डाक्टर केसीसँग आज हुने भनिएको वार्ता अझै सुरु हुन सकेनन्

 

काठमाडौं

सरकारी वार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच आज शुक्रबार बस्‍ने गरी टुंगिएको वार्ता अझै सुरु भएको छैन । बिहीबार सहमतिमा नपुगेपछि पुन: आज शुक्रबार बस्‍ने गरी वार्ता टुंगिएको थियो ।

डा. गोविन्द केसी पक्षका वार्ता समिति सदस्य ओमप्रकाश अर्यालले सरकारका वार्ता समितिका प्रतिनिधिले अहिलेसम्म समय नतोकेको बताए । उनले भने, “हामी त वार्ता गर्न तयार छौं ।” बिहीबार गरिएको वार्ता सकारात्मक रहेकोसमेत उनले जानकारी दिए ।

वार्ता टोलीका संयोजक शिक्षासचिव गोपीनाथ मैनालीले अहिले अनौपचारिक  छलफलमा रहेका बताए । मैनालीले भने, “औपचारिक रुपमै वार्तामा आज कतिबेला बस्‍ने तय भइसकेको छैन ।” उनका अनुसार अब बस्‍ने वार्ता निष्कर्षसहितको हुनेछ ।

यस्तै डा. केसीको स्वास्थ्य अवस्था निकै जटिल बन्दै गएको उनका सहयोगी तोसिमा कार्कीले बताइन् । उनका अनुसार डा. केसीको रक्तचाप र सुगरको मात्रा अत्यधिक घट्नेलगायत अन्य समस्यासमेत थपिँदै गएको छ ।

डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली छ, जसमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अञ्‍जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा. लोचन कार्की र ओमप्रकाश अर्याल छन् ।

सरकारका तर्फको वार्ता टोलीमा शिक्षासचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् ।

प्रकाशित भएको : October 9th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु