कोरोनाबाट निको भइसकेकाको रगतले नयाँ बिरामीलाई संक्रमणसँग लड्न पुग्यो सहयोग

 

अमेरिकाको खाद्य तथा औषधि विभाग ‘फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन’ले गत बिहीबारदेखि कोरोना भाइरस उपचार गर्न निको भइसकेका बिरामीको शरीरमा विकास हुने ‘एन्टिबडी’ परीक्षण गर्न अनुमति दियो।

अनुमतिसँगै परीक्षण सुरू भयो।

निको भइसकेका बिरामीहरुको शरिरमा विकास हुने एन्टिबडी नयाँ संक्रमितहरुको रगतमा राख्दा त्यसले बिरामीलाई धेरै फाइदा पुगेको छ।

यसले बिरामीमा भाइरससँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता विकास भएको रिपोर्ट अमेरिकी जर्नल प्रोसिडिङ अफ नेशनल एकेडेमी अफ साइन्स (पीएनएएस)ले मगंलबार निकालेको छ।

‘कोरोना संक्रमित दश जनामा यो परिक्षण गरिएको थियो,’ रिपोर्टमा उल्लेख छ, ‘ती दशै जनामा तीन दिनभित्र विशेषगरी ज्वरो, सास फेर्न अफ्ठ्यारो, खोकी, छातीको दुखाइ कम भएको छ।’

यसरी निको भएका बिरामीको रगतबाट एन्टीबडी निकालेर संक्रमितको रगतमा राख्ने कामलाई ‘कन्भ्यालेसेन्ट प्लाज्मा थेरापी’ भनिन्छ।

डाक्टरहरूका अनुसार, कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति एन्टीबडी विकास भइसकेको हुन्छ।

अर्कोचोटी त्यही भाइरसले आक्रमण गर्यो भने उसको प्रतिरोधात्मक शक्तिले भाइरसलाई परास्त गर्न सक्छ।

कन्भ्यालेसेन्ट प्लाज्मा थेरापीमा कोरोनाबाट निको भएको व्यक्तिको प्लाज्मा संक्रमित व्यक्तिमा रक्तक्षेपण गरिन्छ।

यसले गर्दा संक्रमित व्यक्तिको प्रतिरोधात्मक शक्तिले भाइरसलाई परास्त गर्न सक्छ।

अध्ययन अनुसार रक्तक्षेपणले ‘लिम्फोसाइड’ बढाउँछ, जसले गर्दा कलेजो र फोक्सोको कार्यमा पनि सुधार ल्याउँछ।

हिन्दुस्तान टाइम्सले तमिलनाडुको क्रिस्चियन मेडिकल कलेजका भाइरोलोजी विभागका प्रमुख एवं प्राध्यापक समेत रहेका डा. ज्याकोव जोनलाई उद्धृत गर्दै लेखेको छ, ‘उपचारको सफलता कसमाथि कहिले गरेकोमा समेत निर्भर हुन्छ।

यो थेरापी उच्च जोखिममा भएका व्यक्तिहरुमा समयमै गरिनुपर्छ। ढिलो भए यसले कम प्रभाव पार्छ।’

अर्का विज्ञ डा. जि खिलानीले भने यो थेरापीले कोरोना संक्रमण व्यक्तिलाई निको पार्न सक्ने ठोकुवा गरेका छन्।

पीएसआरआइ इस्टिच्युट अफ पल्मोनरी एन्ड क्रिटिकल केयरका प्रमुख उनी भन्छन्, ‘यसरी नै यसअघि पनि विभिन्न प्रकारका भाइरल संक्रमितहरुको उपचार गरिएको थियो,’ उनले सन् २००९–२०१० मा महामारीका रुपमा फैलिएको स्वाइन फ्लूको उदाहरणमा भनेका छन्, ‘स्वाइन फ्लूको समयमा पनि बिरामीको भाइरल भार कम गर्‍यो र बिरामीहरुमा सुधार ल्यायो। यसले गर्दा मृत्युदर पनि घटायो।’

विश्व स्वास्थ्य संगठनले समेत इबोला भाइरस विरुद्ध लड्न यही तरिका अपनाउन सिफारिस गरेको थियो।

तर इन्द्रप्रस्ता एपोलो अस्पतालका डा. आरएन म्याक्रोका अनुसार प्लाज्मा रक्तक्षेपणको नियम नबनेसम्म भारतमा भने यो सम्भव छैन।

अमेरिका र चीनमा भने यो प्रक्रिया सजिलै गर्न सकिन्छ। भारतका रक्त बैंकहरु खाद्य र प्रसाधन ऐनद्वारा विनियोजित छन्, त्यसमा प्लाज्मा रक्तक्षेपणको प्रावधान छैन।

त्यसैले नयाँ नियम बन्नुपर्छ।

प्रकाशित भएको : April 8th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु