मिर्गौलाको डायलाईसिस गराउने सबै विरामीको निःशुल्क पिसिआर परीक्षण

 

बुटवल

बुटवल उपमहानगरपालिकाले मिर्गौलाको डायलाईसिस गराउदै आएका बुटवलका बिरामीको निःशुल्क पिसिआर परीक्षण सुरू गरेको छ।

डायलाईसिस गराउनु अघि कोभिड संक्रमण भए नभएको एकिन गरिने भएपछि उपचारमा सहजता हुने भएको छ।

बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलाईसिस गराउने सबै बिरामीहरूलाई कोभिडको सबै परीक्षण निःशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए।

पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गरिने र उक्त स्थानसम्म पुग्न समेत नसक्ने अवस्थामा रहेकालाई बसेको स्थानमै पुगेर परीक्षण गर्नेगरी काम सुरू भएको प्रमुख सुवेदीले जानकारी दिए।

उपप्रमुख गोमादेवी आचार्यले अस्पतालहरूमा डायलाईसिस गराइरहेका कागजातका आधारमा बसोबास गरेको वा डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने यस्ता सबै विरामीको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताइन।

बुटवलले कोभिडजन्य कामका सिफारिसलाई समेत सहज र निःशुल्क बनाएको छ।

बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा मिर्गौलाको डायलाईसिस गर्ने बिरामीको संख्या करिब छ सय हाराहारी रहेको बताइएको छ।

महामारी चलिरहेकाले मिर्गौलाका विरामीले डायलाईसिस गर्नुअघि डेढ महिनामा दुई पटक पिसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ। पिसीआर परीक्षण पछि उपचारमा सावधानी अपनाउन सहज हुनेछ।

प्रकाशित भएको : September 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु