पाकिस्तानविरुद्ध इंग्ल्यान्डका ओपनर बनटनको बिस्फोटक ब्याटिङ

 

पाकिस्तान र घरेलु टिम इंग्ल्यान्डबीचको तीन खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भयो।

म्यनचेस्टरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १६.१ ओभरमा ६ विकेटको क्षतिमा १३१ रन बनाएर खेलिरहदा वर्षा भयो। त्यसपछि वर्षा नरोकिएपछि खेल रद्द हुन पुग्यो।

रद्द हुनुअघि इंग्ल्यान्डका ओपनर टम बनटनले बिस्फोटक ब्याटिङ गरे। उनले ४२ बलमा ७१ रन जोडेका थिए। त्यसक्रममा उनले ४ चौका र ५ छक्का प्रहार गरे।

उदयीमान ब्याट्सम्यानको छबी बनाएका बनटनले अहिलेसम्म ४ वटा मात्र टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्। जसमा यो नै उनको सर्वाधिक स्कोर हो। उनले खेलमा ३३ बलमा ५० रन पूरा गरेका थिए। त्यसका लागि उनले ३ चौका र ३ छक्का हिर्काए।

बनटनबाहेक डबिड मालनले २३ रन र कप्तान इयान मोर्गनले १४ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अंङ्कमा रन जोड्न नपाइ आउट भए।

बलिङमा पाकिस्तानका इमाद वासिम र सादब खानले २-२ विकेट लिए।

अब सिरिजको दोस्रो टी-२० आइतबार साँझ म्यानचेस्टरमै हुनेछ।

प्रकाशित भएको : August 29th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु