सलाम छ यि नर्सलाई जसले अरुको सेवाको लागि भेटेकी छैनन आफ्नै् दुई वर्षको छोरालाई

 

मीरा निरौलाले दुईपटक कोरोना परीक्षण गराइसकिन्। भाग्यवश दुवै रिपोर्ट नेगेटिभ आयो। यसले उनको हौसला बढेको छ, तर डर मेटिएको छैन।

मीरा टेकुको शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालकी नर्स हुन्। नेपालमा भेटिएका नौ जना कोरोना संक्रमितमध्ये दुई जनाको टेकु अस्पतालमै उपचार भइरहेको छ। निको भएर गएका एक जना पनि यहीँ भर्ना थिए।

पछिल्ला अध्ययनले उपचारमा संलग्न डाक्टर तथा नर्सहरू सबभन्दा बढी जोखिममा रहेको देखाएको छ।

उनीहरू एकैचोटि धेरै भाइरसको सम्पर्कमा आउने हुँदा बिरामी पर्ने सम्भावना धेरै भएको चीन, अमेरिका र इटालीको अनुभवले देखाउँछ।

भारतको मुम्बईस्थित एक अस्पतालमा पनि २६ नर्स र तीन जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

यस्तो अवस्थामा पर्याप्त सुरक्षा उपकरणबिना ड्युटीमा खटिएका नेपालका डाक्टर तथा नर्समा संक्रमणको जोखिम धेरै छ।

टेकु अस्पतालमा कोरोना उपचारका लागि २० जनाको समूह खटाइएको छ। मीरा त्यसैमध्ये एक हुन्। भरपर्दो सुरक्षा उपकरण नहुँदा त्रासमा काम गर्नुपरेको उनी बताउँछिन्।

‘दुईपटक परीक्षण गर्दा नेगेटिभ आएपछि बल्ल मन सन्चो भएको छ, हौसला बढेको छ,’ उनले सेतोपाटीसँग भनिन्।

टेकु अस्पतालका स्वास्थ्यकर्मीले पहिलोपटक डिसेम्बर महिनामै कोरोना बिरामीको उपचार गरेका थिए।

त्यति बेला यो महामारी चीनमै सीमित थियो। वुहानबाट आएका एक नेपाली विद्यार्थी टेकुमा भर्ना भएका थिए।

कोरोनाको लक्षणसँग मिल्दोजुल्दो भएपछि उनको घाँटीको स्वाब हङकङ पठाइएको थियो। रिपोर्टमा कोरोना पुष्टि भयो। त्यति बेलासम्म उनी डिस्चार्ज भइसकेका थिए।

‘उनको पोजिटिभ रिपोर्ट आएपछि हामी सबै डराएका थियौं। उनी एक सातामा निको भएर गए, तर हामीलाई सर्‍यो कि भन्ने भयो। धन्न कसैलाई केही भएन,’ मीराले भनिन्, ‘त्यो घटनाले हामी सबैको मनोबल बढेको छ।’

अहिले टेकु अस्पताललाई कोरोना उपचार केन्द्रमा परिणत गरेपछि स्वास्थ्यकर्मीहरूको सुरक्षामा ध्यान दिन थालेको उनी बताउँछिन्। यहाँ उपचाररत् दुवै जना बिरामीको अवस्था सामान्य छ।

उनीहरूलाई नियमित अनुगमन र निगरानीमा राखिएको छ। यस क्रममा बिरामीसँग धेरै सम्पर्क गर्नु नपरेको उनी बताउँछिन्।

बिरामीलाई सिसिटिभी क्यामराजडित कोठामा राखिएको छ। स्वास्थ्यकर्मीहरूले बाहिरैबाट निगरानी गरिरहेका छन्। वार्डपिच्छे फोन छ। बिरामीले केही तलमाथि परे फोन गरेर जानकारी दिन्छन्।

स्वास्थ्यकर्मीले पनि केही सोध्नुपरे वा औषधि खुवाउन सम्झाउनुपरे फोनै गर्छन्।

आइसोलेसन वार्डमा बसेर रिपोर्ट पर्खिरहेकाहरूले भने धेरै चिन्ता लिने गरेको उनले बताइन्।

‘उहाँहरू आत्तिनुभएको छ। स्वाभाविक पनि हो। म नआत्तिनू भन्छु। आफ्नै उदाहरण दिन्छु,’ मीराले आइसोलेसन वार्डको अवस्था सुनाइन्, ‘एक्लै बस्दा समाचार र युट्युबमा बाहिरका भिडिओ हेर्दै बस्नुहुन्छ।’

‘एउटै कोठामा बसेर एउटै कुरा सोच्दा मान्छे अतासिँदो रहेछ। कहिले रिपोर्ट आउला, के होला भनेर सोधिरहनुहुन्छ,’ उनले भनिन्।

आइसोलेसनमा रहेका व्यक्तिलाई आफन्त भेट्न आउँदा भने मीरालाई खुब नरमाइलो लाग्छ।

उनीहरू खाना लिएर आउँछन्, तर भेट्न पाउँदैनन्। परैबाट भए पनि हेर्छु भन्छन्। त्यति बेला नर्सहरूलाई के भनौं, भनौं हुन्छ। कतिपय नर्सहरू आफ्नै व्यथा सुनाएर सम्झाउँछन्।

कोरोना उपचारमा खटिएका उनीहरूले पनि आफ्नो परिवारसँग भेट्न पाएका छैनन्।

‘हामीले पनि आफ्नो परिवारलाई भेटेका छैनौं। अहिलेको समय एकले अर्कोलाई नभेट्नुमै सबैको भलाइ छ।

केही समय अलग भएर के भयो, भोलि सँगै भइहालिन्छ नि भनेर सम्झाइबुझाइ गर्छौं,’ टेकु अस्पतालकी अर्की नर्स सिर्जना बज्राचार्यले भनिन्।

सिर्जनाको दुई वर्षको छोरा छ, जसलाई उनले नभेटेको तीन साता भयो। श्रीमान र छोरालाई बहिनीको घर पठाएर उनी अस्पतालमै बसेर काम गरिरहेकी छन्।

परिवारले बिदा लिएर बस्न कर गरिरहेका छन्। तर उनलाई यस्तो बेला बिदा लिन उचित लागेन। बरू घर आउजाउ नगरी अस्पतालमै बसेर काम गर्न ठीक लाग्यो।

‘बच्चासँग त फोनमा कुरा गर्न पनि मिल्दैन। देखेपछि रुन थाल्छ। यसरी काम गर्न गाह्रो हुँदो रहेछ,’ उनले भनिन्, ‘पेसा नै यस्तो रोजेपछि परिआउँदा जिम्मेवारीबाट भाग्न पनि त भएन। बरू केही समय परिवारसँग नबस्ने निर्णय लिएँ।’

पहिलो बिरामीलाई कोरोना भनेर थाहा नहुँदै एक सातामा निको बनाएर पठाएको अनुभवले पनि हिम्मत बढेको उनको भनाइ छ।

‘बिरामीसँग कुरा गर्दा, उनीहरूको हौसला बढाउँदा आफ्नो दु:ख कम हुँदो रहेछ। सानोतिनो महामारी हरेक वर्ष आउँछ। हमीकहाँ कोरोना पनि आजको दिनसम्म नियन्त्रणमै छ,’ उनले भनिन्।

सिर्जनालाई वार्डमा बसेर काम गर्दाभन्दा बाहिरी मान्छेको कुरा सुन्दा र सामाजिक सञ्जाल खोल्दा बढी डर लाग्छ।

उनी थप्छिन्, ‘परिवार वा अरूलाई सर्छ कि भन्ने धेरै डर छ। आफूलाई संक्रमण भए त जित्न सकिएला, परिवारलाई सरे के होला भन्ने डर लाग्छ।’

सिर्जनाका केही साथी अमेरिका, बेलायतका अस्पतालमा काम गरिरहेका छन्।

केही साथी कोरोना संक्रमितकै उपचारमा जुटेका छन्। कोही आफैं संक्रमित छन्। नेपालमा पिपिईको राम्रो प्रबन्ध छैन भन्दै चिन्ता प्रकट गरिरहेका हुन्छन्।

‘यहाँ यति राम्रो पिपिई हुँदा त संक्रमण भयो। त्यहाँ छैन, कसरी जोगिने भनेर चिन्ता गर्छन्,’ साथीको चिन्तासँगै आफ्नो अनुभव सुनाउँदै सिर्जनाले भनिन्, ‘त्यति बेला चाहिँ हाम्रो तयारी पुगेको छैन कि जस्तो लाग्छ।

शनिबार एकैदिन तीन जनामा देखियो। इटाली, स्पेनमा जस्तो बढ्यो भने कसरी व्यवस्थापन गर्ने भन्ने छ।’

टेकु अस्पतालले अहिलेको अवस्थामा धुन मिल्ने पिपिई उपलब्ध गराइरहेको छ। दुई जना मात्रै संक्रमित रहेकाले अपुग छैन।

‘अहिलेसम्म त समस्या परेको छैन, भोलि बिरामी धेरै भयो भने के गर्ने भनेर अस्पतालले सोचेको होला,’ मीराले भनिन्।

यति मात्र होइन, बिरामीले प्रयोग गरेका लुगा सुकाउने ठाउँको पनि अभाव छ।

उनीहरूले प्रयोग गरेका भाँडाकुँडा र फोहोर राम्ररी व्यवस्थापन हुन सकेको छैन। मुसा र उडुस लाग्यो भनेर बिरामीले नै गुनासो गर्न थालेका छन्।

‘यो निकै खतरा हो। बिरामीले प्रयोग गरेका सामान मुसाले यताउता पुर्‍याइदेला भन्ने डर छ। त्यस्तो लापरबाही हुनु हुँदैन थियो,’ उनले भनिन्, ‘बिरामीले प्रयोग गरेको तन्ना, सिरानी सफा गरिरहनुपर्नेमा थुपारेर राखिएको छ।’

अस्पतालले स्वचालित मेसिन ल्याएर सुरक्षित रूपमा सरसफाइ गर्ने तयारी गरेको छ। तर, त्यो कहिलेबाट सुरू हुन्छ थाहा छैन।

‘यो समस्या छिट्टै समाधान भए हुन्थ्यो,’ मीराले भनिन्।

Source : Setopati

प्रकाशित भएको : April 7th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु