विद्यार्थी विद्यालय आउने अवस्था नरहेकोले शिक्षक नै विद्यार्थीकहाँ पुग्नुपर्ने

 


कोरोना भाइरस संक्रमण बढिरहेका बेला तत्काल विद्यालय नखुल्ने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिव विधिबाटै पठनपाठनलाई अगाडि बढाउने निर्णय गरेको छ।

कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेकोले शैक्षिक संस्थाहरू तत्काल खुल्ने सम्भावना नरहेको भन्दै मन्त्रालयले अनलाइनलगायत विधिबाटै सिकाइ निरन्तरता दिन लागेको हो।

यो शैक्षिक सत्रको साडे चार महिना सकिइसकेको छ। यस्तो अवस्थामा शैक्षिक सत्र खेर जान नदिई कसरी पठनपाठन गरिन्छ त?

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार रेडियो, टेलिभिजन, पाठशाला र भर्चुअल कक्षा गरी चारवटै तरिकाबाट वैकल्पिक शिक्षा सञ्चालन भइरहेका छन्। सुगमदेखि दुर्गमसम्मका विद्यार्थीले घर नै शिक्षालय वा घरमै बसेर वैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिनुपर्ने उनले बताए।

विद्यालय, प्राविधिक र उच्च शिक्षामा वैकल्पिक पद्धतिबाट पठनपाठन सुरू भइसकेकोले त्यसैलाई निरन्तरता दिने शिक्षा मन्त्रालयको तयारी छ।

विद्यार्थी विद्यालय आउने अवस्था अहिले नरहेकोले शिक्षक नै विद्यार्थीकहाँ पुग्नुपर्ने मन्त्री पोखरेल तर्क गर्छन्।

‘विद्यार्थीहरूले घरमै बसेर पुस्तक अध्ययन गर्ने, शिक्षकले दिएका परियोजना कार्य गर्ने, गृहकार्य गर्ने, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, इन्टरनेटका सामग्री अध्ययन गर्ने, अनलाइन कक्षा लिनेमध्ये कुनकुन विकल्प अपनाउन सकिन्छ, सोही विकल्प अपनाएर अध्ययनलाई अघि बढाउनु पर्दछ,’ उनले भने।

साथै शिक्षकहरूले टेलिफोनबाट विद्यार्थीको नियमित अनुगमन र सिकाइ सहजीकरण गर्नुपर्ने उनले जानकारी दिए।

अनलाइन कक्षालगायतलाई मान्यता दिन र त्यसको पनि क्रेडिट गणना गर्ने निर्णय मन्त्रालयले गरिसकेको उनले बताए।

‘कोरोना महामारी अवधिभर वैकल्पिक विधिबाट पठनपाठन नै मूल प्रणालीको रूपमा विकास गर्न हामी सबै लागेका छौं,’ शिक्षा मन्त्री पोखरेलले भने।

अहिलेको अवस्थामा पाठ्यक्रमलाई यथावत रूपमा अगाडि बढाउन कठिन हुने देखिएकोले पाठ्यक्रम संस्लेषण गर्न लागिएको उनले जानकारी दिए।

‘यथावत रूपमा पाठ्यक्रमलाई अघि बढाउन कठिन हुने ठहर गर्दै विद्यालय शिक्षाको पाठ्यक्रम सस्लेषण गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘अत्यावश्यक विषयबस्तु समेट्ने गरी पाठ्यक्रम संस्लेषित गरिन्छ। भदौ महिनाभित्र संस्लेषित गरेको पाठ्यक्रम उपलब्ध हुन्छ।’

विद्यालयभन्दा बाहिर जिल्ला रहेका शिक्षकलाई विद्यालय जान मन्त्रालयको आग्रह छ।

बरू प्रशासनबाट विद्यालय जानसम्मका लागि समन्वयको व्यवस्था हुने, सम्बन्धित विद्यालय गइसकेपछि १४ दिन क्वारेन्टिन बस्न र आवश्यक परेमा पिसीआर परीक्षणको व्यवस्थासमेत हुने मन्त्री पोखरेल बताउँछन्।

स्थानीय तहले विद्यालय र शिक्षक परिचालन गरी सिकाइ केन्द्रहरूको व्यवस्था गरी वैकल्पिक सिकाइ कार्यक्रम सञ्चालनमा सहयोग गर्नुपर्ने मन्त्री पोखरेलले बताए।

प्रकाशित भएको : September 5th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु