्रो अपेक्षा थियो। तर हामीले जान दिएनौं, क्वारेन्टाइनमा राख्यौं, यो पार गरेपछि मात्र स्वस्थ रहेको प्रमाणसहित पठायौं। तर उताबाट त्यस्तो हुन सकेन। सीमा क्षेत्रसम्म रेलसेवाको आवागमनले गर्दा मानिस आउने क्रम बढ्यो। तपाईंले भनेका कुरा पनि हामीले सुन्यौं, दुव्र्यवहार आदि इत्यादि कुरा।

अलिकति जनताको सचेतना रहेन र त्यसमा अलिकति पोलिटिक्स खेल्ने काम पनि भयो। प्रदेश र स्थानीय तहहरूमा पठाइयो दश अर्ब लगभग। त्यो एकमुष्ट हिसाब होइन, त्यति पुग्यो होला भन्ने कसैले भन्यो। खोइ १० अर्ब भनेर ? त्यतिबेला ८ अर्ब तल पठाइसकिएको रहेछ। पैसा भन्नेबित्तिकै खाए नै भन्ने बुझ्ने। स्थानीय तहले कसरी क्वारेन्टाइन बनाउन सक्छ ? त्यो सबै प्रबन्ध कसरी गर्न सक्छ स्थानीय तहले पैसै नभई ? पठाइदिनु परेन ? स्थानीय तहका जनप्रतिनिधिलाई विश्वास गर्नुपर्‍यो। कि कराउने मान्छेलाई पैसा दिएर तिमी नै गर भन्नुपर्ने ?

हिसाबै मागेका थिए नि ?

हिसाब त दश अर्ब तल पठाइयो भन्ने आफैंमा हिसाब हो नि। होइन र ? अब कहाँ कहाँ केके गरियो भन्ने त जाँच गर्न पाइएकै छैन। मान्छे काम गर्दै छन्, क्यारेन्टाइन बनाउँदैछन्। बेला भएपछि हिसाबकिताब हुन्छ। पछि सबै हिसाब केन्द्रमा बुझाउनुपर्छ। खर्च भइ नै सक्या छैन भने हिसाब कसरी आउँछ ? भ्रष्टाचार भयो भनियो त्यसमा हामीले छानबिन गरिरहेका छौं। यस्तो महामारीका बखत कसैले एक रुपैयाँ पनि अनियमितता गर्छ भने क्षम्य हुन सक्दैन भनेर दोहोर्‍याइ, तेहर्‍याइ भनिरहेको छ, संसद्मा पनि भनेको छु, कारबाही हुन्छ।

अहिले महामारीको बेला औंला उठिरहेको पोलिटिकल लिडरसीपमा हो, राजनीतिक नेतृत्वले सम्झौतामा हस्ताक्षर गरेको हँुदैन, पर्ने त कर्मचारी मात्रै हुन् ..।

कर्मचारीले गर्ने हो। अहिले यस्तो विशेष परिस्थिति हुन्छ, महामारीका बेला साधारण अवस्थाको नियम लागू गर्ने हो भने ४५ दिनको सूचना लागू गर्नुपर्ने हुन्छ। त्यो टेन्डर आह्वान गर्नुपर्छ।

यही इमरजेन्सीको नाजायज फाइदा उठाए राजनीतिक नेतृत्वले भन्छन् नि ?

लिडरले कसरी ? जसले कारोबार नै गर्दैन उसले कसरी लाभ लिन्छ ?

कारोबार गर्नका लागि परिवारका सदस्य, इष्टमित्र खडा भएका कुरा बाहिर आएका छन् त ?

त्यस्तो पाइयो भने कारबाही हुन्छ। सबै विषयमा मैले राम्ररी अध्ययन गरिरहेको छु। अखबारमा आएका र विभिन्न व्यक्तिहरूले बोलेका विषयलाई मैले राम्ररी ध्यान दिएको छु।

यदि कोही नेताका परिवारका सदस्य त्यसमा पाइयो भने उनीहरू विजनेशमा छन् वा प्रतिस्पर्धा गरेर आएका छन् भने त्यो म भन्न सक्दिन, किनभने त्यहाँ केही सहभागी भएका हुन सक्छन्, उसको व्यवसाय ठेकेदारी हुन सक्ला। उसले त्यहाँ भाग लिन सक्दैन भन्न त सकिँदैन।

मुलुकको प्रधानमन्त्री सामाजिक सञ्जाल र पत्रपत्रिकामा उठेका विषयप्रति चनाखो हुनुहुन्छ त्यसो भए ?

अवश्य। मेरो ध्यान छ र मैले छनबिन गराइराखेको छु। छानबिनबाट आएका विषयबारे फेरि मैले आन्तरिक छानबिन गराउँछु। के छ ? के देखिन्छ ? यहाँ त जसलाई पनि डामेको हुन्छ, अपमान गरेको हुन्छ, त्यस्ता कुराको पछाडि कुद्न सकिँदैन।

केही कुराको आधार छ कि छैन ? अथवा हेर्नुपर्ने, केलाउनुपर्ने, छानबिन गर्नुपर्नेे वा विश्लेषण गर्नुपर्ने केही छ कि छैन ? त्यो हेर्नुपर्छ। अलिकति मात्र पनि निराधार कुरा देखिएन त्यसमा छानबिन हुन्छ।

अलिकति मात्र कसैको दोष देखियो भने त्यसबाट कोही मुक्त हुन सक्दैन। त्यो चाहे मेरै निकटको मान्छे किन नहोस्। अखबारले मेरै छोराले यसो गर्‍यो भनेर नछापुन्। मेरा त छोराछोरी छैनन्, नत्र भने छोराले यसो गरे भनेर छाप्छन् र भोलिपल्ट खण्डन गर्छन्। फेरि मैले चाहिँ सबै मिडियालाई भनेको होइन। केहीको त्यो काम छ। अहिले मैले नाम नलिउँ केहीको कामै त्यही छ।

प्रधानमन्त्रीले त लिन मिल्छ नि त्यो नाम ?

मिल्दैन।

अहिले जसरी कोभिड —१९ को संक्रमण बढ्दै गएको देखिन्छ, सरकारको भावी योजना के छ ? एकै छिनलाई मानौं कोरोना संक्रमतिको ठूलो जमात नेपालले भोग्नुपर्‍यो भने हाम्रो स्वास्थ्य तयारी चुस्त दुरुस्त छ ?

आजको अवस्था हेर्दा संक्रमण यसरी फैलिइरहेको छ कि डरलाग्दो अवस्था उत्पन्न भएको छ। मन्त्रिपरिषद् बैठकको पनि गम्भीर चासो, चिन्ता र सरोकार थियो। यसमा केही निर्णय गरेको छ। हामीले पहिले गरेका निर्णय जो खुकुलो पार्छौं भनेका थियौं, त्यसमा बैदेशिक उडानदेखि लिएर, सीमा नाकासम्मलाई अझ कडाइ गर्ने खालको अवस्था आयो। काठमाडौंमै क्वारेन्टाइनको अवस्था कमजोर छ त्यसको प्रबन्ध हामीले शीघ्र गर्नुपर्ने छ।

जिल्ला जिल्लासम्म त्यसको अभाव हुने अवस्था छैन। क्यारेन्टाइनको प्रबन्ध ठीकै छ। आइसोलेसनको प्रबन्ध पनि त्यस्तो केही छैन। हामीले अलि ठूलो संख्यामा पोजेटिभ केशहरू पनि डिल गरिसक्यौं। पर्सामा बढेको देखिएको छ। त्यसलाई हामी गम्भीरताका साथ लिएर डिल गर्छौं। अरू कतिपय ठाउँमा घट्दो पनि छ। त्यो हामीले चेक गरेका छौं। नियन्त्रण गरेका छौं। चेकअप र उपचार राम्ररी गरेका छौं। संकमण हुन नदिन ध्यान दिएका छौं। सवारी साधन, सामाजिक संघसंस्था र कार्यालय सञ्चालनको सम्बन्धमा सर्तकता जरुरी छ।

नेपाल—भारत सम्बन्ध

केही समयअघि कुरा गर्दा प्रधानमन्त्रीज्यूले भारतीय पक्षले नक्सा जारी गर्दा खासै टिप्पणी थिएन। हामीले नक्सा संविधानतः स्वीकार गरिसक्यौं। तर हाम्रो भूमिबाट भारतको अक्कुपेन्सी हटेको छैन। हाम्रो प्रवेशमा अप्ठ्यारो हुनु स्टेट अफ वार होइन ?

भारत हाम्रो छिमेकी हो। दोस्रो मित्र छिमेकी हो। भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छन्। कुनै थिचोमिचोको प्रवृत्ति, हेप्ने/हेपिनेको सम्बन्ध, ठूलो वा सानोको सम्बन्ध आवेश उत्तेजना वा अरू कुनै हिसाबले निर्धारण गरिनुहुन्न। राष्ट्रिय हितको कुरा गर्दा न्यायोचित र अन्तर्राष्ट्रिय सम्बन्धलाई ख्याल गर्नुपर्छ। संवादको माध्यमबाट तथ्यका आधारमा ठन्डा दिमागले गर्नुपर्छ।

भारतले नक्सा छाप्दा तपाईंले केही भन्नु भएन भन्नुभयो तर हामीले ‘डिप्लोमेटिक’ नोट पठाएका थियौं। विरोध गरेका थियौं र वार्ताका लागि आह्वान गरेका थियौं। वार्तामा बस्दैछौं र वार्ताबाटै सम्बोधन गर्दैछौं भने धेरै बोल्नुको अर्थ हुँदैन भन्ने थियो। नक्सा छाप्नुभन्दा हाम्रो मिचिएको भूमि फिर्ता ल्याउन वार्ताबाटै निकास खोेज्नुपर्छ भन्ने लागेको हो।

तर त्यहीबीचमा हाम्रो भूमि भएर सडक निर्माणको काम भयो। त्यो राम्रो थिएन। हामीले त्यसपछि पनि विरोध जनायौं। त्यसको पनि कुनै सुनुवाइ नभएपछि नेपाली जनतालाई वास्तविकता प्रष्ट पार्नुपथ्र्याे। त्यसरी हामी अगाडि बढेका हौं।

सुगौली सन्धि पराजित भएर गरिएको सन्धि हो। त्यो पीडादायी हुन्छ। सुगौली सन्धिअघि कहाँकहाँसम्म सिमाना थियो, त्यो अर्काे विषय हो। त्यसपछि पनि १४६ वर्ष हामीले त्यो भूमि भोगचलन गर्‍यौं। त्यसपछि हामीलाई थाहै नदिइ भारत— चीनबीच युद्ध भए पनि हामीलाई त्यहाँ जान दिइएन। हामीले लगातार वार्ताका लागि गम्भीरतापूर्वक पहल गरिरहेका छौं। वार्ताका लागि पत्र पठायौं। तर बेग्लै प्रकारको जवाफ पायौं।

कस्तो जवाफ पाउनुभयो ?

अरूबाट उक्साइएको, अकूटनीतिक, बलको भाषा, आक्षेप भन्ने खालको जवाफ पायौं। त्यसपछि मैले संसद्मा बोलेको हो। हाम्रा निम्ति सानो पीडाको विषय थिएन। वार्तामा बसेर कुराकानी गरेर प्रमाणका आधारमा कुरा टुंग्याऔं भनेर हामीले भनेका थियौं।

उनीहरूले हाम्रो भूभाग समेटेर नक्सा सार्वजनिक गरे। हामीले कुरा गरौं भन्दा त्यस्तो खालको जवाफ आयो, देखिहालियो। हामीले हाम्रो भूमि समेटेर नक्सा सार्वजनिक गर्‍यौं। कतिपय भारतीय सञ्चारमाध्यमको स्तर, सभ्यता र मापदण्डको कुरा यहाँ नगरौं। भारतीय सभ्यतालाई नै चुनौती दिने खालको सामग्री आए।

हामी अहिले पनि दुई मुलुकबीच मित्रता हुनुपर्छ भनिरहेका छौं। समानताका आधारमा मित्रता हुनुपर्छ। २१ औं शताब्दी सुहाउँदो मित्रता हुनुपर्छ। होच्याइने खालको होइन, अपमान गर्ने खालको सम्बन्ध होइन।

पछिल्लो सम्बन्ध के छ त भारतको ?

परोक्ष ढंगले मिडियाबाट देखिन्छ। प्रत्यक्ष सरकारबाट केही आएको छैन। सरकार तहबाट प्रयास जारी छ।

आममान्छेले नक्सा सार्वजनिक भयो। संविधान संशोधन भयो। तर तात्विक रूपमा त्यो भूमि हाम्रो कहिले हुन्छ भन्ने प्रश्न छ ?

संवादमार्फत् तथ्यका आधारमा टुंग्याउनुपर्छ भन्ने पक्षमा हामी छौं। सम्बन्धलाई सुधार्नुपर्छ। वार्ताका माध्यमबाट टुंग्याउनुपर्छ। म तपाईंलाई विश्वास दिलाउन चाहन्छु, वार्ताका माध्यमबाट यो टुगिन्छ।

यति धेरै आशावादी कुरा सुनाउनुभयो। बेलाबेलामा प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिमा पनि समस्या ल्याउने गरेको चर्चा सुनिन्छ। भर्खरै तपाइले भगवान रामको पनि नागरिकता बदलिदिनुभयो।

हाँस्दै…त्यतिबेला नागरिकताको जमानै थिएन। कुनै कुरा बौद्धिक वा शास्त्रीय हुन्छन्। त्यसबारे शास्त्रीय छलफल हुन सक्छन्। मैले आफ्नो दृष्टिकोण, जुन शास्त्रले भनेको छ, त्यो कुरा सार्वजनिक गरेको हुँ। यो एउटा खोजको विषय हो। यसमा आत्तिनुपर्ने र आक्रोशित हुनुपर्ने विषय होइन।

भिडियो

प्रकाशित भएको : August 16th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु