नयाँ नक्सा समेटिएको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीको निर्देशन,के सरकारले पश्चिम नेपालको भूभाग भारतलाई दिन लागेको हो ?

 

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् ।

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले पुस्तक वितरण नगर्न निर्देशन दिएको एक जानकारी दिए ।

विज्ञ तथा सरोकारवालालाई लक्षित गरेर जम्मा ५०० प्रति मात्रै पुस्तक प्रकाशन गरेको केन्द्रले जानकारी दिएको छ । पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर उल्लेख छ । नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरा क्षेत्र समेट्नु अघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किमि थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अतिक्रमित भूभाग सहितको नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी थिइन् । राष्ट्रपतिको घोषणा अनुसारै ५ जेठमा मन्त्रीपरिषद् बैठकले लिम्पियाधुरा सहित भारतद्वारा अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशन गर्ने घोषणा गर्‍यो ।

मन्त्रिपरिषद्को निर्णयपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ७ जेठमा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन् ।

३१ जेठमा संघीय संसदबाट दुई तिहाई भन्दा बढी मतले नक्सा पारित भयो । संसदमा नक्साको विपक्षमा एक मत पनि परेको थिएन ।

सरकारको निर्णय र संसदले अनुमोदन गरेको त्यही नक्सा अनुसार तयार पारेको पुस्तक वितरणमा प्रधानमन्त्रीले रोक लगाएका हुन् । पाठ्यक्र विकास केन्द्रका एक अधिकारी प्रधानमन्त्रीको यो निर्णयले उहाँको ‘राष्ट्रवादी छवि धुमिल’ भएको बताउँछन् ।

‘नक्सामा, निशान छाप र सरकारी लोगोमा लिम्पियाधुरा सहितको नक्सा राख्न हुने तर त्यही नक्सा अनुसारको पुस्तक निकाल्न नमिल्ने किन ? के सरकारले पश्चिम नेपालको ४६०.२८ वर्ग किमि भूभाग सरकारले भारतलाई दिन लागेको हो ?’, केन्द्रका ती अधिकारी भन्छन् ।

सन् १८१६ को सुगौली सन्धि, तत्कालीन समयमा प्रकाशित नक्साहरू, वि.सं.२००६ साल साउन ७ गते तत्कालीन नेपाल सरकारले संयुक्त राष्ट्र सङ्घको सदस्यताका लागि गरेको अनुरोध पत्रमा उल्लेखित नेपालको नक्सा र विभिन्न समयमा सीमा निर्धारण, जनगणना तथा तिरो तिरेका प्रमाण र आधारहरू, तत्कालीन शासक, प्रशासकहरूका निर्देशन, चिठीपत्र लगायतका दस्तावेजहरूको आधारमा पुस्तक तयार पारिएको देखिन्छ ।

पुस्तकमा नेपाल शब्दको उत्पत्ति, ऐतिहासिक सन्दर्भ, सिमानाको परिचय र सिद्धान्त, नेपालको सीमा निर्धारण, नेपालीको छिमेकी मुलुकहरूसँगको सम्बन्ध लगायतका विषय समेटिएका छन् ।

११० पृष्ठको पुस्तकको दुई तिहाई भन्दा बढी पृष्ठ ऐतिहासिक सन्धि, सम्झौता, प्रमाण, नक्सा आदीले भरिएको छ ।

 

नेपालको सीमासम्बन्धी सन्धि तथा सम्झौताहरू, कालापानी–लिम्पियाधुरासम्बन्धी आधारभूत प्रमाणहरू, नेपाल–भारतको पश्चिमोत्तर सीमासम्बन्धी विभिन्न नक्साहरू, १९११ को अल्मोडा गजेट, नवलपरासी सुस्ताको अतिक्रमित भूभागको नक्सा लगायतका सामग्री पुस्तकमा छन् ।

भारतले १६ कार्तिक २०७६ नेपालको साविक नक्सामै भएको कालापानी, लिपुलेक लगायतका भूभाग पारेर नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले गरेको वार्ताको प्रस्ताव भारतले अस्विकार गरेको थियो ।

 

कुटनीतिक संवादको माध्यमबाट सीमा समस्या समाधान गर्न नेपालले गरेको प्रस्तावलाई भारतले अटेर गर्दै आएपछि नेपालले लिम्पियाधुरा सहितको चुच्चो नक्सा निकालेर संविधान संशोधन गरिसकेको छ ।

प्रकाशित भएको : September 22nd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु