आज राति १२ बजेबाट यी ३२ वटा बिदेशि च्यानल मात्र प्रसारण १८० भन्दाबढी च्यानलको प्रसारण रोक, क्लिनफिड लागू

 

काठमाडौं,

आज मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ ।

कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आज राती १२ बजेदेखि क्लिनफिड लागू हुने जनाइएको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरूङले आज नेपालमा विदेशी च्यानलले विज्ञापनरहित प्रसारण हुने जनाएका थिए ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ ।

‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।

कात्तिक ८ देखि विज्ञापन बजाएमा विदेशी च्यानल च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।

नेपाल केबल टेलिभिजन महासंघले आज मध्यरातबाट ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुने अवस्था रहेको बताएको छ ।

प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द हुने अवस्था रहेको महासंघले बताएको छ ।

‘जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित आज मध्यरातबाटै प्रसारण हुनेछन् ।

अव कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्रसारण नहुने भएका छन् ।

२० वटा विदेशी च्यानलले क्लिनफिडको सबै तयारी सकाएको र ‘जी’का १२ वटा च्यानलले आज सम्ममा तयारी सकेर प्रसारण गर्ने नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले बताएका छन्

पैसा तिरेर किनिने प्याकज बाहेकका ‘फ्रि टु एयर’मा सित्तैमा उपलब्ध हुने १२० वटा च्यानल पनि आज मध्यरातबाटै बन्द हुनेछन् ।

‘स्टार्स र कलर्सले पनि क्लीन फीटको तयारी गरेको र केही समय पछि प्रसारण सुरु हुने जनाएका छन् भने बिदेशि खेलकुद तथा न्यूज च्यानलहरुमा भने प्रसारणमा समस्या देखिएको छ ।

न्युज च्यानलका स्क्रिनका विभिन्न भागमा विज्ञापनहरू राखिने र विज्ञापन गर्ने समय पनि यकिन नहुने भएकाले न्युज च्यानलमा क्लिन फिड गर्न असहज छ ।

त्यस्तै प्रत्यक्ष प्रसारणका बेलामा विज्ञापन हुने समय निश्चित नहुने भएकाले क्लिन फिडले खेलकुद च्यानलहरूको प्रत्यक्ष प्रसारणमा पनि समस्या पर्नसक्ने देखिएको छ ।

तर, खेलकुद च्यानललाई व्यवस्थापन गर्ने आश्वासन भारतीय प्रसारकहरूले दिएका छन् । भारतीय प्रसारकले नेपालमै क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिनेछ ।

प्रकाशित भएको : October 23rd, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु