राष्ट्रकविले आफ्नो मृत्युपछि बजाउन लेखेको गीत– त्यसरी होस् मरण, त्यसरी होस् मरण … { भिडियाे}

 

राष्ट्रकवि माधवप्रसाद घिमिरेले मृत्युलाई उत्सवका रूपमा वर्णन गर्दै एउटा गीत लेखेका थिए– त्यसरी होस् मरण, त्यसरी होस् मरण …

२०१६ असोज १ गते लेखिएको यो गीत घिमिरेको ‘किन्नर किन्नरी’ पुस्तकमा प्रकाशित छ। आधुनिक सेलोमा रचिएको यो गीत संगीतबद्ध गरेर आफ्नो मृत्युपछि बजाइयोस् भन्ने राष्ट्रकविको अन्तिम इच्छा थियो।

उनले आफ्नी जेठी छोरी शान्ति शर्मा अधिकारीलाई भनेका थिए, ‘यो गीत तिमीहरू संगीतबद्ध गरेर राख्नू। मलाई सुनाउनु पनि पर्दैन। जब मेरो मृत्यु हुन्छ, त्यसपछि यसलाई सार्वजनिक गर्नू।’

यही इच्छाबमोजिम अधिकारीले राष्ट्रकविको मृत्युअघि नै यो गीत संगीतबद्ध गरेर रेकर्डिङ गराएकी थिइन्। यसलाई राष्ट्रकविकै परिकल्पनामा आधारित रहेर आशीष अविरलले संगीत भरेका छन् भने कर्ण दासले स्वर दिएका छन्।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ साढे ५ बजे निधन भयो। उनी १०१ वर्षका थिए। उनको अन्तिम इच्छाअनुसार उक्त गीत यहाँ प्रसारण गर्दैछौं।

घिमिरेको परिवारले यो गीत २४ घन्टासम्म सेतोपाटीले मात्र बजाउन सक्ने गरी ‘विशेष सर्वाधिकार’  प्रदान गरेको छ। त्यसैले, यो गीतको अडियो र भिडियो कुनै पनि स्वरूपमा प्रसारण गर्ने अधिकार कसैलाई पनि छैन। यो विशेषाधिकार प्रदान गरेकोमा घिमिरे परिवारप्रति हामी आभार प्रकट गर्छौं।

यो गीत बनाउन योगदान दिने संगीतकार आशिष अविरल, गायक कर्ण दास, मन्दिरा ढुंगेलसहित यसमा संलग्न सम्पूर्ण टोलीप्रति घिमिरे परिवारले धन्यवादसहित आभार व्यक्त गरेको छ।

गीत यस्तो छ-
त्यसरी होओस् मरण

जसरी सुत्छन् तारमा गीतका चारु चरण

हिमालचुली देशमा, दिनको शान्त भेषमा

जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण

त्यसरी होओस् मरण ।।

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन

विहानीपख रातको, कुसुम पारिजातको

जसरी जान्छ झरेर, भुइँमा विनापवन

त्यसरी होओस् मरण ।।

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन

बादलको सेतो रासमा, दुइटा मूर्ति पासमा

जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण

त्यसरी होओस् मरण ।।

अमरापुरी सभामा आफैंलाई गरूँ वरण

त्यसरी होओस् मरण ।।

गीतमा आबद्ध समूह-

गीतकार- कविवर माधवप्रसाद घिमिरे

संगीत परिकल्पना- शान्ति अधिकारी

संगीत कम्पोजर तथा एरेन्जर- आशिष अविरल

गायक- कर्ण दास

बाँसुरी- गोपाल घटानी

डम्फू, मादल र तबला- भुवन गन्धर्व

सारंगी- हेमन्त कान्छा रसाइली

गितार- सञ्जीब बराइली

बेस गितार- अनुप दास

भायोलिन समूह- नोर्बू छिरिङ आप्पा, मोहनकृष्ण कार्की दली, गणेश परियार, मनोहर सुनाम र रविन कार्की दली

रेकर्डिङ, मिक्सिङ र मास्टरिङ- एचबिएन किस्मत

विशेष धन्यवाद- आनन्दराज खनाल

निर्माता- शान्ति शर्मा अधिकारी, अशेषकान्त शर्मा र मन्दिरा ढुंगेल

रेकर्डिङ स्टुडियो- राग रेकर्डस्

प्रकाशित भएको : August 18th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु