
काठमाडौं
सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता आज शुक्रबार असफल भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार भएको वार्ता सकारात्मक रहेको बताइएको भएपनि आज शुक्रबार ढिलो गरी राति ९ बजेदेखि वार्ता बिना निष्कर्ष सकिएको हो ।
वार्तापछि डा.केसी पक्षका वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले विहिबार भएका सहमतिमा सरकारी पक्ष शुक्रबारको वार्तामा पछाडी हटेको बताउदै सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको बताएका छन् ।
सरकारी वार्ता टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट समेत गर्न नसकेको भन्दै शिक्षामन्त्री पोखरेल मोबाइल अफ गरेर बसेको आरोप लगाएका छन् ।
यस अघि बिहीबार नै वार्तालाई निष्कर्षमा पुर्याउनगरि प्रारम्भिक सहमतिको ड्राफ्ट बनाइएको र दुवै पक्ष आन्तरिक छलफलमा जुटेका थिए ।
सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् ।
त्यस्तै डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा डा. अञ्जनीकुमार झा, डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् ।
सरकारले डा. केसीको अनसनको २४ औ दिन वार्ता टोलि बनाएको थियो भने २५औ दिन वार्ता शुरु भएको थियो । जुम्लाबाट आफ्नो १९औ अनसन शुरु गरेका डा. केसीको अनसनको आज शुक्रबार २६ औ दिन भैसकेको छ ।
प्रतिकृया दिनुहोस्