आजबाट लामो दुरीका सवारी पनि संचालनमा, सरकारले हात उठायो, आफैं सचेत बनौं

 

कोरोना भाइरस

कोरोना भाइरसको संक्रमण बढेको भन्दै लामो समयदेखी निषेधाज्ञा घोषणा गरेका जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट निषेधाज्ञा खुकुलो गरेका छन् ।

लामो दूरीका सार्वजनिक यातायात झन्डै ६ महिनामा बिहीबारदेखि सञ्चालनमा आउँदै छन्।

मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेको थियो।

५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ। एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार मन्त्री, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बिहीबारदेखि लामो दूरीका सवारी सञ्चालन गर्ने सहमति भएको छ।

त्यसको मापदण्ड बनाउन यातायात व्यवस्था विभागलाई जिम्मा दिइएको छ। त्यही मापदण्डभित्र रहेर व्यवसायीले लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्नुपर्नेछ।

दसैंका लागि अग्रिम टिकट सम्बन्धमा भने टुंगो लागेको छैन। १० दिनको अवस्था अध्ययन गरेर मात्र अग्रिम टिकट खोल्नेतर्फ केन्द्रित हुने महानिर्देशक गोगनबहादुर हमालले बताए। ‘करिब ६ महिनापछि लामो दूरीका सवारी साधन सञ्चालन हुँदै छ। कोरोनाको प्रकोप सेलाएको छैन’, हमालले भने, ‘अहिले नै अग्रिम टिकटका सम्बन्धमा बोल्न सकिने अवस्था छैन।’ स्थिति सामान्य रहिरहे असोज दोस्रो सातासम्म सरोकारवाला निकायसँग छलफल गरी निर्णय लिइने उनले बताए।

अघिल्ला वर्षमा दसैं सुरु हुन लाग्दा उपत्यकाबाट थातथलो जाने यात्रुका लागि अग्रिम टिकट खुला हुने गरेको थियो। अग्रिम टिकट लिन यात्रुको लामो घुइँचो लाग्ने गर्छ।

उपत्यकामा संक्रमण बढिरहेका बेला सबै खुला गरेको भन्दै स्थानीय सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संघीय सरकारले अब सकिन्न भनेर हात जोडे जस्तै गरेको बताएका छन् ।

संक्रमण बढिरहेको र पिकमा पुग्न बाँकी रहेको बताउँदै महर्जनले भने, ‘यसबारे हामीसँग कुनै सल्लाह भएको छैन । एकलौटी निर्णय गर्दा दुर्घटना हुन सक्छ ।’

यसअघि पनि आफूहरुले नाकामा कडाइ गरौं भन्न सुनुवाइ नभएको र ७ साउनबाट सबै खुला गर्दा समुदाय स्तरमा संक्रमण पुगेको मेयर महर्जनको विश्लेषण छ ।

अहिले पनि मापदण्डहरु बनाएर व्यवस्थित गर्दै जानुपर्नेमा सबै खुला गरेको भन्दै महर्जनले असन्तुष्टि जनाए । उनले भने, सरकारले के आधारमा खोलेको हो, थाहा छैन । संक्रमण घटेर नियन्त्रणमा आएर हो भनौं भने तथ्यांकले त्यो देखाउँदैन ।

जनस्वास्थ्य विज्ञहरु पनि सार्वजनिक यातायात, बजार सबै खुला गर्दा संक्रमण बढ्ने बताउँछन् । अर्थतन्त्र चलायमान बनाउनुपर्ने, नजिकिँदो दशैं लगायतका चाडपर्व एवं उद्योगी व्यवसायी सबैको दबावमा परेर सरकारले यो निर्णय गरेको हुनसक्ने उनीहरुको विश्लेषण छ ।

एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘सधैं लकडाउन गरेर मात्र हुन्न, तर खोल्दा व्यवस्थित गरेर जान पाएको भए राम्रो हुन्थ्यो ।’

अब सरकारले निर्णय गरिसकेकाले हरेक मानिस आफैं सचेत भएर जोगिनुपर्ने ती विज्ञले बताए । ‘पछिल्लो ७/८ महिनामा तपाई हामीले जे जति सिक्यौं, त्यसलाई व्यवहारमा उचार्ने र बाहिर निस्कन हरेक मानिस सतर्क हुनुपर्छ’ उनले भने ।

जनस्वास्थ्य विज्ञ डाक्टर शरद वन्त पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने उपयुक्त समय आएको बताउँछन् । ‘लकडाउन खुकुलो बनाउनु आवश्यक थियो, खुकुलो भयो’ उनले भने, ‘अब हामी पहिलेभन्दा सचेत हुनुपर्छ । वास्तविक सामाजिक दुरी कायम गर्ने समय आयो । किनकि, पहिलाभन्दा अहिले मानिसको चहल-पहल बढ्छ ।’

सरकारले पनि संक्रमण सार्न सक्ने सम्भावित ठाउँहरुमा तगारो लगाएको भन्दै उनी लकडाउन खुलेको भनेर भ्रम पाल्नु खतरनाक हुने बताउँछन् । डा. वन्तले अघि भने, ‘संक्रमण कुनरुपमा जान्छ भन्ने भविष्य हाम्रो हातमा छ । अब हामीले सचेत भएर दैनिक जीवनमा र्फकनुपर्छ ।

प्रकाशित भएको : September 17th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु