अमर नारायण मन्दिरको पोखरीमा भेटियो यस्तो ऐतिहासिक बस्तु

 

काठमाडौ । अमर नारायण मन्दिरको पोखरीको मर्मत गर्ने क्रममा झन्डै २१४ वर्ष पुरानो तामाको पाइप भेटिएको हो ।

करिब एक मिटर लम्बाइ र १० इन्चको मोटाइ रहेको तामाको पाइप भेटिएको पोखरी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष विनायक महर्जनले बताउनुभयो । पोखरीको पिँधमा सरसफाइ गर्ने क्रममा तामाको पाइपबाट पानी निकासी भइरहेको देखेपछि कामदारले आफूलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

पोखरी मर्मत तथा १०८ धारा जडानका लागि सरसफाइ गर्ने क्रममा भेटिएको ऐतिहासिक तामाको पाइपलाई अमरनारायण युवा क्लबले सुरक्षित साथ राखेको स्थानीयवासी हिमालदत्त श्रेष्ठले बताउनुभयो । पोखरीमा फेला परेको उक्त तामाको धातु पाल्पा तानसेनस्थित ऐतिहासिक सङ्ग्रहालयमा राखिने भएको छ ।

तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले पोखरीमा फेला परेको ऐतिहासिक वस्तु पाल्पा दरबार सङ्ग्रहालयमा राख्नेगरी हस्तान्तरण गर्न निर्देशन दिइसकेको बताउनुभयो । तामाको केही भागमात्र निकाल्न सफल भएपछि ठूलो मात्रामा जमिनमुनि तामाको पाइप हुनुपर्ने स्थानीयवासीको भनाइ छ ।

पोखराको पानी तानसेन मिसन सडक खण्डको नारायणस्थान सडक नजिकैको खोल्सामा निकालिएको छ । पोखरीको पर्खालमा रहेको तामाको पाइप मात्र कामदारले निकालेका हुन् । काजी अमरसिंह थापाले विसं १८६३ मा कलात्मक अमर नारायणको मन्दिर र ठूलो पोखरी निर्माण गरेको थियो । सोही समयमा नै मन्दिर परिसरको पोखरीको पानी निकाल्न तामाको पाइप बनाई पानी निकालेको हुन सक्ने अनुमान स्थानीय बासिन्दाको छ ।

प्रकाशित भएको : August 16th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु