कर्णाली प्रदेशका मुख्यमन्त्रीको दुवै पद सुरक्षित , प्रचण्ड नेपाल समुहको आरोप

 

काठमाडौं
मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीको दुबै पद हाललाई सुरक्षित भएको छ।

केन्द्रीय तहका शीर्ष नेताहरुको निर्देशनपछि अविश्वासको प्रस्तावमाथि छलफलसँगै निर्णय गर्ने भन्दै  मंगलबार तय गरिएको बैठक स्थगित भएको छ। योसँगै अविश्वासको प्रस्तावको औचित्य समाप्त भएको छ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच केन्द्रमा सहमति भएसँगै अविश्वासको प्रस्तावको औचित्य समाप्त भएको हो।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपा कर्णाली प्रदेश सभाका सांसद कुर्मराज शाहीलाई दलको सचेतकमा नियुक्त गरेपछि र  प्रदेश इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरख बोगटी, सचिव मायाप्रसाद शर्मा, मुख्यमन्त्रीले हालै प्रमुख सचेतकबाट निलम्बन गरेका गुलावजंग शाह र  मुख्यमन्त्री शाहीलाई छलफल र सहमतिका लागि दुई दिनभित्र काठमाडौँ बोलाउने सहमति ओली, दाहाल र नेपालबीच भएसँगै अविश्वासको प्रस्ताव निरस्त बन्न पुगेको हो।

कामकारबाही प्रभावकारी नभएको भन्दै आइतबार मुख्यमन्त्री शाहीविरुद्ध पूर्वमाओवादी पृष्ठभूमिका खासगरी प्रचण्ड समूहका तीन जना, पूर्व एमाले पृष्ठभूमिका ओली समूहका ८ जना, नेपाल समूहका ७ जना गरी १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको पत्र दर्ता गराएका थिए।

ओली समूहका नेताहरुले भने सुरुमा स्वतस्फूर्त रुपमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको र अहिले पद पाएपछि हस्ताक्षर फिर्ता लिएको नेपाल र प्रचण्ड समूहका सांसदहरुले आरोप लगाएका छन्।

प्रकाशित भएको : October 13th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु