
घोराही। दाङमा विदेशबाट फर्किएकाहरुलाई राख्नका लागि विभिन्न स्थानहरुमा क्वारेन्टाइन स्थापना गरिएको भएता पनि फर्कनेको तुलनामा क्वारेन्टाइनमा बस्नको सङ्ख्या ज्यादै न्यून छ । यसरी फर्किएकाहरु मध्ये अधिकांश नागरिक घरपरिवारसँगै बसेका छन् ।
दाङका दश वटा स्थानीय तहमा चैत महिनाको सुरुदेखि हालसम्म तीन हजार ६ सय ३२ जना भारतलगायतका अन्य खाडी मुलुकबाट मानिसहरु भित्रिएको जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेको जिल्ला आपत्कालिन कार्य सञ्चालन समितिका सूचना अधिकारी विश्व अर्यालले जानकारी दिएका छन् ।
‘विदेशबाट फर्किएका व्यक्तिहरुलाई सकेसम्म दुई हप्ता क्वारेन्टाइनमा राख्ने योजनाले बेडहरु तयार गरियो’,अध्यक्ष वलीले भने, ‘तर क्वारेन्टाइनमा बस्न कसैले मान्नुभएन । त्यसैले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौँ ।’
सूचना अधिकारी अर्यालका अनुसार जिल्लामा यो अवधिमा फर्किएका मध्य सबैभन्दा धैरै मानिस बंगलचुली गाउँपालिकाका रहेका छन् । त्यहाँ हालसम्म १४ सय १३ जना विदेशिएकाहरु भित्रिएका छन् । उनीहरु सबै आफ्नै घरपरिवारसँगै बस्दै आएका छन् ।
कोरोनाको जोखिमबाट बच्नका लागि देशबाहिरबाट आएका व्यक्तिहरुलाई कम्तिमा दुई हप्ता अरुदेखि टाढा हुन आग्रह गरेपनि उक्त गाउँपालिकामा घर फर्किएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन् ।
त्यसपछि धैरै मानिसहरु भित्रिएको स्थानीय तह घोराही उपमहानगरपालिका हो । घोराहीमा चैत महिना यता १२ सय ८६ जना आएका छन् । उनीहरु मध्य अहिले घोराही उपमहानगरपालिका वडा नं. ३ मा रहेको क्वारेन्टाइनमा ३ जना मात्र रहेका छन् । अन्य सबै घरपरिवारसँगै बस्दै आएका छन् ।
त्यसैगरी स्थानीय तहले बुझाएको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा तुलसीपुर उपमहानगरपालिकामा दुई सय ८७ जना, गढवा गाउँपालिकामा एक सय ५२ जना, राप्ती गाउँपालिकामा एक सय ३१ जना, राजपुर गाउँपालिकामा एक सय ६ जना, लमही नगरपालिकामा ९० जना, बबई गाउँपालिकामा ८९ जना, शान्तिनगर गाउँपालिकामा ६९ जना र दंगीशरण गाउँपालिकामा २७ भारतलगायतका अन्य देशहरुबाट फर्किएका छन् ।
२७ जना क्वारेन्टाइनमा
विदेशबाट फर्किएकाहरुलाईृ सरकारले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताए पनि जिल्लामा अधिकांश मानिसहरु घरपरिवारसँगै बस्ने गरेका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन समितिका अनुसार हालसम्म २७ जना व्यक्ति मात्र स्थानीय तहले बनाएका क्वारेन्टाइनमा बसेका छन् । जसमा बबई गाउँपालिकामा १३ जना, तुलसीपुर उपमहानगरपालिकामा ११ जना र घोराही उपमहानगरपालिकामा ३ जना क्वारेन्टाइनमा बसेका छन् । बबई गाउँपालिकामा बसेका १३ जना मध्ये ११ जना घर फर्किएका छन् ।
स्थानीय तहहरुले चैत यता विदेशबाट फर्किएकाहरुको अभिलेख तयार गर्ने काम गरेपनि उनीहरुलाई क्वारेन्टाइनमा राख्न भने सकिएको छैन । विदेशबाट फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि उनीहरुले नमान्ने गरेका कारण क्वारेन्टाइनमा बसाउन समस्या रहेको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए ।
‘विदेशबाट फर्किएका व्यक्तिहरुलाई सकेसम्म दुई हप्ता क्वारेन्टाइनमा राख्ने योजनाले बेडहरु तयार गरियो’,अध्यक्ष वलीले भने, ‘तर क्वारेन्टाइनमा बस्न कसैले मान्नुभएन । त्यसैले होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं ।’ उनले अहिले पनि गाउँमा भारतबाट आउने क्रम रहेको जानकारी पनि दिए । जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएका विरामीहरुलाई उपचार गर्नका लागि बेलझुण्डीमा कोरोना विशेष अस्पतालसँगै विभिन्न अस्पतालहरुमा १ सय ६६ आइसोलेशन निर्माण गरिएको छ ।
त्यसै गरि विदेशबाट फर्किएकाहरुलाई राख्नका लागि दशवटा स्थानीय तहमा तीन सय ३८ बेडको क्वारेन्टाइन केन्द्र निर्माण गरिएको छ । जस अन्तरगत घोराही उपमहानगरपालिका २५,लमही नगरपालिकामा ३५, राप्ती गाउँपालिकामा २५, गढवा गाउपालिका १०, बङ्गलाचुलीमा २५, तुलसीपुर उपमहानगरपालिकामा ९३, राजपुरमा २५, शान्तिनगरमा १०, बबई गाउपालिकामा ५० र दङगीशरण गाउँपालिकामा ४० गरि ३ सय ३८ बेडको क्वारेन्टाइन अस्पताल निर्माण गरिएको छ ।
दाङमा कोरोना भाइरसको आंशकामा बेलझुण्डी कोरोना विशेष अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालमा गरि १६ जना विरामीको नमूना परिक्षण गरिएको भएपनि सबैमा नेगेटिभ देखिएको छ ।
प्रतिकृया दिनुहोस्