नेपाललाई ‘चम्चा’ भन्ने भारतीय सेना प्रमुख मुकुन्द नेपाल आउँदै ।

 

काठमाडौं
नेपालले आफ्नो नक्सा जारी गर्दैगर्दा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाल चीनको ‘चम्चा’ भनेपछि चर्को विरोध भयो । उनी उक्त टिप्पणी फिर्ता लिन बाध्य भएका थिए ।

“वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन् । त्यसबारे त कुनै विवाद नै छैन । हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ । त्यसकारण, उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाहा छैन,” उनको दाबी छ । उनले चीनतर्फ संकेत गर्दै नेपाललाई उचालिरहेकोसमेत आरोप लगाएका थिए ।

दुई देशबीच कुटन‍ीतिक र राजनीतिक सम्बन्ध चिसिएका बेला फेरि भारतीय सेना प्रमुख नरवणेले नोभेम्बरमा नेपाल भ्रमण गर्ने भएका हुन् । यो भ्रमणको मिति तय हुनुले दुई सेनाका उच्चतहका सैनिक अधिकारीहरु बीचको संवाद कायमै रहेको सहजै अनुमान गर्न सकिन्छ ।

सेनाध्यक्ष भएयता नरवाणे नेपाल आएका छैनन् । नेपाल र भारतका सेनाप्रमुखले जिम्मेवारी सम्हालेपछि एक अर्काको देशमा गएर मानार्थ सेना प्रमुखको उपाधि लिने चलन छ । नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारत पुगेर उक्त उपाधि लिइसकेका छन्। सन् १९५० देखि दुई देशका प्रधानसेनापति बहाल भएपछि एकअर्कोमा गएर मानार्ध उपाधि लिने चलन सुरु भएको हो ।

नरवणेको नेपाल भ्रमण गत वर्ष नै तय भएर पनि बन्दाबन्दीको कारण स्थगित भएको थियो । मन्त्रिपरिषद्ले उनको नेपाल भ्रमण सम्बन्धी प्रस्ताव गत वर्ष माघमा नै स्वीकृत गरी आवश्यक तयारीका लागि रक्षा मन्त्रालय र नेपाली सेनालाई निर्देशन दिइसकेको थियो ।

सैनिक मुख्यालय स्रोतका अनुसार नरवणे‍को आगामी कात्तिकमा हुने ३ दिने भ्रमण नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्पराको निरन्तरता भए पनि यसबाट नेपाल र भारतका बीचमा पछिल्ला दिनहरुमा देखा परेको संवादहीनता अन्त्य भई ‘आइस ब्रेक’ गर्न महत्वपूर्ण योगदान हुने विश्वास गरिएको छ ।

भारतीय सत्ता पक्षका कतिपयले नेपालसँग झुकेको सन्देश जाने भन्दै नेपालसँग कुनै पनि तहको वार्ता वा भ्रमण नगर्न दबाब दिँदै आएको अवस्थामा पनि सेनापति नरवणे‍ले नेपाल भ्रमण गर्न लागेको कदमले दुई देशका सेनाबीचको सम्बन्धलाई नयाँ उचाइमा प्रस्तुत गर्ने अधिकारीहरु बताउँछन् ।

नरवणेको नेपाल भ्रमणले दुई देशबीच सैनिक कुटनीतिमार्फत थप अन्तरक्रियालाई खुल्ला गर्न भारत इच्छुक रहेको सन्देश दिन खोजेको पनि देखिएको छ । नरवाणे‍ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधि ग्रहण गर्नेछन् ।

प्रकाशित भएको : October 15th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु