इन्टरनेट स्लो छ ? स्पिड कति छ ? किन दिदैन भनेजति स्पिड ? कारण यस्तो छ

 

नेपालमा किन पाइँदैन भनेजति इन्टरनेट स्पिड कारण यस्तो छ

नेपालमा इन्टरनेटको गति ज्यादै कमजोर छ । ग्राहकसँग सम्झौता गरेको जति इन्टरनेटको गति दिन सेवा प्रदायकहरु असफल छन् । इन्टरनेट चलाउँदा ब्राउजर फनफनी घुमेपछि ग्राहकले सेवा प्रदायकसँग गुनासो त राख्छन्, तर समाधान पाइहाल्दैनन् ।आफूले भनेजति इन्टरनेटको स्पिड पाउनु ग्राहकको अधिकार हो । तर, यसमा सेवा प्रदायकले पनि धिमा गतिको इन्टरनेट सेवा दिने कम्पनीलाई कारवाही गर्न सकेको छैन ।

त्यसो त यसमा इन्टरनेट सेवा प्रदायक कम्पनीका पनि आफ्नै तर्कहरु छन् । सेवा प्रदायकहरु इन्टरनेटको गति ढिलो (स्पिड स्लो) हुनुमा आफूहरुको मात्रै कमजोरी नभएको दावी गर्छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले विदेशबाट ल्याउने व्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एप लगायतमा आउने समस्याका कारणले गर्दा समेत इन्टरनेट स्लो हुन सक्ने बताए ।

अन्तरक्रियामा सुबिसु केवल नेट प्रालिका सीईओ विनयमोहन साउदले भारतका टाटा, एअरटेल लगायतका कम्पनीमा समस्या आउँदा, कुनै सेवा क्षमता भन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर लगायतका कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताए ।

‘ग्राहकको गुनासो जायज नै हो, इन्टरनेट सेवा प्रदायकहरुले चर्को प्रतिष्पर्धाका कारण आफूसँग भएको क्षमताभन्दा धेरै एमबीपीएस दिन्छु भनेका पनि हुन सक्छन्, तर धेरै समस्या हाम्रो कारणले मात्रै आएका हुँदैनन् । हामी त उपभोक्ता र सर्भर वा एपबीचको पूल मात्रै हौं । तीन वटा पक्षमध्ये एउटामा समस्या आयो भने इन्टरनेट स्लो हुन्छ, तर गाली खाने हामी मात्रै हुन्छौं,’ सीईओ साउदले भने ।

साउदले ग्राहकको गुनासो सम्बोधनका लागि सबै सेवा प्रदायकले काम गरिरहेको र यसमा आफूहरुको पहलले मात्रै पुर्ण समाधान नआउने बताए । ‘कुनै बेला फेसबुक, युट्युव, टिकटक लगायतका प्लेटर्फममै समस्या आएको हुन्छ । तर उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्नुहुन्छ । हामीले फेसबुक, टिकटक, युटुबको समस्या समाधान गर्न सक्दैनौं,’ उनले अगाडि भने ।

यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट स्लो हुने उपभोक्ताको गुनासो कहिल्यै पनि अन्त्य नहुने बताए । ‘अहिले टिकटकको कारण नै इन्टरनेट स्लो भएको छ । भोलि यस्तै अर्को एप आउला । धेरे इन्टरनेट खपत गर्ने साइट आउला । त्यो बेला पनि इन्टरनेट केही स्लो हुन सक्छ । त्यसैले यसको गुनासो पूर्ण रुपमा समाधान हुन सक्दैन । हामीले कम गर्दै लैजाने हो,’ बोहोराले भने । अहिले ८० प्रतिशत इन्टरनेट खपत भिडियोेमै रहेको र यो बढ्दो क्रममा रहेकाले आउँदा दिनमा कसरी गुणस्तरीय इन्टरनेट दिने भन्ने विषय चुनौतीपूर्ण रहेको बोहोराको भनाइ छ ।

‘हामीकहाँ इन्टरनेटको खपत धेरै बढेपनि त्यसलाई व्यवस्थापन गर्ने पूर्वाधार र उपकरण छैनन्, व्यान्डविथ पनि विदेशबाट ल्याउनुपर्छ । हामीले भारतबाट किन्छौं । उता समस्या आएमा यता नेपालमा इन्टरनेट स्लो हुन्छ वा बन्द हुन्छ । त्यसमाथि नेपालको भौगोलिक विकटताले पनि समस्या पारेको हुन्छ,’ उनले भने ।

प्रबन्ध निर्देशक बोहराले ठूला प्लेटर्फमका सर्भर र एक्सचेञ्ज नेपालमा राख्न सकेमा इन्टरनेट सेवा प्रदायकलाई गरिने आलोचना केही कम हुने आशा व्यक्त गरे । कहिलेकाँही प्रतिस्पर्धाको नाममा इन्टरनेट सेवा प्रदायकबीच हुने अस्वस्थ प्रतिस्पर्धाका कारण पनि ग्राहकले गुणस्तरीय इन्टरनेट नपाएको हुन सक्ने बोहोराको स्विकारोक्ति छ ।

महामारीपछि समस्या बढ्दै

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाको कारण सर्वसाधारण घरभित्रै बस्नुपर्दा इन्टरनेटको स्पिडमा थप समस्या भएको छ । विशेषगरी टिकटक, फेसबुक र युटुवका प्रयोगकर्ताको संख्या र चलाउने समय पनि बढेकाले इन्टरनेट पुर्‍याउन हम्मे हम्मे परेको सुबिसु केवल नेट प्रालीका सीईओ विनयमोहन साउदको भनाइ छ ।

लकडाउनपछि सुबिसु केवल नेटको मात्रै २२ देखि २५ जीबीपीएस व्यान्डविथको माग बढेको उनले जानकारी दिए । ‘लकडाउनअघि एउटा ग्राहकले महिनाभरमा झण्डै तीन सय जीबीपीएस इन्टरनेट खपत हुन्थ्यो । अहिले पाँचदेखि ६ सय जीबीपीएस खपत भइरहेको छ । प्रायजसो प्रयोगकर्ताकै कारणले पनि इटरनेट केही स्लो भएको हुन सक्छ । यो कुरा उहाँहरुले पनि बुझिदिँदा राम्रो हुन्छ,’ सीईओ साउदले भने ।

कोरोनापछि उनको सर्भरमा गूगल ३७ प्रतिशत, फेसबुक ७२ प्रतिशत र टिकटकको प्रयोग ७५ प्रतिशतभन्दा धेरैले बढेको उनले जानकारी दिए । साउदले मनोरञ्जनको लागि चलाइने एप या सर्भरले एचडी तथा उच्च क्षमतामा चलाउँदा इन्टरनेट स्लो हुने भएकाले सकभर त्यसो नगरिदिन आग्रह समेत गरे ।

त्यस्तै भायनेट कम्युनिकेसन प्रालिका प्रबन्ध निर्देशक विनय बोहोरले कोरोनापछि इन्टरनेट सेवा प्रदायकहरुलाई झनै ठूलो समस्या परेकेा बताए । ‘इन्टरनेटको माग धान्नै नसक्नेगरी बढेको छ, हाम्रा उपकरण बिगि्ररहन्छन् । यस्तो बेलामा विदेशबाट आउने चार्टर जहाजमा सामान ल्याउन समय लाग्छ । भनेको बेलामा जनशक्ति पाइँदैन । कोरोनापछि हामी थप समस्यामा छौं,’ बोहोराले भने ।

स्पिड जान्ने कसरी ?

इन्टरनेट स्पिड जान्न धेरै गाह्रो छैन । लाइन कनेक्सन वा वाइफाईदेखि कुनै पनि नेटवर्कमा कनेक्ट भएपछि त्यस नेटवर्कको स्पिड सजिलै थाहा पाउन सकिन्छ । इन्टरनेट स्पिड जाँच्ने थुप्रै मोबाइल एप्स, वेब एप्स, डेक्स्टपएप्स डेभलप भइसकेका छन् । तीमध्य ‘स्पिडटेस्ट डट नेट’ र भर्खरै केही महिनाअगाडि अनलाइन भिडियो स्ट्रिमिङ सेवा प्रदायक कम्पनी नेटफ्लिक्सद्वारा डेभलप गरिएको ‘फास्ट डट कम’ सजिलो र भरपर्दो वेब एपमध्ये मानिन्छन् । ‘स्पिडटेस्ट डट नेट’ एन्ड्रोइड र आईओएस दुवै मोवाइल अपरेटिङ सिस्टमलाई पनि उपलब्ध छ । साथै गुगल क्रोम प्रयोगकर्ताहरूले यस वेब एपको एक्स्टेन्सन क्रोम वेब स्टोरदेखि फ्रीमा डाउनलोड गर्न सक्छन् । आफ्नो इन्टरनेट ब्राउजरदेखि ‘स्पिडटेस्ट डट नेट’ वा ‘फास्ट डट कम’ खोलेर सजिलै आफ्नो इन्टरनेट स्पिड पत्ता लगाउन सकिन्छ । यी दुई एपले दिने स्पिड रिपोर्टमा अंकहरू धेरै थोरै फरक देखिन सक्छन् ।

‘फास्ट डट कम’ले आफ्नो नेटफ्लिक्स सर्भरदेखि केही फाइल डाउनलोड गरेर कनेक्सन स्पिड चेक गर्छ भने ‘स्पिडटेस्ट डट नेट’ले नजिकैका इन्टरनेट सेवा प्रदायक कम्पनीले होस्ट गरेका सर्भरको सहायता लिन्छ । नजिकैको सर्भरदेखि फाइल डाउनलोड गर्ने हो भने अवश्य धेरै स्पिड पाइन्छ । त्यस कारण ‘स्पिडटेस्ट डट नेट’मा नजिकको होस्ट चेन्ज गरेर नेपालभन्दा बाहिरका सर्भर छानेर स्पिड चेक गर्ने हो भने आफूले पाइराखेको इन्टरनेट स्पिडको (डाउनलोड र अपलोड) जानकारी लिन सकिन्छ ।

‘फास्ट डट कम’ले भने डाउनलोड स्पिडमात्रै चेक गर्छ । आफूले पाइरहेको स्पिड ८० प्रतिशतभन्दा कम छ भने इन्टरनेट सेवा प्रदायक कम्पनीसँग तुरुन्तै गुनासो राख्नु मनासिब हुन्छ । गुगल, म्यासेन्जर, फेसबुक चलेकै छ भनेर चुप लाग्नु आफैंलाई घाटा पुर्‌याउनु हो ।

मल्टी राउटर ग्राफ उपलब्ध गराउन आइएसपीलाई निर्देशन, ‘ग्राहकलाई पाइरहेको नेट स्पीड चेक गर्न देउ’

इन्टरनेट सेवाको गुणस्तरप्रति ग्राहकको गुनासो आउने क्रम बढेपछि नेपाल दूरसंचार प्राधिकरण (एनटीए)ले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई एआरटी (मल्टी राउटर ट्राफिक ग्राफ) उपलब्ध गराउन निर्देशन दिएको छ। तिरेको शुल्कअनुसारको सेवा उपलब्ध गराउन र आफूलाई दिइएको इन्टरनेटको गति ग्राहकले जाँच गर्न पाउने व्यवस्था गर्न एनटीएले आइएसपीहरूलाई भनेको हो। यसका लागि प्राधिकरणले सूचना नै जारी गरेको छ।

इन्टरनेट सेवाप्रदायकले यो व्यवस्था लागू गरिदिएपछि ग्राहकले आफूले चलाउँदै आएको इन्टरनेट सेवाको प्याकेज, भोलुम र स्लो भएको अवस्था लगायत सबै जानकारी लिन सक्ने एनटीए प्रवक्ता मीनप्रसाद अर्यालले बताए। ‘इन्टरनेट सेवाग्राहीको गुनासो पहिलैदेखि आइरहेको हो। हामीले यसअघि पनि सेवा प्रदायक कम्पनीलाई मौखिक रुपमा यो व्यवस्था लागू गर्न निर्देशन दिएका थियौं,’ उनले भने, ‘तर लागू भएको पाइएन। त्यसैले लिखित सूचना नै प्रकाशित गर्नु परेको हो।’ सेवाग्राहीले तिरेको शुल्कअनुसार सेवा पाउनु पर्ने र पाएको सेवाको गुणस्तर जाँच गर्न पनि पाउँदा कारोबार पारदर्सी हुने उनले बताए। ‘यसमा हाम्रो नियमित अनुगमन रहनेछ,’ उनले भने।

इन्टरनेट सेवा लिइरहेका ग्राहकले एमआरटिजी ग्राफमार्फत इन्टरनेटको गति र समयअनुसारको डाटा खपत लगायत जानकारी लिन सक्ने उनले बताए। मल्टी राउटर ट्राफिक ग्राफर नेटवर्क फ्री सफ्टवेयर हो। यो सफ्टवेयरमार्फत नेटवर्क लिंकअन्तर्गत ट्राफीक लोड मापन र अनुगमन गर्न सकिन्छ। एआरटीमार्फत आफूले पाइरहेको नेटको गुणस्तर थाहा पाउन सक्दा आइएसपीविरूद्ध ग्राहकका गुनासा घट्ने एनटीएको अपेक्षा छ। नेटको स्पीड आफूले पैसा तिरेअनुसारको नपाएको गुनासो आउने क्रम लकडाउनका अवधिमा एनटीएमा निकै बढेको छ।

प्रकाशित भएको : September 6th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु