‘लकडाउन गरेरमात्रै समस्या हल हुँदैन, सुरक्षाका साथ काम गरौँ’

 

गृहमन्त्री रामबहादुर थापाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

आइतबार न्यूज एजेन्सी नेपालसँग कुरकाकानी गर्दै गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताए।

लकडाउन गरेर मात्रै कोरोनाको समस्या हल नहुने स्पष्ट पार्दै थापाले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रष्ट पारे।

लकडाउनका कारण आर्थिक समस्याहरु देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको उनले बताए।

उनले भने ‘कोरोना र आर्थिक संकट दुवैलाई हामीले समाधान गर्नुपर्ने भएको हुनाले यसमा तालमेल मिलाएर काम गरिराखेका छौं र स्वास्थ्यका मापदण्डहरु अपनाएर उद्योग व्यवसायहरु पनि हामीले सञ्चालन गर्नुपर्ने छ।’

सरकारले देशभित्र प्रवेश गर्न १० वटा नाका तोकेपनि अझै पनि लुकिछिपी आउने काम भइरोखको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको उनले बताए।

अहिले पनि खुला नाकाहरु नियन्त्रणका लागि १ हजार २ सय भन्दा बढी बोर्डर आउटपोस्ट (बिओपी) स्थापना गरिएको गृहमन्त्री थापाले बताए।

उनले भने ‘अब हामीले यो खुल्ला नाकाहरुलाई नियन्त्रण गर्नको निमित्त अहिले १२ सय भन्दा बढी बोर्डर आउटपोस्टहरु स्थापना गरिएको छ । त्यसले धेरै हदसम्म नियन्त्रण गरेको छ। तैपनि लुकिछिपी आउने क्रम छ। यसलाई पूर्ण बन्द गर्ने हाम्रो प्रयास जारी छ।’

अहिले देशमा बाढी पहिरो र कोरोनाको संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको थापाले बताए।

यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्व तयारी गरेको समेत गृहमन्त्री थापाले बताए। विपदको समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाहरुको पनि समस्या भएकाले ती निकायहरुबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही जटिलता आएको थापाले बताए।

बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा तयारी गरिएको पनि उनले बताए।

प्रकाशित भएको : August 16th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु