गोत्र पहिचान नहुनेको गोत्र कुन हो ?

 

गोत्र व्यवस्था मान्छेहरु परिवारको संरचनामा आउनुभन्दा पहिलेदेखिको परम्परा हो भन्ने तर्क गर्छन् समाजशास्त्री लुईस मोर्गन । उनी पहिले गोत्र परम्परा आमाको आधारमा तय हुने गरेको बताउँछन् । पहिले बाबुको बारेमा यकिन नहुने बेलामा नै आमाको सन्तानको आधारमा गोत्र परम्परा चल्दै आएको थियो भन्ने उनको मान्यता छ ।

बिस्तारै पितृसत्ताको बोलवाला चलेर जातिप्रथाको सुरुवात भएपछि जातिप्रथा बाबुको आधारमा तय हुन थाल्यो । यसले गर्दा गोत्रपरम्परामा पनि परिवर्तन आएको लुईस बताउँछन् । फ्रेडरिक एन्गेल्सले भने मातृसत्ताको समयमा गोत्र परम्परा ऋषिको नामबाट नभई पशुपन्छीको नामबाट चलाउने गरिएको बताउँछन् ।

गोत्र परम्परा ऋषि परम्पराको एउटा उत्कृष्ठ नमुना हो । अधिकांश गोत्रहरू ऋषिको नामबाट तय गर्ने गरिएको छ । त्यही ऋषिको सन्तानको रूपमा नै गोत्रको अस्तित्व अघि बढाइएको छ ।

गोत्रको व्यवस्था अहिले आएर कर्मकाण्डी रूपमा लागू हुने गरेको छ । ऋषिपरम्परा बिस्तारै लोपोन्मुख छ भने एउटै गोत्रभित्र बिहे गर्न हुँदैन भन्ने मान्यताले जिलोतिलो गोत्र परम्परालाई चलाउँदै आएको छ । यही बहिर्विवाही परम्पराले गर्दा अहिलेका युवापुस्ताले समेत कडाइका साथ गोत्र परम्परा लागू गर्ने गरेका छन् । आखिर किन महत्वपूर्ण छ त गोत्र व्यवस्था ?

गोत्र व्यवस्था भनेको पिता या माताको कुल परम्परा र पूर्खाहरूको वंश पहिचान गर्ने एउटा विधि हो । पुस्तान्तरणसँगै आफ्ना पूर्खाको सन्तान पहिचान गर्न कठीन बन्ने गरेको छ । हामी आफ्नै सात पुस्ताका सन्तान पत्ता लगाउन सक्दैनौं । त्यस्तो अवस्थामा परापूर्वकालदेखि विभाजित हुँदै आएका पुर्खाका सन्तानलाई चिन्ने सजिलो विधि भएकोले पनि यो आफैंमा महत्वपूर्ण छ ।

वर्ण व्यवस्थामा माथिल्लो वर्ण भनिएका व्यक्तिहरूले तल्लो वर्णलाई भेदभावको नीति लिएपछि जातको आधारमा हुने वर्ण व्यवस्था विवादित बन्यो । तर गोत्र यस्तो विवादमा खासै मुछिएको छैन ।

सामान्यतया ‘गोत्र’ ऋषि परम्परासँग सम्बन्धित परम्परा हो । परापूर्वकालमा ब्राह्मणहरूका लागि ‘गोत्र’ महत्वपूर्ण थियो किनकि ऋषिपरम्परालाई पूर्णरूपमा कार्यान्वयनमा ल्याउने काम ब्राह्मणहरूले नै गर्ने गरेका थिए । तर बिस्तारै कामको आधारमा वर्ण व्यवस्था लागू भएपछि कुनै बेला ब्राह्मणरहेकाहरू कामको आधारमा शुद्र समेत बन्न थाले । त्यसपछि बिस्तारै सबै वर्णमा गोत्र फैलियो ।

शाब्दिक अर्थलाई केलाउँदा ‘गो’ अर्थात् इन्द्रिय र ‘त्र’ अर्थात् रक्षा गर्नुको सन्धिबाट गोत्र अर्थ बनेको छ । इन्द्रियको रक्षा गर्नुलाई आफ्नो वंश परम्परालाई रक्षा गर्नु अर्थमा व्याख्या गर्ने गरिन्छ । आफ्नो परापूर्वकालदेखिको वंश परम्परालाई अँगाल्दै एउटै वंशकाबीच वैवाहिक सम्बन्धलाई बर्जित गर्न सहयोग पुग्ने भएकोले पनि गोत्र परम्परा अहिलेसम्म निर्विवादित बनेको छ ।

गोत्र पहिचान नहुनेको गोत्र कुन हो ?

जब कसैलाई आफ्नो गोत्रको बारेमा जानकारी हुँदैन भने उसले आफूलाई कश्यप गात्रीय भनेर चिनाउने गर्छ । कश्यप ऋषिले एकभन्दा बढी विवाह गरेका थिए र उनका धेरै छोराहरू थिए । धेरै छोराहरू भएका कारण उनीहरूको पूरै वंशको बारेमा ज्ञान नभएकोले पनि पहिचान नभएकाहरूले आफूलाई कश्यप गोत्रीय बताउने गर्छन् ।

प्रकाशित भएको : August 19th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु